तेह्रथुमका दिलकुमार बने सफल व्यावसायिक किसान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तेह्रथुमका दिलकुमार बने सफल व्यावसायिक किसान


प्रशासन संवाददाता

८ पुस २०७५, आइतबार


तेह्रथुम । पूर्वी नेपालका लिम्बू समुदायका धेरै युवामा रोजगारीका लागि भारत, सिङ्गापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने सोख हुन्छ। । यो समुदायका लागि सेनामा जागिर खानु इज्जतकै रुपमा पनि लिइने भएकाले पनि धेरैको यस्तै सपना हुन्छ । कतिपयले त्यो सपना पूरा गर्छन् तर धेरैको अधुरै पनि हुन्छ ।

त्यस्तै सपना थियो तेह्रथुमका लालीगुराँस नगरपालिका–९ स्थित सोल्मा सिजेपुरका दिलकुमार लिम्बूको पनि तर उनको त्यो सपना पूरा हुन सकेन । लाहुरे बन्ने सपना टुटेपछि अहिले उनले गाउँमा परिवारसँगै बसेर व्यावसायिकरूपले गाईपालन गरी नमूना किसानको पहिचान बनाएको हो । बत्तीस वर्षे युवा दिलकुमारले अहिले गाउँमै ‘याङहिङवाङ गाई फार्म’ चलाएर वार्षिक रु १२ लाख बढी आम्दानी गर्दै आएका छन् ।

विसं ०७२देखि शुरु गरिएको उनको फार्ममा अहिले छ वटा उन्नत जातका दुधालु गाई र त्यति नै बाच्छी पनि छन् । ‘लाहुरे बन्ने रहरले उमेरमा पढ्न पढिएन’, उनले भन्छन्, ‘उमेर बितेपछि बुद्धि पलाएकाले स्वदेशमै बसेर काम गरेँ र यसबाट पनि नाम तथा दाम दुबै कमाउन सकिने रहेछ ।’ उन्नति परियोजनाले म्याङलुङमा चलाएको गाईपालन सम्बन्धी तालीममा सहभागी भएपछि आफूलाई व्यावसायिकरूपले गाई पाल्न प्रेरणा मिलेको दिलकुमार बताउछन् ।

शुरुमा इलामबाट ५ वटा गाई ल्याएर फार्म खोलेका उनकोे अलैँचीखेती पनि छ ।’गाई फार्मका लागि शुरुमा करीब रु १० लाख लगानी गरी फार्म दर्ता गरेपछि कृषि विकास बैंकले रु ५ लाख ऋण दियो, बाँकी अलैँची बेचेर लगानी गरेँ’, दिलकुमार भन्छन् ।

अहिले गाईका लागि उन्नत जातको घाँसको खेती पनि उनी आफैँले गरेका छन् । यस्तो खेती गाउँमा थोरैको मात्र छ, मैले घाँसको बीउ पनि उत्पादन गरेको छु,’ उनी भन्छन्, ‘अहिले घाँसको बीउबाट पनि मनग्ये आम्दानी हुन थालेको छ ।

आफूले गोरखा, तनहुँ र चितवनसम्म पुगेर पनि उन्नत जातका घाँसको बीउ सङ्कलन गरेको र सो बीउ अहिले गाउँमा लोकप्रिय छ । सबैले आफैले उमारेको घाँसको बीउ खरीद गरेर लैजाने गरेका दिलकुमार बताउछन् । उनको फार्मबाट अहिले दूधमात्र दैनिक ४० लिटर बिक्री हुन्छ र मासिक ५० हजार बढी आम्दानी हुने गरेको छ ।

यो वर्ष घाँसको बीउ बेचेर रु १० लाख भन्दा बढी आम्दानी भएको उनी बताउछन् । फार्मका लागि आवश्यक सामग्री ओसारपसार र दूध ढुवानीका लागि समस्या भएपछि अहिले दिलकुमारले गाई फार्मकै आम्दानीबाट किस्तामा रु २२ लाखको गाडी समेत किनेका छन् ।

अहिले गाडीबाट पनि मासिक ७० हजारभन्दा बढी आम्दानी भइरहेको उनले बताउछन् । गाई फार्मदेखि घाँसखेती र दूध ढुवानीसम्म दिलकुमार आफै खटिएका छन् । उनको गाई फार्म र गाडीमा गरेर अन्य तीन जनालाई रोजगारी समेत मिलेको छ । गाई फार्म, अलैँचीखेती, घाँस र गाडीबाट गरी यो वर्षमात्रै उनको रु २४ लाख बढी आम्दानी भएको छ ।

‘सबै खर्च कटाएर पनि आफूले मासिक रु एक लाख बढी आम्दानी गरिरहेको छु । मेहनत गरे स्वदेशमै पनि मनग्ये कमाइ गर्न सकिने रहेछ । अहिले त लाहुरे नभएकैमा स्वाद लाग्न थाल्यो ।’ उनी भन्छन्, ‘जिल्लामा एउटा सफल र नमूना युवा व्यावसायिक कृषकको रुपमा परिचय बनाएका दिलकुमार अहिले आफ्नो जातीय लोकसंस्कृतिको संरक्षण र उत्थानमा पनि लागेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस