काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विरुद्ध आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
मङ्सिर २९ गतेबाट सुरु भएको महासमिति बैठकको आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा समापन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने काँग्रेसको तयारी छ ।
सरकारले निरंकुशता लाद्न खोजेको भन्दै उनले पार्टीभित्रका असहमति थाति राखेर सरकार विरुद्ध लड्नुपर्ने बताए । १० दिन लामो महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै देउवाले भने, भने, ‘‘वर्तमान सरकार जनअपेक्षा विपरीत निरंकुश ढङ्गले निर्णय गरिरहेको छ। यस्तो निरंकुशताविरुद्ध लड्न सम्पूर्ण काँग्रेसीहरू तयार रहन आवश्यक छ । प्रधानमन्त्री केपी ओली जीले आफ्ना पार्टीका मान्छेहरूलाई दुःख दिइरहेका छन् । अरूलाई के गर्लान् ?’







