अन्तुमा पर्यटक बढेसँगै पूर्वाधार अभाव « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

अन्तुमा पर्यटक बढेसँगै पूर्वाधार अभाव


प्रशासन संवाददाता

१६ मंसिर २०७५, आइतबार


पशुपतिनगर । अन्तुमा पर्यटकको चाप बढे पनि पर्यटन पूर्वाधारको अभाव भएको छ ।

सूर्योदयको दृश्यावलोकनसँगै हरियाली चिया बगानमा रमाउन अन्तुमा दैनिक सात हजारसम्म पर्यटक पुग्ने गरेका भए पनि पूर्वाधारको अभाव भएको हो । ग्रामीण पर्यटकीयस्थलको गतिलो गन्तव्य बनेको अन्तुमा पार्किङस्थल, पदमार्ग, खानेपानी र सार्वजनिक शौचालयको अभाव रहेको छ । बिहान झिसमिसेमा सूर्योदय हेर्न जङ्गलको बाटो भएर जानुपर्ने भए पनि सडक बत्ती नहुँदा पर्यटक अलमलमा पर्ने गरेका छन् ।

स्थानीय समुदायले पर्यटन प्रवद्र्धनको काम गरेको अन्तुमा दैनिक आउने पर्यटक घरबासमा अटाउन गरेका छैनन् । परिवारका सदस्य झैँ बसेर रात कटाउन सकिने भएपछि लोभिएका त्यहाँ पुग्ने पर्यटकको चाप बढेसँगै घरबासले थाम्न नसकेका हुन । घरबासमा अटाउन छोडेपछि पर्यटक त्रिपाल टाँगेरै भए पनि रात कटाउने गरेका अन्तु पर्यटन केन्द्रका अध्यक्ष धनकुमार आलले बताए ।

बीस वर्षअघि देखि घरबासमा पर्यटकलाई स्वागत गरी पर्यटन प्रवद्र्धनमा जुटेका अन्तुवासीलाई शनिबार त्यहाँ पुग्ने पर्यटकलाई अटाउन सकेनन् । त्यहाँ ४३ घरबास र १५ वटा लजमा दुई हजार ५०० पर्यटक अटाउने क्षमता भए पनि शनिबार एकै दिन सात हजार पर्यटक पुगेपछि पर्यटन प्रवद्र्धन केन्द्रले घरबास दर्ता नभएका घर र त्रिपाल टाँगेर पर्यटकलाई बसाएको थियो ।

सूर्योदय, हरियाली चिया बगान, अन्तु पोखरीमा डुङ्गा सयर, सीमावर्ती भारतीय भू–भागको अवलोकन र कञ्चनजङ्घा हिमालको दृश्यवलोकन रहेकाले पूर्वाधार निर्माण गरिनुपर्ने झापाका राजेश लेप्चाले बताए । ‘सूर्योदयको दृश्य हेर्न राति नै अन्तुडाँडा पुग्नुपर्ने भएकाले सडक बत्ती नहुँदा समस्या भयो,’उनले भने, ‘हजारौँ पर्यटक आउने अन्तुमा सार्वजनिक शौचालय, फोहर सरसफाइ र बाक्लो शीत पर्ने भएकाले पर्यटक बस्ने टहराहरु निर्माण गर्नु जरुरी छ ।’

सडक कालोपत्र भएसँगै पर्यटकको चाप बढेकाले गाडि पार्किङस्थल नहुँदा समस्या भएको सूर्योदय नगरपालिका–१० का यातायात व्यवसायी राजन गुरुङले जानकारी दिए । त्यहाँ सानो पार्किङस्थल भए पनि नअटाएर सडक र स्थानीयवासीको घरआँगनमा गाडी पार्किङ गर्दा समस्या भएको छ । अघिल्ला वर्षमा असोज, कात्तिक, मङ्सिर, फागनु, चैत र वैशाखमा मात्रै पर्यटकको चाप हुने गरेकामा अहिले वर्षभरि नै पर्यटकको आगमन रहेको पर्यटन व्यवसायी खगराज घिमिरेले बताए ।

गतवर्ष दैनिक रुपमा ४०० सम्म पर्यटक आउने गरे पनि यो वर्ष असोज, कात्तिक र मङ्सिरमा दैनिक तीन हजारदेखि सात हजारसम्म पर्यटक आउने गरेका बताइएको छ । सूर्योदय नगरपालिका–४ र ५ मा पर्ने उक्त पर्यटकीयस्थलमा रहेको टावरमा प्रवेशका लागि नगरपालिकाले प्रतिपर्यटक रु ५० लिने गरेको छ । टावरमा सामुदायिक वनका सदस्य र घरबास सञ्चालकलाई निःशुल्क गरिएको छ । सो टावरको ५०० पर्यटक अटाउने क्षमता भए पनि पर्यटकको चाप बढेपछि धेरैजसो पर्यटक भुइँमै बसेर सूर्योदयको दृश्य हेर्ने गरेका छन् । सो स्थलमा नेपाल, भारत र भूटानका पर्यटक पुग्ने गरेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस