कांग्रेस महासमिति बैठक : पाँच दस्तावेजमा छलफल हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कांग्रेस महासमिति बैठक : पाँच दस्तावेजमा छलफल हुने


प्रशासन संवाददाता

२८ मंसिर २०७५, शुक्रबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजदेखि शुरु भएको छ ।

महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौं आइसकेका पार्टी कार्यालयले जनाएको छ । महासमिति सदस्यलाई केन्द्रीय कार्यालयमा आज अपरान्ह २ देखि ५ बजेसम्म नाम दर्ता एवं स्वागत गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । महासमिति बैठक यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म चल्ने छ । प्रवक्ता शर्माका अनुसार महासमिति बैठकमा २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, केन्द्रीय सदस्य तथा भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनित, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी हुनेछन् ।

सहभागी प्रतिनिधिलाई आजै कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय समितिले पारित गरेको राजनीतिक साङ्गठनिक दस्तावेज वितरण गरिनेछ । महासमिति बैठक उद्घाटन मङ्सिर २९ गते बिहान ११ बजे यगम्बर पार्टी प्यालेसमा हुनेछ । उद्घाटन लगत्तै बन्दशत्र शुरु हुने काङ्ग्रेसले जनाएको छ । बैठकको उद्घाटन पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् ।

बैठकमा पाँच दस्तावेज प्रस्तुत हुने

उद्घाटनपछि प्रारम्भ हुने बन्द सत्रमा पार्टीको केन्द्रीय समितिमा प्रस्तुत भई छलफल भएका विभिन्न पाँच दस्तावेज पेश हुनेछन् । बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा शशाङ्क कोइरालाले साङ्गठिनक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा. प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नेछन् ।

राजनीतिक प्रस्तावमा मुलुकको समसामयिक राजनीतिको विश्लेषणसहित पार्टीको आगामी राजनीतिक विचार र दृष्टिकोण, साङ्गठिनक प्रस्तावमा पार्टीका समग्र गतिविधि, विधान संशोधनमा संघीय संरचनाअनुसार पार्टीका संरचना, आर्थिक प्रस्तावमा बदलिदो परिवेशमा पार्टीको आर्थिक नीति र आन्तरीक आर्थिक प्रतिवेदनमा पार्टीको आयव्ययबारेमा उल्लेख छ ।

उक्त प्रतिवेदनलाई विस्तृत रुपमा छलफल गर्न महासमिति सदस्यलाई प्रदेशस्तरीय रुपमा सात समूहमा विभाजन गरिने प्रवक्ता शर्माले बताए । त्यसपछि पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्द सत्र चल्नेछ । महासमिति बैठक आयोजना गर्न करीब एक करोड खर्च हुने अनुमान गरिएको छ । बैठकको खर्च पार्टीको आन्तरिक कोष र महासमिति बैठकका सहभागीबाट लिइने दर्ता शुल्कबाट व्यवस्थापनका गरिने छ । बैठकका सहभागीलाई बिहानको खाजा, खाना र साँझको खाजाको व्यवस्था गरिए पनि राति बस्ने र खाने व्यवस्था प्रतिनिधि स्वयंले बेहोर्नेछन् ।

महासमितिले एउटा महाधिवेशन समाप्त भई अर्को महाविधेशन प्रारम्भ नहुँदाको अवस्थामा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन बाहेक महाधिवेशनको सबै कार्य गर्ने पार्टी विधानमा उल्लेख छ । त्यस्तै विधानको दफा २० मा महासमितिको साधारण बैठक प्रत्येक एक वर्षमा एक पटक हुने उल्लेख भए पनि पार्टीको १३ औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो । विधानअनुसार महाधिवेशन हुने वर्षमा भने महासमितिको बैठक हुदैन ।

कांग्रेस विधानले प्रत्येक वर्ष भने पनि प्रायः एक महाधिवेशनभित्र एक महासमिति बैठक भएको देखिन्छ । कांग्रेस नेता रामचन्द्र पोखरेलले पार्टी सङ्कटमा वा भूमिगत भएका बेला समेत महासमिति बैठक वा राजनीतिक सम्मेलन भएको बताए । नयाँ संविधानअनुसार मुलुक सङ्घीय संरचनामा गइसकेपछि हुन लागेको कांग्रेसको यो महासमिति बैठकलाई सबैतिरबाट निकै चासो र महत्वका साथ हेरिएको छ ।

यस बैठकले सङ्घीय संरचनाअनुसार पार्टीको विधान पारित गर्ने र आगामी नीति तथा दृष्टिकोण समेत तय गर्ने बताइएको छ । कांग्रेसले पार्टी स्थापनाकालदेखि नै महासमिति बैठक र राजनीतिक सम्मेलन गर्दै आएको छ । यस्ता बैठक र सम्मेलनले गरेका निर्णय पार्टी र मुलुकका लागि दुरगामी प्रभाव पार्ने तथा महत्वपूर्ण भएको नेपाली कांग्रेसका नेता एवं इतिहासकार पुरुषोत्तम बस्नेतको भनाइ छ । पार्टीको महाधिवेशन पछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीको नीतिगत सुधार र पार्टीभित्र उठेका फरक फरक धारणालाई समेत सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस