डोटीका सुन्तला किसानलाई बजारको चिन्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

डोटीका सुन्तला किसानलाई बजारको चिन्ता


प्रशासन संवाददाता

२३ मंसिर २०७५, आइतबार


डोटी । डोटीमा अघिल्ला वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन निकै बढेको छ । सुन्तला बढेकामा खुशी भएका यहाँका ग्रामीण क्षेत्रका किसान बजार नपाउने भएपछि चिन्तित बनेका छन् ।

वर्षभरि गरेको मिहिनेतलाई बिर्साउने गरी सुन्तला त फल्यो तर दुःख गरी लगाएको सुन्तलाले फल दिने बेलामा बजार नपाउँदा आफूहरु चिन्तामा परेको निरौलीका सुन्तला किसान हर्क साउदले बताए । १ दशकदेखि सुुन्तला खेती गर्दै आएका किसान साउदले यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए पनि बजारको अभावले किसानलाई चिन्तित बनाएको बताए ।

‘आश गरेकोभन्दा बढी सुन्तला फलेका छन् तर बजार पाउन मुस्किल छ,’उनले भने, ‘उत्पादन गरेर के गर्नु आम्दानी हुने बेला मूल्य पाइन्न,’ साउदले मात्रै करीब तीन रोपनी जमीनमा सुन्तला लगाउनुभएको छ । बजारमा अझै पनि सुन्तलाको भाउ आइनसकेको र आफूहरु बजारकै खोजीमा रहेको उनले बताए ।

सुन्तला, मौसमी, जुनार, कागतीलगायत अमिलो जातका फलफूलको खेती गर्दै आएका साउँदले वर्षमा करीब एक–डेढ लाख रुपैयाँ जति आम्दानी गर्छन् । उनको बगैँचाबाट फलेको सुन्तला नखाने त बिरलै होलान् । सुन्तलाको फल लागेर पाक्ने बेलामा परेको असिना पानीले क्षति पु¥याए पनि यस वर्ष डोटीका ग्रामीण क्षेत्रमा सुन्तला भने राम्रै उत्पादन भएको स्थानीय किसान बताउँछन् ।

बजार व्यवस्थापन र शीत भण्डारको अभावले गर्दा पनि यहाँका सुन्तला उत्पादक किसान मर्कामा परेका छन् । पहिलेका वर्षहरुमा यहाँका किसानका बारीमा सुन्तला किन्नेहरु आउने भए पनि यो वर्ष बढी सुन्तला उत्पादन भएकाले कोही नआएको गड्सेराका अर्का सुन्तला किसान लीलाधर बिष्टले बताए ।

उनले भने, ‘विगतका वर्षमा सुन्तला व्यापारीले बारीमै मूल्य निर्धारण गर्थे, यो वर्ष सुन्तला जताततै फलेकाले अहिलेसम्म कोही आएका छैनन् ।’ जिल्लाको बोगटान, जोरायल, गड्सेरा, मन्नाकापडी, बर्छैन, कपल्लेकी, मुडभारालगायत ठाउँमा सबैभन्दा बढी सुन्तला खेती गरिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस