हतारै हतारमा दशैं ! « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

हतारै हतारमा दशैं !


प्रशासन विशेष ब्युरो

६ कार्तिक २०७५, मंगलबार


दशैं

नेपाल सांस्कृतिक चार्डपर्वको हिसाबले विश्वको अदम्य मञ्च हो। यहाँका रितिथिति, चालचलन, भेषभूषा नेचुरल छन् । हामीले मनाउने चाडपर्व र रमाउने उत्सव विश्वमा नमुना छन् । नेपालमा मनाइने विभिन्न चाडपर्वहरू मध्ये दशैं मास्टर पर्व हो । यही मास्टर पर्वमा बिदा छोट्याई दिँदा खासै रौनक नभएको अनुभूति गर्दैछन कर्मचारी मनुष्यहरू।

हतारपतार र लटरपटर मात्र भएको अनुभूति गरिँदै छ । कतिपयले मान्यजनहरूबाट टिका थाप्नै नपाई कर्मथलो फर्किए । कति हस्याङफस्याङ गर्दागर्दै कार्यालय पुगे । दशैंको भोलि पल्ट नै अफिस खुल्नाले, केही हताश मानस्तिकता र केही हतारमा सोचका साथ अफिस फर्किए । मान्छे मेसिन होइन । एउटा मेसिनले त शत प्रतिशत नतिजा दिन सक्दैन । उसलाई पनि रेष्ट चाहिन्छ भने मानिसले शतप्रतिशत नतिजा दिनै सक्दैन । दिमागभरी तनाव । मन भरी बेचैन । मुटु भरी कुण्ठा । अनुहारभरि निराशता र फुर्तीहीन चन्दनमा उपस्थित कर्मचारीले के प्रतिफल दिन सक्थ्यो ? कर्मचारी औजार होइन । ढुङ्गा होइन । उ त मानव पो हो त ! संवेग छ । भावना छ । मानवीय स्वभाव छ । रहर छ । उत्साह छ । तब पो उसलाई मनोरञ्जन चाहिन्छ । आराम चाहिन्छन् । उत्प्रेरणा चाहिन्छ । उत्साह र ऊर्जा पो चाहिन्छ ।

दसैँमा छोटो बिदा हुनुको आफ्नै प्रकारको प्रभाव र असर छ । कर्मचारीलगायत धेरै व्यक्तिहरू वर्षभरिमा घर जाने साइत त्यही दसैँमा पारेका हुन्छन् । यस समयमा देश, विदेश र प्रदेशबाट घर समाजमा सबै जमघट हुने । पुराण रौष, रौनक र रोमाञ्चकहरु सम्झिने । सुख, दुख साटासाट गर्ने तथा मनका बह पोख्ने उपर्युक्त अवसर हो । पशु(जनावर) त एक्लै बस्ने सक्दैन भने मानिस त झन् सामाजिक जन्तु न पर्‍यो । उसलाई पनि सुखदुख जीवनका सबै पर्याय सेयर गर्ने जमघट थातथलो चाहिन्छ । मामाघर, उल्लो-पल्लो घर, माथिल्लो-तल्लो घर, ठुलबुवाको घर, आफन्तको घर र नातेदारको घर जाने, आशीर्वाद थाप्ने रौनक र उत्साहले सबै दुख बिस्याईदिन्छन् । जन्मभूमिमा वर्षमा एक पटक खुट्टा टेक्नुको अनुभूति नै बेग्लै ! सगरमाथामा पाइला टेकेभन्दा बेसी हुन्छ जन्मभूमिका पाइला टेक्नुको मज्जा ।

मान्छेको दिमागबाट ह्याङ्ग हटेको हुन्छ। आफ्नै लवज । आफ्नै पहिरन । आफ्नै लेकवेशी । आफ्नै छान्कि बान्कीले कम्ता रमाइलो हुन्छ र ! यसले एकातर्फ भाइचारा, भातृत्व, बन्धुत्व र मातृत्वलाई बचाई राख्न मद्दत गर्दछ भने अर्कोतर्फ सामाजिक सम्बन्धलाई मजबुत बनाइदिन्छ । अब यो छोटो बिदाले सामाजिक सम्बन्ध बिग्रने डर छ । दसैँमा त्यस्तो तागत छ, जसले मान्यजन, मित्रजन, आफन्तजन सबैलाई घिसारेर भएपनि एक ठाउँमा एकीकृत गर्दै सामाजिक सम्बन्धमा ऐक्यवद्धता जाहेर गर्न बाध्य बनाइदिन्छ । सबै आफन्त कहाँ पुग्ने बहाना त्यही दशैं थियो अब चाहेर पनि सबै कहाँ सबै कसरी पुग्न सक्छन् र ? यसले नातेदारबिचमा कटुता सिर्जना गर्छ नै, अर्कोतर्फ सामाजिक मान, मर्यादा, र सम्बन्धहरू खुकुलो बनाउने भयो । सामाजिक आदर र कदरको सवा हल पनि बिस्तारै बिरानो पो हुने भयो ।

त्यस्तै अर्को प्रभाव भनेको पर्यटन तर्फ हो । हामी भन्दा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने भन्छौ तर के बुझ्दैनौ भने बिना बिदाको पर्यटन सम्भव छैन । अलिकति बिदा लामो हुन पायो भने आन्तरिक पर्यटन प्रवर्द्धन हुनेमा कुनै शङ्का छैन ।

युद्ध कालमा माओवादीहरू राति आउने बिहानै फुत्तै कता जान्थे कता, त्यस्तै साँझ पुग्ने बिहान फुत्त निस्कनु पर्ने अवस्थाले संस्कृतिप्रतिको आस्था र धरोहरमा हामी पूर्वाग्राही भएका हौ की भन्ने भान हुन्छ ।

अहिलेको जस्तो बिदा त सहरमा घर हुनेलाई काइदा हुने देखियो । छेउमा अफिस होस् । डिलमा अड्डा होस् । तब पो दशैं मान्नु । बिचरा बबुरो कर्मचारी टुब्लुक्कै घर पुग्छ दशैंको दिन टिका आशीर्वाद थाप्छ र सम्झिन्छ भोलि अड्डा छ । अनि निधार खुम्चाउँदै फेरी टिका थाप्छ उ बाटोमा नपुग्दै अड्डा खुलिहाल्छ । हुन त कर्मचारीलाई अन्य बिदा पेस गरेर अलि दिन बिदामा बस्न त सक्ला तर सार्वजिक बिदामा कर्मचारी जसरी रमाएर बस्न सक्छ त्यसरी बिदा पेस गरेर मागेको बिदामा रमाएर सबै बिर्सेर बस्न सक्दैन ।

यार ! दुनियाँका कति अड्डाहरुमा फोर्स बिदा दिनेसमेतको प्रचलन छ, कर्मचारीलाई कामको ह्याङ्गबाट मुक्त गराउन । चक्कुलाई पनि धारिलो र तिखो बनाई राखे पो काट्न सक्छ । धारिलो, तिखो बनाउनु छैन खालि रगटेछ रगटेछ अनि कसरी काट्छ त ! कर्मचारीलाई खालि जोत मात्र भन्ने ? कहिलेकहिँ त यसो फ्रेस बनाऊ ताकी जोस र जागरका साथ फुरुङ्ग पार्दै जोत्न सकियोस् !

विचरा ! दसैँ मनाए नमनाए झैँ गरी कर्मचारी भ्याईनभ्याई खाई नखाई अफिस पुगे । तर न सेवाग्राही थिए न कुनै चलहपल । बेकारमा अड्डा कुर्न मात्रै फर्किए । बरु घरमा रमाउन दिएको भए कति खुसी हुन्थे । दिनभरि मुड अफ बनाए, फर्किए । घृणा र वितृष्णासँग मन्थन गरे निस्किए । राजधानीबाट दशैं बिदा मान्न करिब २५ लाख भन्दा बढी यात्रुहरू राजधानी बाहिर निस्किन्छन् भन्ने जन जनलाई थाहा छ । त्यहाँ कर्मचारी, सेवाग्राही र सबै व्यक्तिहरू हुन्छन् भन्ने पनि भेउ छ। एकाधको नभए पनि बहुल सेवाग्राहीको त दशैं त छ नि बाबै । अनि उ दशैंको टिका आशीर्वाद थाप्न छोडेर कहाँ राजधानीका अड्डा धाउन हुँइकिन्छ त ! बरु दशैंको बिदा अलि लामो बनाएर, त्यसैमा आन्तरिक टुर प्याकेज थपे कसो होला ? झन् मालामाल हुने ठान्छ पङ्क्तिकार त ।

अर्को अप्ठेरो भनेको यातायातको सवार गर्नु हो । यसले जोखिमपूर्ण यात्रा गर्नुपर्ने विवशता जन्माएको छ । दशैंको भोलिपल्ट नै सहज सवारी आवतजावत नहुने भएकाले कम्ती सास्ती झेल्नु परेको छ ? यो त भोग्नेलाई पो थाहा हुन्छ। आफूले नभोग्दा सम्म त अरूले भनेको जोक्स जस्तो ठान्छ मान्छे । गाडी नै नपाउने, पाएको गाडी सिट क्षमताभन्दा अत्यधिक यात्रु चापले दुर्घटना निम्तयाएको छ । कयौँले दशैं मनाएर गन्तव्यमा पुग्न नपाउँदै अकालमा ज्यान गुमाउनु परेको छ । कति घाइते कति अंगभंग छन् ।

धेरै सार्वजनिक बिदा भयो भनेर दशैं बिदा काटिएपनि अहिले सबैलाई अनुभूति भएकै हुनुपर्छ बेकारमा घटाइए छ । सार्वनजिक बिदा धेरै दिन भयो भनेर जति भजन गाएपनि विश्वका अन्य मुलुकको भन्दा कमै सार्वजनिक बिदा हो । किन भनौ न ? विदेशतिर हप्तामा २ दिन छुट्टी हुन्छ । हाम्रोमा १ दिन मात्र । त्यस कारण दसैँमा फुलपातीदेखि पूर्णिमासम्म बिदा दिँदा गजब हुन्छ । यसैमा टुर प्याकेज दिने, आन्तरिक पर्यटनप्रतिको आकर्षण बढाउन र पर्यटन प्रवर्द्धन गर्न ।

आधुनिकताको फेर समातेर संस्कार, सभ्यता र पहिचानको खेर नफालौ। बोल्ने भाषा, लगाउने पोशाक र अँगाल्ने संस्कृति हाम्रा सम्पत्ति हुन् । जोगाई राख्नु हाम्रो धर्म हो । अर्को पुस्तामा हस्तान्तरण गर्नु कर्तव्य पनि हो ।

दशैं बिस्तारै बिस्तारै आफ्नो अस्तित्थ गुमाउँदै छ । दशैंको भर्जिन स्वरूप र प्राकृतिक रूप खोज्न मान्छेलाई हम्य हम्य परिरहेको देखिन्छ । भोलि यस्तै सबै छोट्याउदै जाने हो भने मान्छेहरूको जमात पनि जमरा किन्न पसलमा जानु पर्ने अवस्था आयो भने ! हाम्रो संस्कार र संस्कृतिमा स्खलित हुन पुग्यो भने ! उहिल्यै पढेको अतिथि देवो भव: नै गर्न समयको पाबन्दी भयो भने ! त्यसपछि ‘नेपाली हामी रहौला कहाँ संस्कृति नरहे’ भन्ने गीत बनाउने । बस्ने !

प्रतिक्रिया दिनुहोस