किरात भाषा प्रचारक सिरिजङ्गाको पूर्णकदको सालिक निर्माण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

किरात भाषा प्रचारक सिरिजङ्गाको पूर्णकदको सालिक निर्माण


प्रशासन संवाददाता

२३ मंसिर २०७५, आइतबार


बनियानी । झापाको शिवसताक्षी नगरपालिका–७ स्थित ब्याङ्डाँडामा किरात भाषा, लिपिका सर्जक, अन्वेषक सिरिजङ्गा सिं थेवेको सालिक निर्माण गरिएको छ । स्थानीय समुदायको अग्रसरतामा किरात भाषा, लिपि र साहित्यको संरक्षण तथा सिरिजङ्गा सम्मानका लागि सालिक निर्माण गरिएको हो ।

रु १४ लाखको लागतमा ५ फिट ६ इञ्चको पूर्णकदको सालिक निर्माण गरिएको सिरिजङ्गा स्मारक निर्माण समितिका अध्यक्ष चन्द्र लिङ्देनले जानकारी दिए ।

सालिक निर्माणका लागि शिवसताक्षी नगरपालिकाले रु १ लाख ५० हजार, विदेशमा रहेका नेपालीबाट रु ८ लाख र स्थानीयवासीले रु ११ लाख ५० हजार गरी रु २० लाख सङ्कलन भएको उनले बताए ।

सालिक सिरिजङ्गाको ३१५औँ जन्मजयन्तीका अवसरमा मङ्सिर २९ गते अनावरण गरिने भएको छ । सालिक अनावरण गर्न त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक बालकृष्ण माबुहाङ आउने स्मारक निर्माण समितिका सचिव बुद्धिराज लक्सम्बाले जानकारी दिए । सालिक निर्माण गरी बचत भएको रकम सालिक संरक्षण कोष स्थापना गरी राखिने भएको छ ।’बचेको रकमले कोष निर्माण गर्नेछौँ’, उनले भने, ‘कोषमा रकम थप्दै बर्सेनि मर्मत–सम्भार र किरात भाषा, लिपिको विकासमा खर्च गरिनेछ ।’

सिरिजङ्गाको सालिक मोरङ पथरीका मूर्तिकार दिलमान बेघाले निर्माण गरेका छन्। २०७४ साल चैत २४ गते नौ सदस्यीय समिति निर्माण सालिकको शिलान्यास गरिएको थियो । पल्लो किरात लिम्बुवान् याङ्वरक थुम तेल्लोकमा बुबा पारुहाङ र आमा पुद्याङ्माको खोजबाट १७६१ साल मङ्सिर २९ गते सिरिजङ्गाको जन्म भएको थियो । सरकारले सिरिजङ्गाको तस्बीर अङ्कित हुलाक टिकटसमेत प्रचलनमा ल्याइसकेको छ । सिरिजङ्गाले चलाएको लिपिलाई नै सिरिजङ्गा लिपि भनिन्छ । जुन किरातहरुको आफ्नो लिपि हो ।

पश्चिम सिक्किमको मार्ताम गाउँको चिप्लेटी ढुङ्गामा आफ्ना चेलाहरूलाई लिम्बू भाषा लिपि पढाइरहेका बखत टासोङ भिक्षुहरूले सिरिजङ्गालाई समातेर रूखमा बाँधेर धुनकाँणले हानेर १७९८ सालमा हत्या गरेका थिए । सिरिजङ्गाको सालिक झापाको कनकाई नगरपालिकाको दुर्गापुर र भद्रपुरको पृथ्वीनगरमा समेत निर्माण गरिएको छ । शिवसताक्षीमा निर्माण गरिएको सिरिजङ्गाको सालिक जिल्ला तेस्रो हो ।

Tags :
प्रतिक्रिया दिनुहोस