संरक्षणको अभावमा पिण्डेश्वरी माता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संरक्षणको अभावमा पिण्डेश्वरी माता


२७ आश्विन २०७५, शनिबार


पिण्डेश्वरी

विश्व सामु विशाल हिन्दुराज्यको रूपमा चिरपरिचित छ नेपाल । सांस्कृतिक सम्पदाको धरोहरको रूपमा असङ्ख्य मठ मन्दिरहरू हाम्रा पूर्वजहरुले आप्mना सन्ततिहरूलाई छाडेर गएको यथार्थ नकार्न सकिँदैन । आफ्ना पूर्वजले छाडेर गएको मन्दिरहरूमध्ये धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नं. ५ मा पर्ने पिण्डेश्वरी देवी र महादेव पनि एक हो ।

विक्रम संवत् १७५५ पुस २४ गते निर्मित सो मन्दिर निकै पुरानो हो भन्ने प्रमाण त्यहाँको शिलालेखले प्रष्ट्याउँछ । करिब चार सय वर्ष पुरानो यो मन्दिरको अवस्थाप्रति कसैको ध्यान जान नसके पनि आफैमा धार्मिक प्रकृतिका व्यक्ति ढुङ्गेनीका प्रख्यात पण्डित स्वर्गीय तुलसी प्रसाद तिमल्सिनाले आफ्नै घर अगाडि रहेको देवी र महादेव मन्दिरमा पूजाको थालनी गरे । वि.सं. २०५६ सालमा उनको निधन पछि छोराहरू खेमराज र गोविन्द तिमल्सिनाले पूजालाई निरन्तरता दिइरहेका थिए । गत वर्ष दाजु खेमराजको निधन पछि र आफू पनि बसाई सरेर केही टाढा भएकोले पूजामा निरन्तरता दिन नपाए पनि चाँडवाँडको समयमा र बेलाबेलामा गएर क्षमा पूजा गर्ने गरेको पहिला पुजारी समेत रही सक्नु भएका स्थानीय पुरोहित गोविन्द गुरु बताउनुहुन्छ ।

यस मन्दिरको पश्चिमतर्फ गलौंदी खोला, पूर्वतर्फ दरियाल खोलाको कलकल झरना, दक्षिणतर्फ डोल भञ्ज्याङ्ग माध्यमिक विद्यालय र उत्तरतर्फ भीमसेन थान स्कुल रहेको छ । यी चार किल्लाभित्र पर्ने ओल्लो डाँडामा कंकालिनी माता त पल्लो डाँडामा किराञ्चोक भगवती अनि बिच डाँडामा पर्ने पिण्डेश्वरी ।

आहा ! कति राम्रो एउटा गतिलो शिल्पकारले बुनेको ढक्की घोप्ट्याएको जस्तो सुन्दर थुम्की । जसले क्षितिजलाई नै चुम्न खोजिरहेको जस्तो देखिन्छ । चारैतिर हरियाली, सुन्दर जङ्गल, भिर पाखा, अनि सुन्दर प्राकृतिक दृश्यले सिँगारिएको पिण्डेश्वरीको मन्दिर भौतिक निर्माणले प्यासी नै देखिन्छ । तैपनि गलौंदी खोला अनि दरियाल खोलालाई दर्जनौँ पटक पछार्दै कलकल बगेको खोलाको छ्वाङ्छ्वाङ् सुसेलीहरूको लयमा रमाउँदै पूजा गर्न हजारौँ भक्तजनहरूको भीड लाग्छ पिण्डेश्वरी मन्दिरमा ।

धार्मिक विश्वास अनि परम्परालाई कसैले पनि बिरानो ठाउँमा राख्दैन, प्रत्येकले उसको मुटुको ढुकढुकीमा राखेको हुन्छ । जड छ तर यो यथार्थमा सजीव छ, त्यसैले पिण्डेश्वरी देवीप्रति आस्था राख्ने गाउँलेहरू सदा देवस्थल धाउने गर्छन् । तर विश्वासको प्रतीक देवी अनि महादेव जीर्ण अवस्थामा रहेको देखिन्छ । पहिला ढुङ्गाको गारो अनि ढुङ्गाकै छानो थियो । अहिले मन्दिरलाई आकार दिएर सिमेन्ट प्लास्टर गरिएता पनि न त झ्याल ढोका नै छन्, न त रङ्ग रोगन नै । न त थाकेर गएका भक्तजनहरू टुसुक्क बस्ने ठाउँ नै ।

निकै साँगुरो र भिर भएकोले मन्दिर परिक्रमा गर्दा पनि जोखिम छ । मन्दिर वरिपरि अलि सुरक्षित बनाउन सके सम्भावित दुर्घटनाबाट बच्न सकिन्थ्यो ।

यहाँ दसैँको घटस्थापनादेखि महानवमीसम्म मनको इच्छा पूर्ण हुन्छ भन्ने विश्वासले सयौँ बोका, कुखुरा काटिन्छन् । विशेष गरी यहाँ पुस मसान्तको दिन जात्रा लाग्ने गर्दछ । मसान्तको दिन बेलुका फुलको डोली लिएर आउने भक्तहरू रातभरि महादीप बाल्ने, जागाराम बस्ने, बिहान कन्याकुमारीलाई डोलीमा राखेर घर लाने चलन पनि रहेको छ । मन्दिरको दाहिने भागमा महादेव र देब्रे भागमा देवी रहेकी छिन् । यहाँ तीजको दिन र साउनको सोमवार हजारौँ भक्तजनहरूको भीड लाग्ने गर्दछ ।

शक्तिपीठको रूपमा स्थापित पिण्डेश्वरीमा रहेको महादेवको शिरमा चढाएको दूध करिब ५० मिटर तल पहरामा तप तप खस्दछ । जुन अनौठो शक्तिको प्रतिबिम्ब देखिन्छ । सन्तान नहुनेलाई सन्तान र सम्पत्ति नहुनेलाई सम्पत्ति दिन्छन् भन्ने विश्वासमा ओहिरिन्छन् भक्तजनहरू । त्यहाँ पूजा गर्दा निकै सतर्कता अपनाउनु पर्दछ । एकातिर महादेव र अर्कातिर देवी भएकाले महादेवलाई चढाएका दूध देवीलाई पर्न नहुने र देवीलाई भोग लगाएका कुनै पनि चिज महादेवलाई पर्न नहुने समेत बताउनुहुन्छ गोविन्द गुरु ।

जुन मन्दिरको नाममा स्थापना देखि नै ८ रोपनी खेत र १२ रोपनी पाखो बारी छुट्याइएको थियो यो अहिले मन्दिरको प्रयोजनको लागि भन्दा पनि कसैको पेट भर्ने काम भइरहेको अवस्था छ । यसको खोजी कार्यमा कसैको ध्यान जान सकेको छैन । जीर्ण बन्दै गएको यस मन्दिरको संरक्षणका लागि सम्बन्धित निकायका साथै गुठी संस्थानले पनि ध्यान दिनु जरुरी छ । शान्ति पुञ्जको रूप मानिने देवीको संरक्षण गर्नु हामी सबैको प्रमुख दायित्व हो ।

लट्ठीको सहाराले चिप्लो बाटो सजिलै पार गर्न त्यसको संरक्षण गर्न जरुरी भए जस्तै सुख, शान्ति र समृद्धिको लागि मठ मन्दिरको संरक्षण गर्नु हाम्रो प्रमुख कर्तव्य हो । यस मन्दिरको समीपमा पुगिसकेको आदमघाटदेखिको कच्ची सडकको संरक्षण र सुधार गरेर देउरालीदेखि पिण्डेश्वरीसम्मको झाडी पन्छाउँदै जानु पर्ने देखिन्छ । जिल्लामा नेतृत्व जमाउन सफल भएका व्यक्तिले उचित चासो दिएको खण्डमा चौथो केबुलकार नबन्ला भन्न सकिँदैन । सुन्दर पवित्र भूमि एक पर्यटकीय स्थल बन्न कुनै बेर लाग्दैन थियो अनि यहाँको युवाहरू विदेश पलायन हुन पनि पर्दैन थियो ।

अतः स्मरणको लागि मात्र नभएर धार्मिक परम्परालाई कायम राख्नु हिन्दु धर्मावलम्बीहरूको दायित्व हो । तर यो मन्दिरले पाउनु पर्ने संरक्षण पाएको छैन । यसको मुख्य दोषीको रूपमा जिल्लामा राजनीतिक प्रभुत्व जमाएकाहरूलाई दिन्छन् गाउँलेवासीहरू । यसरी ठुलो आस्थाको केन्द्र रहेको उक्त मन्दिरमा अहिलेको स्थानीय निकायको पनि ध्यान गएको देखिँदैन भने स्वर्गीय तुलसी प्रसाद तिमल्सिनाले गरेको योगदानको कदर नहुँदा भावी पुस्ताहरूले के सोच्ने ?

प्रतिक्रिया दिनुहोस