जनकपुर । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ को सरकारले ल्याएको प्रहरी ऐनबारे मुख खोलेका छन् ।
संघीय ऐन आउनुअघि प्रदेश प्रहरी ऐन ल्याएर मुलुकमा दुर्घटनाको निम्तो गरेको बताउँदै अध्यक्ष दाहालले भने, ‘मुख्यमन्त्रीजी संघीय सरकारलाई ओभरटेक गर्न थाल्नुभयो भने दुर्घटनाको खतरा हुन्छ । दुर्घटना न निम्त्याउनुस् !’
जनकपुरमा मंगलबार आयोजित नेकपाको प्रदेश २ को कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा मंगलबार सम्बोधन गर्दै नेकपा अध्यक्ष दाहालले प्रदेश प्रहरी ऐनले राष्ट्रिय चर्चा पाएको बताएका हुन् ।
‘संघीयपछि त्यसअन्तर्गत प्रदेशले प्रहरी ऐन बनाउने प्रावधान रहेको बताउँदै दाहालले भने ‘मौलिक हक अधिकारसम्बन्धी जरुरी ऐनहरु पारित गर्नुपरेकोले संघीय प्रहरी ऐन ल्याउन केही ढिलो भएको पक्कै हो तर ढिलो भयो भन्दैमा उछिन्ने गरी गरी ओभरटेक गर्न मिल्दैन। ओभरटेक गरे दुर्घटना हुन्छ।’







