कार्यालय एक, प्रमुख दुई ! « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कार्यालय एक, प्रमुख दुई !


प्रशासन संवाददाता

१४ मंसिर २०७५, शुक्रबार


काठमाडौं । एक कार्यालयमा कति जनालाई निमित्त प्रमुख तोकिन्छ ? जोसुकैले पनि सहजै भन्न सक्छन्– एक । तर, जिल्ला समन्वय समितिको कार्यालय, अछाममा दुई निमित्त प्रमुख छन् ।

गत भदौमा समितिका जिल्ला समन्वय अधिकारी कपिलप्रसाद उपाध्याय सरुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई जनालाई निमित्त प्रमुखको जिम्मेवारी दिइसकेको छ ।

मन्त्रालयले गत भदौ २२ गते कार्यालयका छैटौं तहका सामाजिक सुरक्षा अधिकृत खड्कबहादुर विष्टलाई निमित्त प्रमुख तोक्यो । तर, असोज २५ गते बरिष्ठ सूचना अधिकृत पदमबहादुर माझीलाई पनि मन्त्रालयले निमित्त प्रमुखको जिम्मेवारी दियो ।

मन्त्रालयले दुई कर्मचारीलाई ‘निमित्त प्रमुख’को जिम्मेवारी दिएपछि कर्मचारीमा अन्योल बढेको छ । अहिले दुई वटै ‘निमित्त प्रमुख’ले कार्यालय प्रमुखको हैसियतमा काम गरिरहेका छन् ।

दुई ‘निमित्त प्रमुख’ भएपछि कामकाज असहज बनेको र आर्थिक कारोवार ठप्प बनेको कर्मचारी बताउँछन् ।

कार्यालयमा सबैभन्दा सिनियर कर्मचारी भएकाले ‘निमित्त प्रमुख’ आफू नै भएको माझीको दाबी छ ।

तर, विष्ट पनि आफू नै ‘निमित्त प्रमुख’ भएको दाबी गर्छन् । जिल्ला समन्वय समितिले पनि आफूलाई नै सिफारिस गरेको र मन्त्रालयले पनि पत्रमार्फत् निमित्त प्रमुखको जिम्मेवारी दिइसकेको उनको भनाइ छ ।

हेर्नुस् पत्र

समिति उपप्रमुख टोपबहादुर रावल मन्त्रालयले दुई कर्मचारीलाई ‘निमित्त प्रमुख’को जिम्मेवारी दिनु गम्भीर गल्ती भएको बताउँछन् । ‘यसले कार्यालयमा असहज स्थिति बनेको छ,’ उनी भन्छन् ।

यसबारे मन्त्रालयले गल्ती भएको स्वीकारेको उनले बताए । ‘यो गल्ती भएकै हो, सुर्धाछौं,’ मन्त्रालयका कर्मचारीको भनाइ उध्दृत गर्दै उनले भने ।
उनले यो समस्या समाधान गर्न मन्त्रालयसँग माग गरेका छन् ।

यस विषयमा मन्त्रालयसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस