डोटी । बिहीबार डडेलधुराको अमरगढी नगरपालिका-११, रडुवामा भएको से १ क २९३ नं. को बस दुर्घटनामा परी ज्यान गुमाउने नगरवासीका परिवारलाई जनही ३० हजार रुपैयाँ दिने शिखर नगरपालिकाले निर्णय गरेको छ ।
नगरकार्यपालिकाको शनिवार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले उक्त घटनामा परी घाइते भएका शिखर नगरपालिकावासीहरूको उपचारमा सहयोग पु-याउन जनही १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
यसैगरी मृतकप्रति शोक व्यक्त गर्न आइतबार नगरपालिका भित्र रहेका सम्पूर्ण सरकारी एवं गैरसरकारी संस्थाका कार्यालयहरू बन्द गर्ने निर्णय समेत बैठकले गरेको शिखर नगरपालिकाका प्रेस सल्लाहकार योगेन्द्र बलायरले जानकारी दिए । घाइतेहरूको अवस्था हेरी केही सहयोग रकममा थपघट गर्न सकिने गरी छलफल भएकोसमेत उनले बताए ।
उक्त घटनामा परी शिखर नगरपालिका–८ का कैलाश रावल, योगेन्द्र रावल र शारदा राउत, वडा नं. १० का रोहित बलायर र सागर बलायर र वडा नं. ११ का शंकर जोरा, गंगा भाट (जोरा), योगेन्द्र बोहरा र पदम विकको मृत्यु भएको थियो भने १० जना घाइते भएका छन् ।