अल्छे संस्कृति र ‘लास्ट आवर’ प्रवृत्ति « प्रशासन
Logo ४ आश्विन २०७८, सोमबार
   

अल्छे संस्कृति र ‘लास्ट आवर’ प्रवृत्ति


गोकर्णप्रसाद उपाध्याय

८ मंसिर २०७५, शनिबार


अल्छे संस्कृति र ‘लास्ट आवर’ प्रवृत्ति

भन्न त भन्छौं, “समय बलवान छ ।” अनि गर्छौ, त्यही समयको अपमान ।

एकबारको जुनीमा एक पटक हो र ? पटक पटक ।

समय देखाउने घडी किन्छौँ र हातमा पहिरिन्छौँ । घडीको ख्याल हुन्छ तर समयको हुन्न ।

गोजीको मोबाइलले हरक्षण समय देखाइरहन्छ । मोबाइलको अति माया लाग्छ तर समयको लाग्दैन ।

खालखालका अनि तालतालका अल्छे छौँ हामी । हेल्चेक्रयाइँ पनि उस्तै । नेपालीलाई वीर उपमाले चिनिन्थ्यो, अल्छे भनेर थपिदिँदा फरक पर्दैन होला । अल्छेपन चाहिँ यही १,४७,१८१ वर्ग किलोमिटरको भूगोलभित्र मात्र । प्लेन चढेर विदेशियो कि अल्छेपन गायब । हेल्चेक्रयाइँ हजम । अनि लापरबाहीपना लोप । हामी अल्छी र लापरबाही भन्ने केही प्रमाण जुटाएको छु । पढ्नुहोला अनि विचार गर्नुहोला ।

अल्छे त बच्चैदेखि भन्या ।

केटाकेटीलाई पढ्, पढ्, पढ् नभनेसम्म पानो पल्टाउने हैन ।

जाँच नभएसम्म, डरले दिमागको घण्टी नबजाएसम्म पढ्ने नामै लिँदैनन्, अल्छेहरु ।

स्कुलमा ढिलो पुगेर मास्टरको दनक भेट्ने र चौरमा कुखुरा बन्नेहरूको सूची बनाए लामै बन्ला । सरकारी क्याम्पसमा समयमै कक्षा कुल्चिने दश प्रतिशत पनि नहोलान् । कक्षाको के मतलब ? अन्तिम परीक्षामै समेत ५–१० मिनेट ढिलै पुग्ने बानी परेका मेरै थुप्रै साथीगण छन् । क्याम्पसको परीक्षा हैन, करिअर बनाउने लोक सेवा आयोगको परीक्षामा समेत ढिलो पुग्ने नमुना प्रत्याशीहरु पनि भेटिने गर्छन् खोज्ने हो भने ।

लोक सेवा आयोगले त उत्तीर्ण भए जागिरै दिन्छ तर त्यही आयोगले लिने विभिन्न परीक्षाको फाराम भर्न अन्तिम मितिमा लाइन बस्न जाने प्रवृत्तिले एक्काइसौँ दिनमा खुट्टा टेक्ने ठाउँ हुँदैन आयोगका कार्यालयहरूमा । भीडको लम्बाइ छिचोल्नु भन्दा भोलिपल्ट फेलै हुन ‘दोब्बर दस्तुर’ तिर्ने पनि भेटिन्छन् । पास हुनेले त बेलैमा भरिसकेका हुन्छन् ।

यतिसम्म अल्छी र हेल्चेक्रयाइँ कि प्लेनको टिकट काट्यो । एअरपोर्टमा एक घण्टा अगाडि पुग्नुपर्ने सूचना जग जाहेरै छ । गजबको कुरा के भने एकाध होलान् तोकिएकै समयमा पुग्ने, बाँकी अहँ । कामको व्यस्तताले होइन, बानी नै ‘लास्ट आवर’ मा गर्ने परेर । अन्तिम आधा घण्टामा एयरपोर्ट छिर्नेको सङ्ख्या अत्यधिक हुन्छ, म आफै पनि त्यसमै पर्छु, तर प्लेन चाहिँ अहिलेसम्म छुटेको छैन । यद्यपि यस्तै हेल्चेक्रयाइँका कारण प्लेन छुटेर झोक्राउदै प्लेनसँगै आफ्नो टिकटको पैसा उडेको हेरेर बस्नेहरू पनि देखेको छु ।

एकाबिहानै अलार्म नबज्ने घर एकाध होलान् सहरमा । त्यसमा पनि विद्यार्थी र अलार्मको साइनो पुरानै हो । अलार्मको आविष्कारै विद्यार्थी लक्षित भएर गरेको हुनुपर्छ । अलार्म यति बज्छ कि पल्लो कोठा वा फ्ल्याटको मान्छे उठीवरी नित्य कर्म सकेर दश पटक सरापी सक्छ, अलार्म लगाउनेलाई वास्तै हुन्न । अलार्म बजेन भने कतिपय सुत्नै सक्दैनन् । कतिपय अलार्म लाउनेहरू भन्छन् “सबैभन्दा गहिरो निन्द्रा त अलार्म सेट गरेर सुतेको दिन लाग्छ । अनि बज्ने बेला चाहिँ सबैभन्दा मिठो निन्द्रा ।”

ट्राफिक जाम हुन्छ । बाटोमा साथीभाइ, आफन्त भेटिएर केही समय बित्छ, थाहा छ । तर पनि एक मिनेटको ‘ग्याप’ नराखी घरबाट निस्किएर कार्यालय पुग्नुपर्ने समय स्वघोषणा गर्दै ढिलो गरी जागिर खान सरकारी कार्यालय छिर्नेहरूको लर्को पनि लामै हुन्छ । कार्यालयमा १० बजे पुग्ने र पाँच बजेमात्र हिँड्नेलाई छानी छानी पुरस्कार दिए हुन्छ । नत्र भने कानुनमै कतै नलेखिएको सवा दशसम्म घडीको सुई तन्किन्छ । समयमा जति छुट दिइयो त्यति नै थप छुटको माग हुन्छ । अनि पाँच बजेसम्म अफिस हुन्छ तर त्यतिन्जेल घर पुगिसक्ने कर्मचारी पनि छन् यही ‘तन्त्र’मा । कर्मचारीको मानसिकता र कार्यशैली हेर्दा यस्तो लाग्छ १० बजे घरबाट हिँड्ने अनि ५ बजे घर पुगिसक्ने गरी नै एक शताब्दी पहिल्यै देवशमशेरले कार्यालय समय तोकिदिएका हुन् ।

कुनै औपचारिक कार्यक्रम समयमै सञ्चालन भएको पाए देश सुध्रिएछ भन्दा हुन्छ । सिधै ठुलो धनराशिको पुरस्कारै दिए पनि फरक पर्दैन आयोजक र अतिथिलाई । यहाँ त कार्यक्रमको सुरुआतमै भनिन्छ “हामी निर्धारित समयभन्दा केही ढिलो भइसकेका छौँ ।”  रेडियो, एफएममा प्रत्यक्ष प्रसारण हुने कार्यक्रमहरू समेत समयमै नभएको पाउँछु । यहाँसम्म कि राष्ट्रिय टेलिभिजनका लाइभ कार्यक्रमहरू पनि । खैर, त्यो त प्राविधिक कुरा पनि होला ।

अहिले त इ-सेवा, खल्ती, आइपे जस्ता पेमेन्ट गेटवेले सजिलो बनाइसके, धेरैले घरबाटै तिर्न थालिसके । पहिले, पहिले टेलिफोन, बिजुली, खानेपानी आदिको बिल तिर्न कार्यालयमा जानेहरूमध्ये छुट पाउनेभन्दा जरिवाना तिर्नेकै सङ्ख्या बढी हुन्थ्यो । समयभन्दा पहिल्यै तिर्ने बानी बसोस् भनेर छुट दिइने गरिन्छ । छुट व्यवस्थाबारे सबैलाई जानकारी हुन्छ तर समय अगावै तिर्ने निकै कम । सबैलाई अल्छी संस्कारले गाँजेको ।

दसैँ तिहारमा घर जाँदा अग्रिम टिकट बैङ्किङ खुले पनि “ह्या, छोड्दे, बिस्तारै काटौँला ।” भन्नेहरूले अन्तिममा अप्ठेरो गरी घर पुगेर जमरा थाप्दै अग्रजबाट आशिष् लिए पनि यातायात कम्पनी र सरकारलाई सराप्नु सराप्छन् ।

आम नेपालीमा अल्छीको आदत, हेल्चेक्रयाइँको हिम्मत र लापरबाहीको लहड देख्दा ताजुप लाग्छ । हामीले अल्छी संस्कृति र ‘लास्ट आवर’ प्रवृत्तिलाई बढावा दिइरहेको आभास हुन्छ । साँच्चै भन्ने हो भने अधिकांश हामीले समयमै गर्ने खाना खाने काममात्र होला अनि समयभन्दा चाँडै गर्ने तलब खाने काम । अनि सधैँ खाइरहने चाहिँ यो गर्छु, त्यो गर्छु भन्दै, झुट्ठा कसम । त्यही भएर रामकृष्ण ढकालले गीतै गाए “यी त सब भन्ने कुरा न हुन् ।”

प्रतिक्रिया दिनुहोस