अवरुद्ध विद्युत् सेवा सञ्चालन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अवरुद्ध विद्युत् सेवा सञ्चालन


प्रशासन संवाददाता

७ पुस २०७५, शनिबार


बाजुरा । गत मङ्सिर २५ गतेबाट अवरुद्ध त्रिवेणी साना जलविद्युत् सेवा शुक्रबार रातिबाट सञ्चालन भएको छ । २०० किलोवाट क्षमताको मेसिनको बेरिङमा आएको खराबीका कारण विद्युत् सेवा अवरुद्ध भएको थियो ।

करीब तीन दशकअघि वि.सं. २०४६ मा निर्माण भएको साना जलविद्युत्को मेसिन पुरानो र जीर्ण भएका कारण बारम्बार समस्या आउने गरेको व्यवस्थापक दयाराम पण्डितले जानकारी दिए ।

हाल त्रिवेणी साना जलविद्युत् केन्द्रले १८०० बढी सेवाग्राहीको घरमा विद्युत् सेवा प्रवाह गरेको छ । नेपाल विद्युत् प्राधिकरणको नाममा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्र विगत १० वर्षदेखि त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गर्दै आएको छ ।

भालुको आक्रमणबाट दुई घाइते

भालुको आक्रमणमा परी दुई जना घाइते भएका छन् । घाइते हुनेमा बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ का ४० वर्षीय बमबहादुर धामी र सोही गाउँपालिका–३ की १८ वर्षीया शान्ति बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब निरीक्षक लोकेन्द्रसिंह गुरुङले जानकारी दिएका छन् ।

शुक्रबार दिउँसो गाउँ नजिकैको जङ्गलमा दाउराघाँस गर्न गएका बेला घाइते दुवै जनालाई दुई भालुले आक्रमण गरेको बताएका छन् । आक्रमणमा घाइते भएका बमबहादुर र शान्तिले आफु बाँच्नको लागि भालुसँग प्रतिकार गर्दा दुवै भालुको मृत्यु भएको बताए । घाइते दुवैको अहिले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

यसअघि गत मङ्सिर ४ गते खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँमा पनि भालुको आक्रमणबाट दुई महिला गम्भीर घाइते भएका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस