पर्यापर्यटन प्रवर्द्धनमा निकुञ्जको सहयोग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पर्यापर्यटन प्रवर्द्धनमा निकुञ्जको सहयोग


प्रशासन संवाददाता

१३ मंसिर २०७५, बिहिबार


बेत्रावती । वन क्षेत्रको संरक्षण गरी पर्यापर्यटन प्रवर्द्धन गर्न लाङटाङ राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रअन्तर्गत नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीका बासिन्दालाई सहयोग सामग्री उपलब्ध गराएको छ ।

सो क्षेत्रका १४ समूहलाई ग्यास सिलिण्डरसहितको चुलो, पानी शुद्धीकरण गर्ने उपकरण र विद्यालयमा फोहर सङ्कलन गर्ने सामग्री निकुञ्जले हस्तान्तरण गरेको हो । इन्द्रेणी मध्यवर्ती क्षेत्र उपभोक्ता समूहमार्फत निकुञ्जले चौध समूहमा आबद्ध रहेका स्थानीय समुदायलाई सामाजिक कार्यमा प्रयोग गर्ने गरी ३२ थान ग्यास चुलो र ३६ थान ग्यास सिलिण्डर उपलब्ध गराएको छ ।

ती सामग्री लाभान्वित वर्गलाई हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले वन क्षेत्रको संरक्षण गरेर पर्यावरण सफा बनाउन आग्रह गरे । ‘पराम्परादेखि प्रयोग गर्दै आएका वन क्षेत्रको उपभोगलाई समय अनुकूल संरक्षण र पर्यावरणलाई असर नपुग्ने गरी आधुनिक सामग्री उपभोग गरेर हरियाली कायम राख्नुपर्छ ।’ तामाङले भने, ‘गाउँमा भोज लगाउँदा चाहिने दाउराको लागि रुख काट्नुपर्ने बाध्यतालाई अन्त्य गर्नतर्फ लाग्नुपर्छ ।’

निकुञ्जले वडा नं १ का दश विद्यालयलाई एक–एक थान फोहर सङ्कलन गर्ने सामग्री उपलब्ध गराएको छ । विद्यालयमा उत्पादन हुने फोहर नष्ट हुने र नहुने वर्गीकरण गर्दै त्यसको विसर्जन गर्दा वातावरणलाई असर पुग्नबाट जोगाउन ती भाँडो प्रयोगमा ल्याउने इन्द्रेणी मध्यवर्ती क्षेत्र उपभोक्ता समूहका अध्यक्ष नरेश तामाङले बताए ।

सो अवसरमा निकुञ्जभित्र पर्यटकले भ्रमणको क्रममा बोतलको पानी लगेर पर्यावरण बिगार्ने क्रम बढेकाले न्यूनीकरण गर्न रु ५ लाख मूल्य पर्ने पानी शुद्धीकरण गर्ने उपकरण हस्तान्तरण गरिएको छ । उक्त उपकरण समुदायले सञ्चालन गर्दै आएको घरवासले प्रयोग गर्ने गरी दिइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस