७ हजार सवारी साधन ट्राफिक कारबाहीमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

७ हजार सवारी साधन ट्राफिक कारबाहीमा


प्रशासन विशेष ब्युरो

१५ मंसिर २०७५, शनिबार


ट्राफिक

सुर्खेत । जिल्ला ट्राफिक कार्यालयले चालु आवको पहिलो चौमासिकमा ट्राफिक नियम उल्लङ्घन गर्ने सात हजार सवारी साधनलाई कारबाही गरेको छ ।

ट्राफिक कारबाहीमा परेका सात हजार २४२ सवारीबाट चार महिनामा प्रहरीले रु ४३ लाख ८० हजार राजश्व सङ्कलन गरेको छ । ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारीलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख वसन्त रजौरेले बताए ।

“नियम विपरीत सञ्चालन गरी ट्राफिक कारबाहीमा पर्ने सवारीमा सबैभन्दा बढी मादक पदार्थ सेवनका छन्,” प्रहरी उपरीक्षक रजौरेले भने, “ साउनमा एक हजार ४४१, भदौमा एक हजार ६९७, असोजमा एक हजार ८१४ र कात्तिकमा दुई हजार २९० सवारी कारबाहीमा परेका थिए ।” उनका अनुसार ट्राफिक कारबाही प्रक्रिया बढे पनि ट्राफिक नियम विपरीत सञ्चालन हुने सवारी सङ्ख्या घटेको छैन ।

त्यसै गरी उनले अवैध रूपमा नदीजन्य पदार्थको अवैध निकासी पैठारी गर्ने कार्यमा संलग्न २२ ट्रयाक्टर, पाँच टिपर, तीन ट्रक र एक डोजर गरी ३१ सवारी साधनलाई आवश्यक कारबाहीका लागि स्थानीय तहमा पठाइएको जनाए । त्यस्तै सात हजार ३२० लिटर कच्चा, तीन हजार ५१४ लिटर तयारी र ५१ थान उत्पादन सामग्रीसहित अवैध स्थानीय मदिरा बरामद गरिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयले जुवातासबाटै रु ११ लाख ५० हजार २८ बरामद गरेको छ । खासगरी दशैँतिहारका समयमा सुर्खेत प्रहरीले नगदका साथै ७७ जुवाडेलाई नियन्त्रणमा लिएको र ११ मुद्दा दर्ता गरेको प्रहरी उपरीक्षक रजौरेले बताए ।

उनले भने, “हामीले लागुऔषधअन्तर्गत ३१ मुद्दा दर्ता गरेका छौँ जसमा ३६।६४ ग्राम ब्राउन सुगर र ११ किलो ५०० ग्राम गाँजासहित ४८ पुरुष र चार महिलालाई नियन्त्रण लिएर कारबाही प्रक्रिया अघि बढाइएको छ ।”

त्यसै गरी प्रहरीले चोरीअन्तर्गत आठ मुद्दा दर्ता गरेर रु ३९ हजारसमेत बरामद गर्नाका साथै तीन ल्यापटप, मोबाइल, ब्याट्री, ट्रयाक्टरको इन्जिनसहित यान्त्रिक पार्टपुर्जा र धातु गरी ९२ थान जिन्सी बरामद र ११ व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार तिहार एवं विभिन्न समयमा विस्फोटक पदार्थ ९पटाका० ११ हजार २७२ थान र विस्फोटक पदार्थ दुई थान सेफ्टी फ्यूज, डेटोनेटर तीन थान, गन पाउडर १२ किलो ७५० ग्राम र भरुवा बन्दुक एक थान बरामद गरिएको छ । अर्कातर्फ १७० क्युफिट अवैध काठसमेत बरामद गरिएको छ ।

सुर्खेत प्रहरीले सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमबाट एक लाख नागरिक लाभाविन्त भएका छन् । प्रहरीले गाउँ, टोल विभिन्न बस्ती समुदायमा सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमबाट पहिलो चौमासिकसम्ममा मात्र एक लाख एक हजार नागरिक लाभान्वित भएका हुन् । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमबाट ६० हजार र सामाजिक अपराधविरुद्ध जिङ्गल प्रसारणबाट ३० हजार नागरिक लाभान्वित भएको प्रहरी उपरीक्षक रजौरेले बताए ।

त्यस्तै सवारी दुर्घटना तथा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रमबाट नौ हजार ४७५, नागरिक सुनुवाइ कायक्रमबाट एक हजार ५०० गरी कुल एक लाख एक हजार नागरिक लाभान्वित भएको उनले बताए। त्यसै गरी प्रहरीले वीरेन्द्रनगर, लेक बेँसी, भेरी गङ्गा, गुर्भाकोट, पञ्चपुरी नगरपालिका तथा बराह ताल र चौकुने गाउँपालिकामा समुदाय साझेदारीपत्रमा हस्ताक्षर कार्यक्रमसमेत सञ्चालन गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस