मालपोत कार्यालय चाबहिलका प्रमुखदेखि कार्यालय सहयोगीसमेत १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मालपोत कार्यालय चाबहिलका प्रमुखदेखि कार्यालय सहयोगीसमेत १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा


प्रशासन विशेष ब्युरो

९ पुस २०७५, सोमबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका ३ अधिकृतसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले नक्कली जग्गा धनी निर्माण गरी जग्गा खरिदबिक्रीमा संलग्न भएको भन्दै मालपोत कार्यालय चाबहिलका प्रमुख अधिकृत कमलप्रसाद तिमल्सिना, अधिकृतद्वय खगेन्द्रप्रसाद अर्याल, रामप्रसाद सुवेदी, नायव सुब्बा रञ्जनकुमार खरेल, टाइपिष्ट नासु जमुनाकुमारी श्रेष्ठ र कार्यालय सहयोगी हरि खड्कालाई भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनीहरूले काठमाडौँ बुढानीलकण्ठको २ रोपनी ८ आना जग्गामा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको आरोप छ ।

चन्दकृष्ण कायस्थ भन्ने राजु थापा मगर, सानु भाइ भन्ने सानेभाई श्रेष्ठ, श्रीकृष्ण बरुवाल, भुपाल मोक्तान भन्ने भुपालसिंह तामाङ, धुव्रप्रसाद भट्टराई र प्रदीपप्रसाद गौतममाथि पनि मुद्दा दायर गरिएको छ। अख्तियारले उनीहरूसँग जनही ६ करोड बिगो र जरिवाना हुनुपर्ने दाबी गरेको छ।

अख्तियारले अर्थ कवच तथा बचत ऋण सहकारी संस्थाका निर्देशक नवदुर्गा प्रसाद ढुङ्गेल, प्रबन्ध निर्देशक सुरेशकुमार थापालाई पनि विपक्षी बनाएको छ। उनीहरूसँग पनि ६ करोड असुल हुनुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ।

त्यस्तै सानिमा बैङ्क एकान्तकुनाका ट्रेलर सनिश सापकोटाको समेत उक्त जग्गा प्रकरणमा संलग्नता रहेको भन्दै अख्तियारले ६ करोड बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मालपोत कार्यालय चाबहिलका कर्मचारीहरूको मिलेमतोमा चन्दनकृष्ण कायस्थको नाममा रहेको बुढानीलकण्ठ नगरपालिको नक्कली जग्गाधनी प्रमाणपूर्जा निर्माण गरी हस्तान्तरण गरेको उजुरी छानबिनका क्रममा चन्दनकृष्ण कायस्थ भन्ने राजु थापा मगर समेतले मालपोत कार्यालयका कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी जग्गाको जग्गाधनी दर्ता स्रेस्तामा वास्तविक जग्गाधनीको फोटो उम्काई गैरकानुनी तरिकाबाट आफ्नो फोटो टाँस गरी नक्कली प्रमाणपूर्जा निर्माण गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

CIAA

Tags :
प्रतिक्रिया दिनुहोस