बुटवल र आसपासका क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न साझा योजनाको खाँचो « प्रशासन
prasaLogo
२६ कार्तिक २०७५, सोमबार

बुटवल र आसपासका क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न साझा योजनाको खाँचो


प्रकाशित मिति : 12 November, 2018 4:29 pm

बटौली । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यहाँबाट प्रवेश गर्ने पर्यटकहरुको पहिलो गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हुने पक्का छ ।

लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रवर्द्धन योजना – २०७२ ले प्रक्षेपण गरेअनुसार सन् २०२५ सम्ममा लुम्बिनी आउने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुग्नेछ । करीब ३० लाख आन्तरिक पर्यटकले लुम्बिनी घुम्नेछन् । त्यसरी आउनेमध्ये विदेशी ६० प्रतिशत र नेपाली ४० प्रतिशत आध्यात्मिक पर्यटक हुनेछन् । ती आध्यात्मिक पर्यटकहरुले कपिलवस्तु, देवदह र तिलौराकोट घुम्नेछन् । ती पर्यटकहरुलाई बुटवल, भैरहवा, पाल्पालगायतका क्षेत्रसँग खास चासो हुने छैन तर, धार्मिक बाहेकका विदेशी चार लाख र स्वदेशी १२ लाख पर्यटकलाई लुम्बिनी बाहेकका अरु क्षेत्रसँग पनि चासो हुनेछ ।

पर्यटन तथा संस्कृतिविद् गितु गिरी भन्छन् – ‘सरकारको सन् २०२५ सम्मको लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रवर्द्धन योजनालाई पछ्याउँदै आन्तरिक पर्यटन योजना निर्माण गर्नसक्ने हो भने बुटवलको पर्यटनले पनि फड्को मार्नेछ ।’ तत्कालका लागि पर्यटकीय नगरीको रुपमा विकास गर्न नसकिए पनि बुटवललाई आगामी ५ वर्ष पर्यटन विश्रामस्थल र त्यसपछि आकर्षक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने यथेष्ट सम्भावनालाई विज्ञहरुले औँल्याउँदै आएका छन् । ‘

बुटवल घुम्न आउने पर्यटकहरुको आधिकारिक तथ्याङ्क प्राप्त छैन । अनौपचारिक तथ्याङ्क अनुसार प्रतिदिन घुम्न मात्रै बुटवल आउने विदेशी पर्यटकको सङ्ख्या एकसय भन्दा बढी छैन तर, वार्षिक ४० हजार भन्दा बढी भारतीय पर्यटकले अहिले बुटवलको फूलबारी र सिद्धबाबा भ्रमण गर्न थालेका छन् । वार्षिक करीब आठ लाख आन्तरिक पर्यटकले फूलबारी घुम्ने गरेको मणिमुकुन्द सेन उद्यानका व्यवस्थापक विक्रम बस्यालले जानकारी दिए ।

अर्को महत्वपूर्ण तथ्य के हो भने वार्षिक पाँच लाख भारतीय पर्यटक वेलहिया नाका हुँदै घुम्न नेपाल प्रवेश गर्छन् । तिनीहरुमध्ये करीब दुई लाख पर्यटकहरु बुटवल हुँदै पोखरा घुम्न निस्किन्छन् । यो तथ्याङ्क वार्षिक १० प्रतिशतका दरले बढिरहेको होटल एशोसिएशन पोखराले बताएको छ । यसरी घुम्ने भारतीय पर्यटकहरुले पोखरामा तीन दिनसम्म बिताउने गरेका छन् । कतिपय मुक्तिनाथसम्म जाने पर्यटकले पाँच दिनसम्म पोखरामा बिताउने गरेका छन् ।

लुम्बिनी आउने २० प्रतिशत भारतीय पर्यटकले मात्रै एक रात बिताउने गरेको होटल एशोसिएशन लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठ बताउछन् ।  उनका अनुसार लुम्बिनी आउने बाँकी भारतीय त्यसै दिन फर्किन्छन् । बुटवल घुम्ने अधिकाँश भारतीयहरु पनि यहाँ रात बिताउँदैनन् । यद्यपि, नेपाल घुम्ने र रात बिताउने भारतीय पर्यटकहरुको सङ्ख्या अपत्यारिलो ढङ्गले बढिरहेको छ ।

बुटवल हुँदै पाल्पा, पोखरा जाने, बुटवलको फूलवारी र सिद्धवाबा घुम्ने तथा लुम्बिनी आउने पर्यटकहरुलाई बुटवल घुमाउने र कम्तीमा एक रात मात्रै बास बसाउन सक्ने हो भने यहाँको पर्यटनले राम्रै गति लिनसक्ने ठानिएको छ ।  भारतीय पर्यटकहरु आउन थालेपछि विदेशी पर्यटक पनि बुटवलसम्म आउने सम्भावना बढ्छ ।

नजीकै लुम्बिनी रहेकाले लुम्बिनी आउने पर्यटकलाई बुटवलसम्म ल्याउन यहाँका ब्यवसायीहरुले अनेक प्रयत्न गरिरहेका छन् तर, पूर्वाधारहरुको अभावका कारण यहाँको पर्यटन फस्टाउन नसकेको विज्ञहरुले बताउने गरेका छन् ।  लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रवर्द्धन योजना निर्माण समिति २०१७ का संयोजक पर्यटनविद् रामचन्द्र सेढाईंका अनुसार र्भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न भए सन् २०२५ सम्म लुम्बिनी घुम्ने विदेशी र भारतीय पर्यटक तथा स्वदेशी पर्यटकहरुलाई बुटवल र आसपासका पर्यटकीय क्षेत्र घुमाउन यहाँका नगरपालिकाहरुले तत्काल आवश्यक योजनाहरु निर्माण गर्न जरुरी छ ।

त्यसका लागि बुटवल, तिलोत्तमा, सैनामैना र पाल्पाको तिनाउ गाउँपालिकाले संयुक्त पर्यटन योजना निर्माण गर्न सके अझ राम्रो हुने विज्ञहरु औंल्याउँछन् । बुटवल र यहाँको पर्यटकीय सम्भावनालाइ हेरेर लुम्बिनी क्षेत्र पर्यटन प्रवर्द्धन विकास योजनाले विभिन्न योजना अघि सारिसकेको छ । अहिलेको बुटवल बजार विगतमा खस्यौलीको नामबाट चिनिन्थ्यो । बटौली तिनाउ नदीपारिको ग्रामीण वस्ती हो ।

भइरहेका सम्पदाहरुको प्रचार गर्दै निर्माण गर्नुपर्ने आवश्यक पर्यटकीय पूर्वाधारहरुको विकासमा लाग्नुपर्ने सुझाव लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रवर्द्धन योजनाले दिएको छ । त्यसका लागि चारवटै नगरपालिकाहरुमा सुविधासम्पन्न होटल र साँस्कृतिक गतिविधिहरु बढाउनुपर्ने सुझाव पनि त्यसले दिएको छ । पर्यटनविद्हरुका अनुसार यहाँ पर्यटन प्रवर्द्धन गर्न सम्बन्धित पर्यटकीय स्थलले सात वटा महत्वपूर्ण काममा ध्यान दिनुपर्छ ।

उत्पादन, पहुँच (बाटोघाटो), खानेबस्ने व्यवस्था, बजार, मानव संसाधन विकास, स्थानीय पूर्वाधार विकास तथा सम्पदा र वातावरणको संरक्षण । यसको अर्थ पर्यटकहरुले चिनोको रुपमा किनमेल गर्ने स्थानीय आकर्षक सामग्रीहरुको उत्पादन, पर्यटकीय क्षेत्रसम्म सहजै पुग्न सक्ने सडक, हेर्ने घुम्ने र तस्वीर खिच्ने आकर्षक प्राकृतिक दृश्य हुनुपर्छ ।

सम्पदा, खानेबस्ने, किनमेल गर्ने, मनोरञ्जन गर्ने र आफैं सहभागी भएर सिक्ने खालका कार्यक्रमहरु र पर्यटकहरुलाई पथ प्रदर्शन गर्ने, पर्यटनमैत्री ब्यवहार गर्ने, पर्यटकीय स्थल तथा आफ्नो ठाउँका बारेमा सूचना राख्नसक्ने पर्यटनकर्मी वा व्यवसायीहरुको उपलब्धता पनि जरुरी हुन्छ ।  पूर्वाधार विकासका दृष्टिले मुलुककै नमूना शहरको रुपमा परिचित हुँदै गइरहेको बुटवलले आसपासका नगरपालिकाहरुलाई समेत समेटेर यहाँको पर्यटकीय विकास गर्न सकिने सम्भावना प्रशस्त छ ।

त्यसका लागि कम्तीमा पाल्पाको तिनाउ गाउँपालिका र रुपन्देहीका तिलोत्तमा र सैनामैनासँग सहकार्य गर्नुपर्ने पर्यटनविद् सेढाईंको सुझाव छ । विज्ञहरुले यहाँको पर्यटनलाई पाँच भागमा विभाजन गरेर प्रवर्द्धन गर्न सुझाएका छन् ।

आध्यात्मिक तथा शान्ति पर्यटन

आध्यात्मिक गतिविधिका लागि मात्रै पनि बुटवल र आसपासका क्षेत्रहरु सम्भावनायुक्त छन् । सैनामैनाको बोलबमधाम, बुटवल र पाल्पाको सिमानामा रहेको सिद्धबाबा धाम, शंकरनगरको आनन्द विहार, नुवाकोटको भैरवनाथ मन्दिर, नयाँगाउँको मुक्तिनाथधाम लगायतका स्थानहरुलाई आध्यात्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । यी क्षेत्रमा विभिन्न अवसरहरु पारेर पूजा अर्चनाका कार्यक्रमहरु बढाउन सकिए ठूलो सङ्ख्यामा स्वदेशी तथा भारतीय पर्यटकहरु भित्र्याउन सकिन्छ ।

सम्पदामा आधारित पर्यटन

बुद्धको मावली देवदह, मणिमुकुन्द सेनको दरबार, जितगढी किल्ला, नुवाकोटगढी किल्ला, नुवाकोटको भैरव मन्दिर, सैनामैनाका प्राचीन सम्पदाहरु, देवदहका पुरातात्विक सम्पदाहरु, पहाडी जिल्लाबाट ५० वर्ष अघिसम्म नून ढुवानी गर्ने गोरेटोे सडक, ढाक्रेहरुले भारी बिसाउने छहारी, चौपारी पर्यटन आकर्षण गर्ने सम्पदाहरु हुन् ।

छिमेकी तिलोत्तमा र शंकरनगर नगरपालिकाले शुरु गरेका घरबास (होम स्टे), पाल्पाको सुकेताल होमस्टे, मगर, गुरुङ, थारु, यादव, ब्राम्हण, क्षेत्रीका संस्कृतिहरु विभिन्न शैलीबाट देखाउन सकिन्छ ।

प्राकृतिक र साहसिक पर्यटन

बुटवल–वेलबास–नुवाकोट हुँदै दोभान झर्ने  ट्रेकिङ रुट, फूलबारीबाट नुवाकोट जाने ऐतिहासिक सडकको ट्रेकिङ रुट मात्रेै होइन बुटवलबाट दोभान हँंदै बसन्तपुरसम्मको ट्रेकिङ रुट झन् रमाइलो हुनसक्छ । तिनाउमा बन्जि जम्प, दोभान क्षेत्रमा साइकल राइडिङ, चरचरेको भिरमा रक क्लाइम्बिङ, पाल्पाको बैकुण्ठे छहरामा क्यानोइङ, नुवाकोट र वसन्तपुरबाट प्याराग्लाइडिङ, वुटवल– नुवाकोट, बुटवल–वसन्तपुरमा केवलकार सञ्चालन, तिनाउ र रोहिणी नदीमा जलाशय निर्माण गरेर जल पर्यटन गराउन सकिन्छ ।

खेलकूद तथा बजार पर्यटन

पाल्पा, भैरहवा र बुटवलका विभिन्न स्थानमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका भलिबल, फुटबल र क्रिकेट मैदानहरु निर्माण गर्ने, बुटवल–भैरहवाका सडकमा ब्यवस्थित २४ सै घण्टा खुल्ने वजार विस्तार गर्ने, स्थानीय तथा वाह्य उत्पादनहरु बिक्री गर्ने काम हुन सके लुम्बिनी आउने विदेशी र भारतीय पर्यटकहरुलाई किनमेल गर्ने महत्वपूर्ण क्षेत्रको रुपमा यस ठाउँलाई विकास गर्न सकिन्छ ।

कृषि पर्यटन

कृषिसम्बन्धी अध्ययन र अनुसन्धानका नाममा अहिले देशैभरि कृषक समूह र सहकारीहरुको भ्रमण हुन थालेका छन् । बुटवल र आसपासका क्षेत्रमा रहेका कृषि फार्म तथा कृषि क्षेत्रको अवलोकन भ्रमण गराउन र बुटवलमा बास बसाउन सकिन्छ । सूर्यपुराको ब्यावसायिक कृषि, छपियाको माछापालन, टिकुलीगढमा रहेको नमूना गाई फार्म, मधवलियास्थित अष्ट्रिच फार्म, मुर्गियास्थित बट्टाइ चरापालन फार्म, देवदहको सरनटाँडीस्थित अर्गानिक कृषि उत्पादन, दोभान र झुम्साका विभिन्न कृषि उत्पादनहरु देखाउन सकिने सम्भावना रहेको कृषि विज्ञहरुले औँल्याउने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस