नुवाकोटको भ्यूटावर एवं ‘हरियाली पार्क’ निर्माण अधुरै « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

नुवाकोटको भ्यूटावर एवं ‘हरियाली पार्क’ निर्माण अधुरै


प्रशासन संवाददाता

५ मंसिर २०७५, बुधबार


बेत्रावती । नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलस्थित कालिकाकोटमा भ्यूटावर एवं ‘हरियाली पार्क’ निर्माण कार्य अधुरै रहेको छ ।

स्थानीयवासीले रकम हिनामिना गरेको आरोप लगाएपछि आर्थिक वर्ष २०६८/६९ मा निर्माण थालिएको सो कार्य हालसम्म बन्द छ । नुवाकोटको नामाकरण गरिएका नौ कोटमध्ये १ नं कालिकाकोटमा निर्माण शुरु गरिएको ३३ फिट अग्लो भ्यूटावर बनाउन छुट्याएको रकमबारे नगरपालिका, उपभोक्ता समिति र निर्माण व्यवसायीबीच विवाद भएको हो ।

हालसम्म सो बारेमा सम्झौता हुन नसकेको विदुर नगरपालिका–२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले बताए । तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको जगेडाकोष र उपभोक्ताको साझेदारी अनुसार भ्यूटावर निर्माण थालिए पनि तीनै पक्षबीच सहमति नजुट्दा काम रोकिएको हो । कोषको जनसहभागितामा आधारित बजेट कार्यक्रममार्फत नगरपालिकाले रु २१ लाख ७५ हजार र उपभोक्ता समितिले रु ८ लाख रकम थप गरी निर्माण थालिएको थियो ।

सो कार्यका लागि उपभोक्ता समितिमा स्थानीय समाजसेवी रामकृष्ण बानियाँ र निर्माण व्यवसायी सूर्यगढी गाउँपालिका–१ लच्याङका बुद्ध तामाङ रहेका थिए । उपभोक्ता समिति र निर्माण व्यवसायीले तोकिएको रकम खर्च भएको दाबी गरे पनि नगरपालिकाले टावर निर्माणको काम पारदर्शी ढङ्गले नगरेको भन्दै रु १० लाख ४० हजार मात्र निकासा गरेको थियो । बाँकी रकम अझैसम्म भुक्तानी गरिएको छैन ।

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले निर्माणको क्रममा व्यवसायीको टावरको संरचना बिगारेको र गुणस्तरीय सामग्री प्रयोग नगरेको उजुरी आएपछि रकम निकासा रोकेको जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस