महले बजार नपाएपछि…. « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महले बजार नपाएपछि….


१२ मंसिर २०७५, बुधबार


दार्चुला । दार्चुलामा पछिल्लो समय मौरीपालन व्यवसाय फस्टाउँदै गएको बेला मौरीपालक किसानले भने बजार अभाव हुन थालेको गुनासो गरेका छन् । जिल्लाका लेकम, मालिकार्जुन, मार्मा र ब्यास गाउँपालिकामा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ ।

उत्पादन भएका मौरी घार तथा मह बिक्रीको लागि बजार अभाव भएको व्यावसायिक मौरीपालक कृषक लेकम– १ का गणेशसिंह कार्कीले बताए। “सडक सञ्जाल पुगेको छैन्, गाउँबाट आफै मह बोकेर डुल्नुपर्ने अवस्था आएको छ ।” गाउँ/गाउँमा मह खोज्छन् तर घरमै आएर किन्नको लागि बाटो छैन् । अहिले मह र मौरी बिक्री गर्न दार्चुलामा मात्र नभएर बैतडीसम्म पुग्नुपर्ने अवस्था छ । कृषक कार्कीले भने, “घरमा मौरी स्याहार गर्ने कि उत्पादित मह बिक्री वितरण गर्ने समस्या भएको छ ।”

घरमा ठाउँ नभएकाले खेतभरी ७५ माहुरी घार छन् । बिहानदेखि बेलुकीसम्म दैनिकी मौरीको स्याहार गर्नमै बित्छ । हालसम्म दुई क्वीन्टल मह बिक्री भयो कार्कीले भने, “अझै मह बिक्री गर्न बाँकी छ, बजार नहुँदा समयमै मह बिक्री गर्न सकिँदैन ।

गाउँमै मह अहिले रु ८०० देखि ८५० प्रतिकिलो बिक्री हुने गर्छ । मौरीबाटै वार्षिक रु १० लाखसम्म आम्दानी हुने गरेको कार्कीले बताए । बजारको समस्याले मौरीपालन व्यवसायमा समस्या भइरहेको अर्का व्यवसायी मालिकार्जुन– १ का गौरसिंह बोहराले बताए ।

विगतमा गैरसरकारी सङ्घ संस्थाले मौरीको घार र मौरी खरीद गर्थे । अहिले त्यस्ता संस्थाबाट पनि माग आउन छाडेको छ । घरमै वार्षिक ५०/६० घार मात्रै बिक्री हुन्छ । अरुण आधुनिक माहुरी घार उद्योग दर्ता गरेर उनले अहिले ८२ घार मौरीपालन गरेका छन् । त्यसबाट आम्दानी भए पनि बजार नहुँदा समस्या भइरहेको उनले दुखेसो गरे । “सबैले मौरीपालन थालेका छन्, सीमा क्षेत्रकाले अहिले भारतीय बजारमा गएर मह बिक्री गर्नुपर्ने बाध्यता आएको छ”, बोहराको भनाइ छ ।

मार्मा गाउँपालिका–६ का मौरी व्यवसायी नारद महरा मह बिक्रीको लागि मार्मा बजार मात्रै भएको बताउँछन् । “सानो बजार छ, बाह्य क्षेत्रमा ढुवानी गर्न सके महको मूल्य पाइने थियो”, उनले भने ।

मार्माकै हरकसिंह सितोली मौरीपालन व्यवसाय शुरु गर्ने तयारी रहेको सुनाउँछन् । “मसँग अहिले १० घार माहुरी छन्, एक महीनाभित्र १५ घार थप गर्ने तयारीमा छु ”, उनको भनाइ थियो । स्थानीय सरकारले सहयोग गरे व्यवसायको रुपमा दर्ता गरेर जाने उनको भनाइ थियो ।

घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाका अनुसार अहिले जिल्लाभरी १२ मौरी उद्योग दर्ता भएका छन् । यो बाहेक अधिकांश कृषकले मौरी व्यवसायको रुपमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेका छन् । व्यवसायबाट राम्रो रोजगारी र आम्दानी हुन थालेपछि किसान व्यावसायिक रुपमै यसतर्फ लागेका वरिष्ठ उद्योग अधिकृत पदम ठकुराठीले बताए । उनले भने, “स्थानीय सरकारले तालीम प्रवर्द्धनको साथै बजारीकरणमा ध्यान दिन सके दार्चुलाको महले राम्रो बजार पाउन सक्नेछ ।”

हजारौं टन जिल्लामै मह उत्पादन हुन्छ, उद्योग अधिकृत ठकुराठीले भने, “सानातिना व्यवसाय दर्ता भएका छैनन । उनीहरुको लागि मह बिक्री गर्ने बजार भए अझै यो व्यवसाय जिल्लामा फस्टाउँछ ।” मौरीको लागि चाहिने फूल तथा मौसम दार्चुलामा राम्रो रहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस