पोल्यान्डको खनिज क्षेत्र, कोइला नै जीवनको आधार « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पोल्यान्डको खनिज क्षेत्र, कोइला नै जीवनको आधार


प्रशासन संवाददाता

१६ मंसिर २०७५, आइतबार


पोल्यान्ड । ‘यो परिवारको कुरा हो । मेरो बुबा, मेरो हजुरबुबा खानीमा काम गर्थे, त्यही काम मैले पनि गरिरहेको छु,’ पोल्यान्डको दक्षिणी शहर केनुरोमा कोइला खानीमा काम गर्ने अर्काडिउज वोज्सीक बताउँछन् ।

उनी जीवनमा आइपर्ने खतरासँग जुधेर दिनहुँ खानीमा पुग्छन् । तैपनि, पोल्यान्डका कोइला खानीमा बाबुदेखि छोराहरु काममा जुटेका छन् । पश्चिमी युरोपमा कोइला खानीको पेशा ओझेलमा पर्न थालिसकेको छ, तर पोल्यान्डाको साइलेसियन कोइला क्षेत्रको चमक अझै मेटिएको छैन । बढी ज्याला र सरकारी सहयोगले कामदारलाई आकर्षिक गरिरहेको छ ।

पोल्यान्ड सरकारले समेत अर्थतन्त्रलाई स्वच्छ उर्जामा रुपान्तरण गर्नेतर्फ खासै पहल नगरेका कारण मजदूरहरुले काम पाइरहेका छन् । ब्रसेल्स, बर्लिन र पेरिसमा आजभोलि कोइला शत्रु हो । पृथ्वीको बढ्दो तापक्रमका लागि मुख्य भूमिका खेलेको दोषारोपण गरिएको कार्बन डाइअक्साइड यही कोइलाबाट सबैभन्दा बढी उत्पादन हुन्छ । तर, पोल्यान्डमा कोइला जीवनको आधार हो, र त्यसमा तत्कालै परिवर्तन हुने सम्भावना छैन ।

‘यहाँ सिलेसियामा यो एउटा परम्परा हो’ ६५० मिटर ९२१०० फिट० गहिराइमा रात्रिकालीन सिफ्टमा भर्खर काम गरेर बाहिर निस्कँदै गरेका ३६ वर्षीय वोज्सिक बताउँछन् । केनुरो कोइला खानी दिन र रात दुवै समय चल्छ । यहाँ चार सिफ्टमा काम हुन्छ । तर एउटा कुरा सबै सिफ्टमा लागू हुन्छ, त्यो हो जोखिम ।

“हो, हामी त्रसित हुन्छौं । दुर्घटनाहरु भइरहन्छन्, यो त कामको एक अभिन्न हिस्सा भइहाल्यो नि,’ खानीको लिफ्टबाट माथि निस्किएका राडोस्ला रुमिनिस्की भन्छन् । ‘तर हामी भित्र काम गर्न जाँदा यो कुरालाई दैनिक रुपमा सम्झदैनौं,’ ३७ वर्षीय रुमिनिस्कीले बताए । यसवर्ष हालसम्म पोल्यान्डमा २१ जना कोइला कामदारको मृत्यु भएको छ । गत वर्ष, १५ जनाको मृत्यु भएको थियो । सन् २०१४ मा सबैभन्दा बढी ३० जना मजदूरले ज्यान गुमाएका थिए । खतराको भरपाई गर्ने उपाय पनि छ, त्यो हो पैसा ।

‘हो, मलाई तलबले नै आकर्षित गरेको हो किनभने अरु क्षेत्रको भन्दा यहाँ तलब बढी छ,’ कोइला मजदूर कामिल गान्कोले बताए । यी ३३ वर्षीय मेसिन अपरेटरले आफूले पाइआएको तलब बताउन चाहेनन्, तर मजदूरले प्रति महिना एक हजार ६०० युरो ९१८०० डलर० सम्म कमाउन सक्छन् । यो रकम औसत पोल्यान्डको ज्याला ८१३ युरोभन्दा दोब्बर हो ।

मजदूरहरुले कम्युनिष्ट शासनकालमा व्यवस्था गरिएका विभिन्न किसिमका सुविधा पनि हालसम्म उपभोग गर्न पाएका छन् । जस्तै, हरेक वर्ष दुई महिनाको अतिरिक्त तलब । यो सुविधा हरेक वर्षको डिसेम्बर र फेब्रुअरीमा वितरण गरिन्छ ।

यस्तै, हरेक मजदूरले हरेक वर्ष आठ टन कोइला घर लैजान पाउँछन् । धेरै घरपरिवार खनिज इन्धनमा निर्भर रहेकाले यो कोइलाले उनीहरुलाई धेरै राहत पुग्ने गरेको छ । कोइला खानीमा २५ वर्ष काम गरिसकेका मजदूरले सुविधा सहित अवकाश पाउँछन् । तर कतिपयका लागि यो केही चाँडो पनि हुन सक्दछ ।

‘मेरा पतिको अवकाश पाउनु आठ महिना अघि मृत्यु भयो,’ अगाटा कोवाल्जीकले बताइन् । कोइला खानी विधवा संघ पनि उनले खोलेकी छिन् । ‘कोइला खानीका व्यवस्थापक र एकजना मनोविज्ञानवेत्ताले पतिको मृत्युको खबर मलाई दिएका थिए ।’ पतिको निधनका बाबजूद उनका छोराहरुले काम छाडेका छैनन् ।

“मेरा चार जनामध्ये दुई छोराले निरन्तर काम गरिरहेका छन् । सबैभन्दा ठूलो छोरो जमिनमुनि काम गर्दछ । ऊ रातिको सिफ्टमा काम गर्न रुचाउँछ, र यस्तो बेलामा ज्याला पनि बढी हुन्छ,’ उनी बताउँछिन् ।’यहाँ अरु काम पनि पाइन्न । यहाँ ठूला रोजगारदाता पनि छैनन् । खानी बन्द भए यी हजारौंले के काम गर्ने होला रु अहिलेलाई सिलेसियामा अरु कुनै विकल्प छैन,’ उनी थप्छिन् । राज्य नियन्त्रित जेएसडब्लु कम्पनी मातहत सञ्चालित चारवटा कोइला खानीमध्ये केनुरो एउटा हो । यो कम्पनी युरोपमै उच्च गुणस्तरको कोइला उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनी हो । यो कोइला मुख्य रुपमा स्टील उद्योगमा खपत हुन्छ ।

स्टक एक्सचेन्जमा पनि सूचीकृत जेएसडब्लुमा करिब २७ हजार कामदार छन् । पोल्यान्डामा यो नै सबैभन्दा बढी कामदार भएको कम्पनी हो । यस कम्पनीले अरु दुईवटा कोइला खानी क्षेत्रबाट उत्खनन् गर्ने सोच बनाएको छ । यहाँको कोइलाको अधिकांश हिस्सा युरोपेली बजारमा बिक्री हुन्छ । जेएसडब्लु पनि पोल्यान्डमा हुने राष्ट्रसंघीय कोप–२४ को विश्व जलवायू सम्मेलन एउटा मुख्य प्रायोजक पनि हो ।

यहाँको कोइला खानीमा युक्रेनका साथै चेक रिपब्लिक, हङ्गेरी, स्लोभाकीया र स्पेनबाट पनि मजदूरहरु कामका लागि आउने गरेका छन् । ‘युरोपेली युनियनले पोल्यान्डका खानी बन्द गर्न चाहेको छ । तर त्यसपछि के होला रु पोल्यान्डमा हावा वा सौर्य ऊर्जा छैन,’ ट्रेड युनियनमा आबद्ध काजीमिर्ज ग्राजकारेकले बताए ।

‘यी सबै मानिस कहाँ जान्छन् ? उनीहरुले कहाँ काम गर्ने हो? प्रत्येक खानी मजदूरले सेवा क्षेत्रमा चारवटा रोजगारी सिर्जना गरिरहेको छ ।’पोल्यान्डले हाल ठूलो, नयाँ कोइलायुक्त ऊर्जा उत्पादन केन्द्र बनाउँदैछ र यसलाई ठूलो परिमाणमा कोइलाको आवश्यकता पर्नेछ ।रासस/एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस