“गरेमा सम्भव छ” भन्ने तरंग फैलाऔँ देश छिटै सुन्दर बन्नेछ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

“गरेमा सम्भव छ” भन्ने तरंग फैलाऔँ देश छिटै सुन्दर बन्नेछ


२३ मंसिर २०७५, आइतबार


सम्भव छ

विद्वान चार्ल्स स्पर्गनको एउटा भनाई छ कि “झुटो र सत्यको यात्रा तुलना गर्दा सत्यले जुत्ताको तुना कस्न भ्याएको हुँदैन झुटो वा अफवाहले भने आधा विश्वको चक्कर काटिसकेको हुन्छ” । सत्य ढिलै भए पनि यात्रा त गर्छ तर झूटोको हल्लाका कारण आफ्नो उपस्थिति सिद्ध गर्न निकै मेहनत गर्नुपर्ने हुन्छ । अव विकास सम्भव छ भन्ने सत्य कुरा हामी नेपालीले बोल्ने बेला भएको छ अनि बोलेको कुरा पूरा गर्न मरिमेटेर काम गर्ने बेला आएको छ । नेपालले धेरै लामोसमयसम्म विकासलाई पछाडि धकेल्ने कारणको रूपमा राजनैतिक अस्थिरता रहेकोमा पछिल्लो चुनावको परिणामपछि भने राजनैतिक कारणलाई देखाएर विकास भएन, मौका दिइएन भन्न मिल्ने अवस्था रहेन । तर खाँचो छ सकारात्मक सन्देशको र इमान्दारितापूर्वक कार्यान्वयनको ।

जीवनमा मेहनतको कति महत्त्व छ भन्ने विषयमा चर्चा आवश्यक छैन । मेहनत नगरी खानेहरू चोर हुन् भनेर उहिल्यै महात्मा गान्धीले भन्नुभएको थियो । उत्पादन नगरी उपभोगमात्र गर्नेहरू दिगो विकासका लागि सहयोगी हुन सक्दैनन् भनेर उत्पादन बढाउने विषयलाई महत्त्वका साथ दिगो विकास लक्ष्यमै समावेश गरिएको छ । नेपाल लगायतका विश्वका सबैजसो देशको विकासको मार्ग निर्देशक दस्ताबेज रहेको दिगो विकास लक्ष्यलाई शिरोधार्य गरेर पहिले उत्पादन अनि मात्र उपभोगको सुल्टो बाटोमा लाग्न नेपालीले पनि ढिला गर्न हुँदैन ।

केही वर्ष यता नेपालमै हामीले देखिरहेका छौँ विकासका उदाहरणहरू । गर्‍यो भने बाटैको छेउमा “साश्वतधाम” बन्दो रहेछ, राजधानीकै आडमा चन्द्रागिरीले देश विदेशका पाहुना तान्दो रहेछ, हुम्ला डोल्पा पनि सडक सञ्जालले जोडिदारहेछन् । अलिकति मेहनत गर्दा व्यावसायिक कृषिमार्फत माटोमा सुन फल्दो रहेछ । चाह्यो भने मुलुकलाई लोड सेडिङबाट मुक्त पार्न सकिदोरहेछ । राराले हजारौँ नेपालीको आँखा भरी भरी सुन्दरता भर्दो रहेछ अनि पाथीभराले कतिको थकाइ मार्दोरहेछ । मात्र केही पहल आवश्यक छ यहाँ इमानदार पहल । यस्ता पहल नेपालीहरूले पनि गर्न सक्छन् भनेर महावीर पुन, सन्दुक रुइत, भगवान् कोइराला, कुलमान घिसिङ, लीलामणि पौड्याल र रामबहादुर कुरुम्वाङहरुले पुष्टि गरेका छन् । त्यस्ता कर्मजीवी अगुवाहरु चिन्नुमात्र पर्छ र प्रोत्साहन दिनुमात्र पर्छ गहकिला परिणामहरू निस्कनेमा शङ्का छैन ।

अब हामीहरू मिलेर कि आफै बनौँ नभए पनि त्यस्ता पात्रहरू पहिचान गरी देश बनाउन सहयोग गरौँ । व्यक्ति व्यक्ति मिलेर नै समूह बन्ने हो । कामयावी व्यक्तिहरूको समूहलाई क्रिटिकल मास भन्ने गरिन्छ । सबै क्षेत्रमा यस्तो समूह बन्यो भने मुलुकलाई अगाडि बढाउन उनीहरूले नै ऊर्जाको काम गर्नेछन् । कसैले राम्रो काम गर्दैछ भने हामीहरूले सकेसम्म साथ दिऊँ जसले आँटमाथि उत्साह थप्नेछ । जुनसुकै कित्तामा हामी किन नहोउँ यदि देशका लागि हितकर काम भइरहेको छ भने राम्रो नै भनूँ । यदि कुनै कामले अधिकांशलाई ऐँठन हुन्छ भने किन गर्नु । अधैर्य भएर कामको प्रक्रिया सुरु नहुँदै नतिजा खोज्नु र नकारात्मक हल्ला पिट्नु दुवै राम्रो होइन । असल नतिजाका लागि असल तौरतरिका र निरन्तरको कटिवद्धता आवश्यक छ । के पी ओलीको अगुवाइमा काम गर्दै गरेको सरकारलाई काम गर्न दिने कि आलोचनाको ओइरो मात्र लाउने ? हामीकहाँ अहिलेको सरकारलाई मात्र हैन जुनकुनै राजनैतिक दल वा निर्दलकै समयमा पनि न आफै काम गर्ने संस्कार छ न त काम गर्नेप्रति सम्मान प्रकट गर्ने र परिणाम नआउन्जेलसम्म धैर्य गर्ने संस्कृति नै विकास भएको छ । यो संस्कृतिमा वदलाव आवश्यक छ ।

जन्म लिँदैमा कोही तन्नेरी हुँदैन । सुरुवात गर्दैमा कोही विज्ञ भइसक्दैन । तसर्थ सिक्दै गर्दै र दिगोपन दिँदै जानुपर्दछ । त्यसो त अहिलेको समय भनेको सृजनशीलता र नवप्रवर्तनको हो । राम्रो गर्नेबाट सिक्ने, विकासमा हैन विकासका लागि राजनीतिक निष्ठाको प्रयोग गर्ने र जुनसुकै तहको सरकार भए पनि संविधानले दिएको कार्यक्षेत्रमा विज्ञहरूसमेतको सहयोगमा कानुन बनाई कामको वातावरण बनाउनुपर्दछ । आफ्नो सन्दर्भमा नवीनतम सम्भावनाको नवीनढंगले प्रयोग गर्नु नै सङ्घीय शासन प्रणालीको सुन्दरता हो । सृजनशीलताबाट मात्र राम्रा उदाहरणहरू बन्दै जान्छन् । हामीकहाँ जिम्मेवारीमा बसेकाहरू अधिकांश राजनैतिक अभिभावकसमक्ष हुन्छ मात्र भन्ने “हुन्छबहादुर” छौँ अनि साँच्चीकै कामै गरेर देखाउने “गर्छुबहादुरहरु” कम छौँ अनि हौसला भन्दा पनि नकरात्मकताको चपेटामा बहुसङ्ख्यक व्यक्तिहरू परेका छौँ ।

दक्षिण कोरियामा पार्क चुङ्ही र सिंगापुरमा लि क्वान यु ले गरेको विकासको अगुवाइ हामीले सुने देखेकै हो । विकासका लागि राज्यको अगुवाइ गर्ने नेता भिजनरी हुनुपर्‍यो, सम्भव सपना देख्नुपर्‍यो अनि कार्यान्वयनको वातावरण बनाउनका लागि प्रशासन र विज्ञले राजनैतिक प्रतिनिधिलाई सघाउनुपर्‍यो । हाम्रो सम्बन्धमा ठुला पूर्वाधारका लागि जग्गा व्यवस्थापनको विषयलाई कडा नीतिमार्फत राज्य वा सरकारको नियन्त्रणमा ल्याउनुपर्दछ अनि कुनै पनि कामको सम्झौतापछिको ठेक्का व्यवस्थापनलाई सुदृढ तुल्याउनुपर्दछ ।

भरतपुर महानगरले पूर्वाधार विकासका साथै सामाजिक विषयहरूमा सुरुवात गरेका सहभागितामूलक अभियानमा पनि विज्ञहरूका सुझावका अलावा राजनैतिक र प्रशासनिक इच्छाशक्ति र इमानदार कार्यान्वयनको खाँचो छ । आशा छ व्यवस्थित भरतपुर बनाउनका लागि सबैको सहयोग र सद्भाव प्राप्त हुनेछ । गरेमा सम्भव छ भन्ने सन्देश दिनका लागि हामी सतर्कतापूर्वक आतुर रहनुपर्दछ अनि मात्र देशले मुहार फेर्नेछ समृद्धि र समुन्नतिको माध्यमबाट ।

Tags :
प्रतिक्रिया दिनुहोस