चालक सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चालक सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य


प्रशासन विशेष ब्युरो

१ मंसिर २०७५, शनिबार


माइक्रोबस

काठमाडौं । उपत्यकामा सञ्चालित माइक्रोबसका चालक र सहचालकले शनिबारदेखि चम्किलो फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने छ।

शनिबार राजधानीको सुन्धारामा आयोजित एक कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार पन्तले माइक्रोबसका चालक र सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट वितरण गरी यस अभियानको सुरुवात गरेसँगै उक्त नयाँ व्यवस्था लागु भएको हो ।

चालकका लागि सुन्तला रङको र सहचालकलाई हरियो रङको ज्याकेट लगाउनु पर्ने छ । उक्त अभियानबारे जनचेतना जगाउन एक सातासम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने र त्यसपछि नलगाउनेलाई कारबाही गरिने वरिष्ठ प्रहरी उपरीक्षक पन्तले बताए।

कार्यक्रममा बोल्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पहिचान सहितको ज्याकेटको व्यवस्थाले एक रुपता ल्याउनुको साथै सेवाग्राहीको सुरक्षा गर्ने तथा अनुशासितसमेत बनाउने बताए।

यसअघि ट्याक्सी चालकका लागि अनिवार्य गरिएको फ्लोरेसेन्ट ज्याकेट प्रभावकारी बन्दै गएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस