अस्पताल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अस्पताल


प्रशासन विशेष ब्युरो

२२ मंसिर २०७५, शनिबार


अस्पताल

म अस्पतालमा थिएँ । अस्पतालले दश विगाह जमिन ओगटेको छ । दिनहुँ हजारौँ बिरामीले सेवा लिने गर्दछन् । मध्य तथा सुदूर पश्चिमको प्रवेशद्धार पनि हो कोहलपुर । पहाडबाट बिरामी ओइरिन्छन् यहाँ । स्याबासी र गाली खुबै सुनिन्छन् अस्पताल परिसरमा । उपचारको क्रममा बिरामी मर्दा कैयौँ पटक आन्दोलनमा थलिन्छ । वार्तापछि बिस्तारै निको पनि हुन्छ र उपचारमा खटिन्छ । यो क्रम दोहारिरहन्छ अस्पतालमा ।

‘महँगो उपचार रहेछ म त आत्तिएँ जेठा । उपचार नगरी पनि भएन । के गर्नु’ पुरानो लबेदा, सुरवाल, टोपी र मैले इस्टकोटमा सजिएका वृद्धले बेन्चमा बसेर गुनासो गर्दै थिए । खुट्टामा लगाएको जुत्ता कतै कतै उदाङ्गो थियो ।

‘डाक्टर अनुभवी छैनन् पिजी र विद्यार्थीले उपचार गरिदिन्छन् अनि कहाँ राम्रो उपचार हुन्छ । लापरबाही भइहाल्छ नि’ । अर्कोले थप्दै थियो । कुनै सन्चो भएर फर्किरहेका थिए हँसिला अनुहार बोकेर । मनमा लागेको हुँदो हो अब कहिल्यै अस्पताल बस्न नपरोस् ।

म प्रसूति कक्षको बाहिर भित्र ओहोर दोहोर गरिरहेकी थिएँ । मुनालाई भर्ना गरेकी थिएँ । मुना र मेरो माइती गुल्मी थियो । उनको घर चाहिँ दैलेखमा । मेरो कोहलपुर । गर्भवती भएपछि उनले दैलेखको सरकारी अस्पतालमा चेक जाँच गराएकी थिइन् । ‘नानी तिम्रो बच्चा उल्टो छ तलबाट हुँदैन’ । अन्तिम समयमा डक्टर स्वेताको बोली सँगसँगै उनी निकै डराएकी थिइन् रे ।

‘दिदी मलाइ अपरेसन गर्नुपर्छ भन्छन् डाक्टरहरू’ केही दिन अघि फोन गरेकी थिइन् उनले

‘किन के भयो र ?’

‘बच्चाको हेड हाइ छ रे’

‘ ए ए । नडराऊ केही हुँदैन । अपरेसन गर्नुपर्ने भयो ।’

‘अपरेसन ?’

‘बच्चा निकाल्ने अपरेसन कहाँ गाह्रो हुन्छ र ? मैले ढाडस दिदैं बोलेकी थिएँ ।

‘तैपनि दिदी मलाई त निकै डर लागिरहेको छ ।’

‘बजारका महिलाहरू आजकल डेट आउनु अघि नै अपरेसन गरिहाल्छन् । व्यथा सहन त झनै गाह्रो हुन्छ नि । ठिकै भयो त । मैले सम्झाएकी थिएँ । ’

‘बरु अपरेसन कहाँ गर्ने होला दिदी ? यतै गरूँ कि ?

‘अस्पताल र डाक्टर राम्रो हुनुपर्छ नि ’

‘ खै दिदी, जिल्ला अस्पताल हो, के राम्रा डाक्टर होलान् र ?’

‘त्यसो भए यतै आउन त’ उनको कुरा बुझेर मैले कोहलपुरतिरै बोलाएकी थिएँ ।

पहाडमा सुविधा सम्पन्न अस्पताल थिएनन् । उनका नजिकका आफन्तहरू कोहलपुरमा थिएनन् । मै मात्र थिएँ । माइतीको कुकुर त प्यारो हुन्छ भनिन्छ उनी त छिमेकी बहिनी थिइन् त्यसैले उनलाई यतै बोलाएकी थिएँ । उनी एक्लै आइन् । लिएर आउने जस्तो घरमा आफन्त पनि कोही नभएरै होला सायद । अस्पतालमा एकल अभिभावक बन्दै थिएँ म । डक्टर लीलाको सल्लाह बमोजिम आज उनको अपरेसन हुँदै थियो ।

म जस्ता सयौँ बिरामीका आफन्तहरू ओहोर दोहोर गरिरहेका थिए सायद सबैलाई हतार हुँदो हो । बेचैनी हुँदो हो मलाई जस्तै । नर्सले कागजी प्रक्रिया पुरा गर्दै थिइन् । लेबर रुममा रहेका लगभग सबै बेडमा लस्करै गर्भवती महिलाहरू थिए । उमेरले पचास नाघेजस्ता पनि थिए र कलिला पनि । म सबैको दुख नियालिरहेकी थिएँ । कोही चिच्याउँदै थिए ।

‘मरे आमा……………….।’

‘हे भगवान्………………।’

‘लौन डाक्टर मेरो अपरेसन गरिदेऊ ……………….।’

‘मेरो बच्चा भ्याकुम लगाएर निकालिदिनुस् न सिस्टर ………………….।’

पृथ्वीभित्रको सिङ्गो सृष्टि सायद त्यही कोठा भित्र थियो । आमा बन्नुको पिडा नियाल्ने पुरुषहरू ढोका वरिपरि थिए । उनीहरूको मन पनि भरिलो थियो । आँखा रसिला थिए । सानो छटपटीमा मलाई प्रसव पिडा भयो भन्ने पुरुषहरूले वास्तविक प्रसव पिडालाई नियालिरहेका थिए । आफ्ना मान्छेको पिडा सुन्न उनीहरूलाई पनि गाह्रो भएको हुँदो हो ।

म भित्र बाहिर गरिरहेकी थिएँ । कुनै कुनै बेडमा त रगतको भेल बगिरहेको देखिन्थ्यो । सबै आमाको अनुहारमा अथाह पिडा देखिन्थ्यो । आफु मरेर नयाँ सृष्टि जमाउन खोज्दै थिए ।

नर्सले बोलाइन् । ‘तपाईँ मुनाको मान्छे हो ?

‘हजुर हो’ म अलि अघि अगाडि सरेँ

‘उनको श्रीमान् कहाँ हुनुहुन्छ ?’

‘विदेश जानुभएको छ’

‘तपाईँ ?’

‘म दिदी मुनाको ’

‘त्यसो भए यो कागजमा सही गरिदिनुस् त ।’

मेरा हात थरथरी काँपिरहेका थिए ।

बिरामीलाई अपरेसन गर्दा तलमाथि भएमा म आफै जिम्मेवार हुनेछु लेखिएको तलपट्टि हस्ताक्षर गर्नुपर्ने थियो । मुनाको अनुहारमा पुलुक्क हेरेँ । ल्याप्चे लगाएका दुवै बुढी औलाको मसी सुकेको थिएन । भावुक भइन् उनी । आँखा रसिला थिए । तर बेडमा चिच्याएका महिलाहरू देखेर उनको होस उडिसकेको थियो । त्यसैले मानसिक रूपमा अपरेसनका लागि तयार भएकी थिइन् । अब मनको डर मैले पन्छाउनुपर्ने थियो । पछि हटेर हुनेवाला थिएन । आज म उनको एकल अभिभावक थिएँ । यस प्रक्रियामा मलाई सहयोग गर्ने कोही थिएन । एक पटक भगवान् सम्झिएँ । सायद अप्ठेरोमा पर्दा सबैले सम्झन्छन् मैले जस्तै । नर्सले मुखमा हेरिरहेकी थिइन् । मेरो अनुहार पढेर होला मलाई सम्झाउँदै भनिन् । ‘केही हुँदैन के ?’

हातमा पेन समातेर हस्ताक्षर गरिदिएँ । मनमा हुटहुटी चल्दै थियो ।

मुनाको बेड नजिकै एक महिला थिइन् जानकी । उनी बिस्तारामा लडिरहेकी थिइन् । बेलाबेलामा बटारिन्थिन् । अनुहारमा चिटचिट पसिना थियो । अनुहार रातो रातो थियो । नर्सहरूले स्टेथेस्कोप लगाउँदै थिए । ज्वरो नाप्दै थिए । डक्टर जाने आउने क्रम चलिरहेको थियो ।

‘अहिले कस्तो छ दिदी ?’

‘ठिकै छ’ यही जवाफ दिन्थिन् उनी

‘तपाइको ज्वरो नै घट्दैन । प्रेसर पनि २०० नाघिसकेको छ । खै के गर्ने होला ? दिदी …..’नर्सले काउन्टर तिर फर्केर चिच्याइन्

अलि पाकी जस्तो लाग्ने नर्स उनको अगाडि आइन् । ‘तपाइको अन्तिम महिनावारी कहिले हो दिदी ? डाक्टरले अन्तिम डेट कहिले दिनुभएको थियो ?’

‘एक हप्ता नाघिसक्यो ’

‘उमेर कति नि ? चालिस वर्ष’

‘कति वटा बच्चा छन् ? तिन वटा ?’

‘के के छन् ?

‘छोरीहरू’

‘बरु बहिनी मलाइ जे सुकै होस मेरो अपरेसन गरिदिनुस् । कर्ममा भए म पनि बाँचुँला मेरो पेटको सन्तान बाँच्नुपर्छ ।’ उनले बोली दबाउँदै बोलिन्, अन्तिम बोली बल्ल बल्ल सुनिएको थियो ।

‘त्यसो भनेर कहाँ हुन्छ ? तपाइको यस्तो अवस्थामा डाक्टर अपरेसन गर्नुहुन्न । आमाको शरीरलाई खतरा हुन्छ’

डक्टर लीला पनि आइपुगिन् । नर्ससित जानकीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा सोधपुछ गर्दै थिइन् ।

‘पेटको बच्चाले दिशा खायो भने मर्छ भन्छन् लौन छिटो गरम नानीहरू ।’ बाहिरबाट अन्दाजी ६५ जस्ती लाग्ने वृद्धा भित्र पसिन् । उनलाई निकै हतार थियो । बच्चा समाउने नयाँ कपडा उनको हातमा थियो । ओल्टाइपल्टाइ हेर्दै थिइन् । उनीहरूका आफन्तहरू धेरै जम्मा भैसकेका थिए ।

डाक्टर लीलाले श्रीमान्लाई बोलाइन् । उनको शरीर मोटो र छोटो कदको थियो । झुस्स दाढी पालेका थिए । टाउकोको आधा कपाल झरिसकेको थियो भने बचेको कपाल तिलचामले भैसकेको थियो । सेतो हाफ पाइन्ट र रातो टिर्सट लगाएका थिए । अनुहार गम्भीर थियो । डाक्टर सित केही बेर कुराकानी गरे ।

‘अवस्था निकै जटिल छ के गर्ने ? डाक्टरले श्रीमान्को अनुहारतिर हेरेर भनिन्

उनले जवाफ फर्काएनन् ।

‘छिटो बच्चा जन्माउनका लागि व्यथा बढाउने औषधि चढाउन सकिन्छ तर बच्चालाई अप्ठेरो पनि पर्न सक्छ । कि अपरेसन गर्नुपर्छ तर आमालाई गाहे हुनसक्छ ।’

उनी फेरि पनि बोलेनन्, ‘खै ???’ भन्ने इसारामा टाउको मात्र हल्लाए ।

‘वृद्धा अगाडि सरिन् र डक्टरतिर फर्केर भनिन् बच्चालाई खतरा हुन्छ । अपरेसन गर्ने निर्णय त तपाइले लिने होला नी ? हामी डाक्टर कि तपाईँ हँ ?

‘होइन आमा बिरामीको अवस्था एकदमै जटिल छ । सजिलो भए त बच्चा आफै जन्मि हाल्थ्यो नि ? नर्मल अपरेसन भए पनि म गरिहाल्थे । तपाइहरूसँग कहाँ छलफल गर्नु पर्थ्यो र ?’

‘हामीलाई सोधेर, छलफल गरेर समय मात्र किन बर्बाद गर्छौ हँ डक्टर ? सक्दैनौ भने अन्तै लैजान्छौँ । ’

‘जानकीलाई हाइ फिबर छ । प्रेसर ओभर छ । नाडी पनि कडा चलिरहेका छन् । हात खुट्टा पुरै सुनिएर खम्बा बनेका छन् । बच्चाको धड्कन कम सुनिएको छ । ब्लीडिङ पनि भइरहेको छ । अवस्था सबै जटिल छ, के गर्ने के गर्ने ?’ डाक्टरले जानकी तिर फर्केर बोलिन् ।

यस्तो बिरामीलाई नर्मल सुत्केरी गराउन सम्भव थिएन । अपरेसन गर्नुपनि सजिलो थिएन । डाक्टर लीलालाई वृद्धाको बोली सुन्दा जानकीलाई निकालिदिऊँ जस्तो पनि नलागेको होइन ।

डाक्टर लीलाले फोन गरेर डाक्टर क्षितिजलाई बोलाइन् । उनीहरू दुवैले एक छिन सल्लाह गर्न थाले ।

‘डाक्टर क्षितिज म यो बिरामीको अपरेसन गर्न पनि सकिरहेको छैन । के गर्ने ? आफन्तको बोली सुन्दा राख्न मन पनि छैन । केही भइहाल्यो भने पनि अस्पताललाई मात्र होइन हामीलाई पनि खतरा छ । यही सहरमा बस्नुपर्छ ।’

‘तर अस्पतालबाट निकाल्न पनि त सम्भव छैन । हाम्रो धर्म नै यस्तै अप्ठेरोमा परेकाको सेवा गर्ने नै हो ।’

‘खै आज मलाई कता कता डर लागिरहेको छ ।  आफ्नो हातले गरेका अनगिन्ती अपरेसनको सम्झना आइरहेको छ । गर्भवती महिलामा केही समस्या देखिनु स्वाभाविक हो तर यहाँ त धेरै समस्या छन् । फेरी अहिले नै आफन्तहरू थर्काउन खोज्दै छन् पछि के होला ? कि रिफर गरिदिऊँ हँ भेरी अस्पतालमा ?’

‘डक्टर लीला । हाम्रो धर्म बिरामी बचाउनु हो । उनीहरूलाई जीवनदान दिनु हो । यही हातले छुरी चलाएर अनगिन्ती सपनाहरू जन्माएका छौँ हामीले । धेरै बच्चालाई आमा बचाएर दिएका छौँ । हाम्रो अगाडि शरण लिन आएकालाई यसो भन्नु हाम्रो धर्मले दिँदैन ।’

‘बुढी आमा धम्कीको भाषा बोल्दै छिन् । मलाई त पठाउँकी जस्तो लागिरहेको छ अझै  पनि ।’

‘होइन डक्टर त्यसो गर्नु हुँदैन । हामीलाई पढाउने प्रोफेसरले के भन्नु हुन्थ्यो ? तपाईँलाई अझै सम्झना होला नि ? हातमा अपरेसनको केश आइसकेपछि बिरामी जस्तो सुकै आउन् । भगवान् सम्झेर अपरेसनका लागि जुट्नुपर्छ । शरण गर्ने को मरण गर्नु हुँदैन । पछि जे हुन्छ, हुन्छ । बिरामीलाई नेपालगन्ज पठाउँदा बिचमा ओभर ब्लिडिङ भएर ज्यान पनि जान सक्छ । हाम्रो आक्रोशका सजाय बिरामीलाई दिनुहुँदैन ।’

वृद्धाले फेरी चर्को स्वरमा बोलिन् ‘अपरेसनको तयारी गर्नुस् डाक्टर । मेरो नातिलाई केही भइहाल्यो भने …. ?

‘छोरालाई कुमले घुच्याइन् कति हिम्मत नभएको तेरो हँ । तेरी जोईलाई केही हुँदैन । लामो आयु लिएर आएकी छ । बाँच्छे । बरु बच्चा………….। छिटो गर सिक्नेचर कागतमा, लेखिदे तेरो नाऊ छिटो । मेरो नाति’

नर्सले कागज अगाडि सारिदिइन् उनले चुपचाप हस्ताक्षर गरिदिए ।

डाक्टर लीलाले क्षितिजलाई अपरेसन थिएटरमा सँगसँगै जान अनुरोध गरिन् । बिरामीलाई तयार गरी थिएटरमा ल्याउन आदेश दिइन् र आफु अगाडि बढिन् ।

कपडा र गहना खोलिए । लगाएको स्लाइन मुनाको हातमा थियो । म पनि के गर्ने के नगर्नेमा थिएँ । कसैको बच्चा बेडमै जन्मिएको सूचना बच्चाको रुवाइले दियो

‘तपाइहरु सबै बाहिर जानुस् । ओ.टी.तिर सङ्केत गर्दै नर्स कराइन् । हामी सबै बाहिर निस्कियौँ । मुना र जानकी दुवै जनालाई पालैपालो ह्वील चेयरमा राखियो ।

उनीहरू दुवै जना निशब्ध थिए । ढोकासम्म सँगसँगै निस्किएँ म ।

‘वेस्ट अफ लक मुना’ म उनको अनुहारमा हेरेर खिसिक्क हाँसिदिएँ । उनले पनि बाध्यात्मक हाँसो हाँसी दिइन् र भित्र पसिन् । सँगसँगै जानकीलाई पनि भित्र लगियो ।

अपरेसनको बाहिर पट्टि बसेर पर्खनु सिवाय अरू विकल्प थिएन । दोस्रो तलामा रहेको अपरेसन कक्ष भ¥याङ्गको नजिकै थियो । जानकीका आफन्तहरू थियटर बाहिर भरिदैं थिए । भुँइमा पिफर्म ओच्छ्याएर बसिरहेका थिए । ठुलो ठुलो स्वरमा कुरा गरिरहेका थिए । उनीहरूलाई अस्पतालका अन्य बिरामीसँग कुनै सरोकार थिएन । त्यसैले चिच्याएर गफिदैं थिए । ओहोरदोहोर गर्नेहरू जो कोही पनि उनीहरूतिर हेरेर फर्किन्थे ।
ती वृद्धा हातमा बच्चा समाउने नयाँ कपडा समातेर मेरो नजिकै आएर बेन्चमा टुसुक्क बसिन् ।

‘तपाईँ ?’

मेरो वाक्य पुरा हुन नपाउँदै उनी बोलिहालिन्

‘जानकी मेरी बुहारी ।’ उनको नजर ढोका तिर थियो । उतै फर्केर जवाफ फर्काइन् ।

ढोकामा नर्स देखिइन् । ‘जानकी रावतको मान्छे ?’

उनी अगाडि सरिन्

‘ल कपडा ल्याउनुस् त ।’

उनले हातको नयाँ कपडा नर्सलाई थमाइन् र भनिन् ‘बच्चा के भयो नानी ? नर्सले सुनिनन् कि सुनेर पनि उत्तर दिइनन् । उनले ढोका बन्द गरिसकेकी थिइन् । आमा फेरि बेन्चमा फर्किन् र म तिर हेरेर भनिन् । ‘अहिले त डाक्टरले छोरा छ भनेका छन् । लखनउ जँचाएर आएका ।’ मैले ए मात्र भनेँ । मेरो उनीप्रति चासो कम देखेर होला उनी उठेर आप्mनै भिडमा मिसिइन् । एकै छिन उनै नर्स ढोकामा देखिइन् , वृद्धा नसकेर पनि दौडिन् र हातमा बच्चा च्याप्प समातिन् । के जन्मियो नर्स नानी ? नाति त होला ? ’ नर्सले टाउको मात्र हल्लाइन् । जानकीकी सासू आफन्तहरूको बिचमा छिटो छिटो पुगिन् । ढोकाबाट नर्सले केही भन्न खोज्दै थिइन् तर उनीहरू कसैले ध्यानै दिएनन् । सबै नवजात शिशु वरिपरि गोलो लगाए ।

‘ल बधाई छ जेठी आमा । नातिको हजुरआमा भयौ ।’ बुढी खुसी देखिइन्

‘मैले त भनेको थिएँ नि कान्छी छोरीको अनुहार छोरा जस्तै छ अबको पालि नाति नै हुन्छ भनेर ।’

‘हात हेर्नेले पनि यसपालि छोरा नै हुन्छ भनेको थियो रे त’

‘लखनउ जँचाउँदा डाक्टरले पनि छोरै छ भनेको थियो’

सबैले पालैपालो नवजातको पुरानो भविष्यवाणी सुनाइरहेका थिए । एक अर्कालाई बधाई दिर्दै अङ्कमाल गर्दै थिए । हाँसोको फोहरा छुटिरहेको थियो । म घरी घरी ढोका तिर हेर्दै थिएँ भने उनीहरूको खुसीलाई समेत नियालिरहेकी थिएँ ।

एक हातमा मिठाईको प्याकेट र अर्को हातमा पलाष्टिकको पोको समातेर नानी देखिई । अन्दाजी पन्ध्र वर्षकी हुँदाहुँदै उनी । बच्चाको मुखमा पुर्लुक्क हेरिन् ।

‘बधाई छ बाबा ।’ उनले अङ्कमाल गरिन् । ‘तपाइको सपना पुरा भयो आज ।’ लड्डु निकालेर बाबुको मुखमा राखिदिइन् । बाबाले छोरीको पछाडि हात राखेर धाप लगाए ।

जेठी छोरी होलिन् मैले अनुमान लगाएँ । उनको अनुहार गम्भीर थियो । ढोका अगाडि आइन् ।

‘आन्टी कति बेला भेट्न पाइन्छ मम्मीलाई’ म तिर फर्किन् । मलाई पनि कुनै अनुमान थिएन

‘अझै एक छिन लाग्ला’ उनको बेचैनी अनुहारलाई केही ढाडस दिन खोजे

आमाको प्रतीक्षामा उभिइन् ।

हजुरआमा नातिको अनुहार हेर्दै थिइन् । नातिनी तिर हेरेर फतफताइन् । ‘घरमा फोन गरिदे नानी । खसीको मासु फ्रिजमा छ बनाउन लगा । ज्वानोको झोल पकाएर ल्याउन पठा । घिउ पनि ¥याकमा छ झिक्न पठा । फेरी बच्चालाई दूध आउँदैन ।’ उनको बोलीतिर भन्दा नानीको ध्यान ढोकातिर थियो । अरू कसैले उनको कुरामा वास्ता गरेनन् ।

केही छिनमा उनै नर्स ढोकामा देखिइन् । ‘मुनाको मान्छे को हुनुहुन्छ ?’ ‘म म ।’ हातको कपडा नर्सको हातमा थमाइदिएँ । नानी केही सोध्न खोज्दै थिई तर नर्सले उत्तर नदिई गइन् । एकैछिनमा नर्सले बच्चा च्यापेर आइन् र मलाई दिइन् । बच्चा समाएँ । ‘मुनालाई कस्तो छ ? अपरेसन सकियो ? रगत चढाउनु त परेन ? होसमा त छिन् नि ?’ उनले टाउको हल्लाएर मेरा प्रश्नको उत्तर दिइरहेकी थिइन् तर उनका आँखा वृद्ध महिलाको काखतिर थिए । नर्सको अनुहार पनि हँसिलो थिएन । उनको मलिनतामा म डराउँदै थिएँ । मुनाका लागि प्रार्थना गरिरहेकी थिएँ । काखे बच्चालाई स्वागत गर्न पनि बिर्सिएछु । अनुहार हेरेँ । अबोध परीले टुलुटुलु हेरिरहेकी थिइन् । मेरो त मिठाई पार्टी गर्ने पनि कोही थिएनन् । बच्चालाई स्वागत गर्न पनि एक्लै थिएँ म ।

मुनाको मोबाइल बज्यो । ज्वाइसाबको फोन थियो । मैले उठाइदिएँ ।

‘लक्ष्मी भित्रिइन् बधाई छ ज्वाइसाब ।’ मैले नसोधिकनै उत्तर दिएँ ।

‘मुना नि ?’

‘अपरेसन चलिरहेको छ । बेडमा पठाएको छैन ।’

‘ए ए । छोरी कस्ती छिन् ?’

‘ठ्याक्कै तपाइ जस्तै ।’ त्यसो भन्दै गर्दा म पनि मुस्कुराएँ । भर्खरै जन्मिएकी सानीको अनुहार खै कसरी तुलना गरिदिएँ । फोन राखेँ मुनाको प्रतीक्षा गरिरहेँ ।

जानकीका आफन्त बढ्दै थिए । उपहार बोक्नेहरूको पनि कमी थिएन । खुसीयाली थपिँदै थियो ।

नर्सहरू पालैपालो बाहिर निस्किँदै थिए । मुनाको अपरेसन सकियो ? नर्सको नजिकै पुगेर सोधेँ । उनी नबोली अगाडि बढ्न खोजिन् । मैले उनको हात च्याप्पै समाएँ । ‘सकियो । पोष्टअपमा सिफ्ट भइसक्यो । एक छिन पछि भेट्न पाउनुहुन्छ’ । नचाहेरै उत्तर दिइन् । मेरो सास फुलेर आयो । जानकीकी छोरीले पनि मेरो प्रश्न दोहो¥याइन् तर नर्स निरुत्तर भइन् । ‘पर्खनुस् । डाक्टर आउँदै हुनुहुन्छ ।’

एकाएक ढोकामा हल्ली खल्ली सुनियो । डाक्टर लीला देखिइन् । उनका वरिपरि सबै झुम्मिए ।

‘सरी तपाइकी जानकीलाई बचाउन सकिएन ।’

‘के भयो डाक्टर नानी ?’ नाति समातेकी हजुरआमाले बच्चा नातिनीको हातमा थमाएर डाक्टर अगाडि पुगिन्

‘तपाइहरूले भनेको मान्नुभएन । मैले भनेकै थिएँ यस्तो अवस्थामा आमालाई बढी खतरा हुन्छ भनेर । उनको चौथो सन्तान भएकोले पाठेघरको अवस्था पनि राम्रो थिएन । त्यसैमाथि हाइ प्रेसर र उच्च ज्वरो थियो । अपरेसन गर्न नमिल्ने थियो । औषधि चढाउँदा बच्चा बिग्रिने सम्भावना बढी भए पनि आमालाई बचाउन सकिन्थ्यो । बच्चाले दिशा पिसाब खान सक्छ भनेर तपाइहरूले मान्नुभएन । जस्तो अवस्था आए पनि अपरेसनका लागि तयार हुनुभयो ।

बच्चा र आमामध्ये एकलाई मात्र बचाउन सकिने अवस्था आयो । जानकीले बच्चा बचाइदिन आग्रह गरिन् । अपरेसन गरियो तर रक्तस्राव रोक्न सकिएन । आमा बेहोस भइन् । अक्सिजनले पनि काम गरेन । जानकीले हामी सबैलाई उछिनिन् । हाम्रो कुनै पनि उपकरण र औषधिले काम गरेन । प्रयास विफल भयो । सरी । डेढ बढी केही प्रक्रिया पुरा गरेपछि पाउनुहुनेछ ।’

काखमा बच्चा लिएकी सानी नानीका आँखा छताछुल्ल भए । आँसुको भेल गाला हुँदै अबोध बालकको अनुहारमा पोखिए । बच्चा चिच्याउन थाल्यो । नानीले आफुलाई थाम्न सकिनन् । बेहोस भइन् । बच्चा हजुरआमाले लड्दालड्दै समातिन् र मुखमा पुलुक्क हेरिन् । चारैतिर सन्नाटा छायो । कोही डाक्टरलाई गाली गर्दै थिए । कोही अस्पताल फुटाल्नुपर्छ भन्दै थिए । जानकीका श्रीमान् भूँइमा थुचुक्क बसे । म भने अबोध बच्चा समातेर मुनालाई भेट्न निस्किएँ ।

कोहलपुर–१२, बाँके

प्रतिक्रिया दिनुहोस