स्वदेशी विद्युतीय सामग्री उपयोगमा पहिलो प्राथमिकता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वदेशी विद्युतीय सामग्री उपयोगमा पहिलो प्राथमिकता


प्रशासन संवाददाता

६ पुस २०७५, शुक्रबार


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वदेशी उद्योगबाट उत्पादित विद्युतीय सामग्री उपयोगमा पहिलो प्राथमिकता दिने भएको छ ।

स्वदेशी उद्योगको संरक्षण तथा विद्युतीय सामग्री आयातलाई क्रमशः विस्थापन गर्ने नीतिअनुरूप सो कार्य गर्न शुरु गरिएको मन्त्रालयले जनाएको छ ।

वर्षेनी रु ९० अर्बभन्दा माथिको विद्युतीय सामग्रीको आयात हुने गर्दछ । कूल खपतको ५ प्रतिशत मात्र स्वदेशी उद्योगबाट उत्पादित सामग्रीले माग पूरा गर्ने गरेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युतीय व्यवसायी महासंघद्वारा आयोजित ‘निक इलेक्ट्रो टेक २०१८’ शुभारम्भ गर्दै आर्थिक समृद्धिको आधार ऊर्जा विकास नै रहेकामा जोड दिए ।

उनले स्वदेशी उद्योगबाट उत्पादित विद्युतीय सामग्री उपयोगलाई पहिलो प्राथमिकता दिने नीतिलाई कार्यान्वयन गरिएको जानकारी दिए ।

विद्युतीय सामग्रीका बारेमा आम उपभोक्तालाई जानकारी दिने ध्येयले आयोजित नवौँ संस्करणको सो प्रदर्शनीमा ७५ भन्दाबढी प्रदर्शनी कक्ष रहेका छन् । यही पुस १० गतेसम्म जारी रहने प्रदर्शनीमा एक लाखले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आर्थिक समृद्धिका लागि ऊर्जा, पर्यटन र कृषिमा राज्यको लगानी बढाउन सुझाव दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति सरकारको हुनुपर्छ भने ।

Tags :
प्रतिक्रिया दिनुहोस