संविधानले दिएको जिम्मेवारी पूरा गर्न नेपाली सेना तयार छ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संविधानले दिएको जिम्मेवारी पूरा गर्न नेपाली सेना तयार छ


पुर्णचन्द्र थापा

२७ आश्विन २०७५, शनिबार


नेपाली सेना

सर्वप्रथम त नजिकिँदै गरेको बडा दसैं, शुभदीपावली, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको उपलक्ष्यमा सबैलाई सुख शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्न चाहान्छु ।

मैले प्रधानसेनापतिको कार्यभार सम्हालेकै दिन सकल दर्जाका लागि ‘प्रधानसेनापतिको कमाण्ड मार्गनिर्देशन २०७५’ जारी गरेँ । यो नेपाली सेनाको अल्पकालीन योजना हो । यसमा सेवारत र सेवानिवृत सैनिक व्यक्तिहरूबाट पाएका रायसुझावहरू, नेपाली सेनाबाट आम नेपाली जनताले गरेका अपेक्षाहरू तथा नेपाल सरकारका नीति कार्यक्रम र निर्देशनहरूसमेत समावेश गरिएको छ ।

म नेपाली सेनालाई वर्तमान र भविष्यका जिम्मेवारीहरू पूरा गर्न सक्ने बनाउन पहल गर्नेछु । नेपाली सेनालाई सुदृढ, सबल र सक्षम संस्थाको रूपमा विकास गर्ने मेरो लक्ष्य छ ।

भनसुन र आफन्तवादको अन्त्य गरिने
सकल दर्जालाई गुण, दोष, कार्य सम्पन्नता र उपलब्धीहरूका आधारमा अवसरहरूद्वारा अभिप्रेरित गर्न भनसुन, निकटता र आफन्तवादको अन्त्य गरी प्रणालीमा आधारित नीतिसहितको सांगठनिक वातावरण सिर्जना गर्ने काम सुरु भइसकेको छ । त्यसको निमित्त म वा नेपाली सेनाको वा रक्षा मन्त्रालयको एकल प्रयासबाट मात्र सम्भव हुँदैन । यसका लागि सिंगो नागरिक समाज, मिडिया र समाजले भूमिका खेल्नुपर्छ । र, यसमा यी क्षेत्रको भूमिका सकारात्मक हुने मैले विश्वास लिएको छु ।

संस्थागत हितलाई प्राथमिकतामा राखी व्यवस्थापन र कार्यप्रणालीहरूमा समयानुकूल सुधार गरी गतिशील, भरपर्दो र सिक्दै जाने अर्थात् लर्निङ बाइ डुइङमा विश्वास गर्ने संगठनका रूपमा स्थापित गर्नेतर्फ ठोस पहलकदमी सुरु भइसकेको छ । आफ्ना तथा मातहतका क्षमता तथा प्रयासहरूले सदैव संगठनको साख उँचो राख्ने प्रयत्न थालेको छु । यसरी लौह अनुशासन, बलियो चैन अफ कमान्ड, राजनीति निरपेक्ष चरित्र, राष्ट्रिय एकताको भावना र अविच्छिन्न सांगठनिक लक्ष्यहरूद्वारा निर्देशित गर्दै नेपाली सेनालाई राष्ट्रिय एकता र आस्थाको आधार बनाउँदै लैजाने लक्ष्य लिएको छु ।

सात सांगठनिक लक्ष्य, १५१ कार्य
मूलतः मैले आफ्नो कार्यकालका लागि सात वटा सांगठनिक लक्ष्य तथा १५१ कार्यहरू निर्धारण गरेको छु । यी लक्ष्यहरू नितान्त आन्तरिक प्रयोजनका लागि निर्धारण गरिएकाले म यसभित्र प्रवेश गर्न चाहन्न । नेपालको संविधानको रक्षा गर्न नेपाली सेनाको परम कर्तव्य हो ।

‘नेपाली आर्मी भिजन’ २०३० तयार गरिने
नेपाली सेनाको समसामयिक आधुनिकीकरण गर्नका लागि दीर्घकालीन योजनाका रूपमा ‘नेपाली आर्मी भिजन’ २०३० तयार गरी कार्यान्वयनमा ल्याइनेछ । यो तयारीकै अवस्थामा छ । यसैगरी नेसनल मिलिट्री स्ट्रायाटिजी तयार गरी सबै सुरक्षा निकायहरूबीच आन्तरिक र बाह्य सुरक्षाका लागि नेपाली सेना परिचालित भएको अवस्थामा आवश्यक एकीकृत कमाण्ड(इन्टिग्रेटेड कमान्ड) सम्बन्धी अवधारणाको विकास गरिनेछ । यो किन पनि आवश्यक छ भने नेपाली सेना अन्य सुरक्षा निकायभन्दा फरक प्रकृतिको संस्था भए तापनि हामी आपसी समन्वय गरी अघि बढ्न सकेनौं भने तपाईँ हामीले परिकल्पना गरेको नेपालको सुरक्षा कमजोर हुन जान्छ । तसर्थ, हामीबीच समन्वय आवश्यक छ र हामी सबै राष्ट्रका लागि बलियो हुनु जरुरी छ । नेपाली सेनाको परिप्रेक्ष्यमा नेपाली सेनालाई रेडी फर रोलको अवस्थामा राख्न तयार गरिएका अवधारणाहरू विश्वसनीय ढंगले कार्यान्वयन गरिनेछ ।

संविधान विरोधी र विखण्डनवादी तत्वहरूको निरन्तर निगरानी
नेपाली सेना संविधान विरोधी र विखण्डनवादी तत्वहरूका गतिविधिबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौती र खतराहरूलाई सुक्ष्म रूपबाट नियालेर निरन्तर मूल्यांकन गरिरहेको छ । त्यो राष्ट्रिय सेनाको धर्म पनि हो, अर्थात् जिम्मेवारी हो ।

राजनीतिक माध्यम नै आन्तरिक द्वन्द्व समाधानको सही विकल्प हो । तर, राष्ट्रसँग अन्य विकल्पहरू पनि रहेका छन् भन्ने पक्षलाई बिर्सन मिल्दैन ।

संविधानले सुम्पेको जिम्मेवारी पूरा गरी राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डता सुनिश्चित गर्न नेपाली सेनाको परम कर्तव्य हो । तर, त्यो नेपाली सेनाको एकल प्रयासबाट मात्र सम्भव छैन । यस सम्बन्धमा उपयुक्त राष्ट्रिय निर्देशन प्राप्त भएबमोजिम विगतमा सिकिएका पाठहरूलाई आधार मानी सम्भावित सुरक्षा चुनौती र खतराहरूलाई सम्बोधन गर्न नेपाली सेना सदैव तयार छ । सोहीबमोजिम मातहतमा समेत निर्देशन भएको पनि अवगत गराउन चाहन्छु ।

सेवागत विशिष्टीकरणको अवधारणा लागू गरिने
लडाइँ लड्ने क्षमता अभिवृद्धि गर्नका लागि नेपाली सेनामा सेवागत विशिष्टीकरणको अवधारणा लागू गर्न लागिएको छ । त्यसैगरी जुनियर तहको नेतृत्वलाई थप सक्षम, जिम्मेवार र जवाफदेही बनाई एकत्वपन हासिल गर्ने विशेष योजनाहरू ल्याइएको छु ।

आत्मनिर्भर बनाउन विविध कार्यक्रम
सैनिक बन्दोबस्ती पक्षलाई सन्तुलित र आत्मनिर्भरता उन्मुख बनाउन विविध कार्यक्रमहरू सञ्चालन गरिनेछ । उपत्यका बाहिर लजिस्टिक डिपोहरू स्थापना गर्दै विकेन्द्रीकरणलाई व्यावहारिक बनाउने योजना छ भने सकल दर्जाको मनोवल उच्च राख्नका लागि विविध सेवा सुविधाहरू सहितको क्यान्टोनमेन्ट सिस्टमको योजना तयार गरी कार्यान्वयन गर्दै लगिनेछ ।

फौजलाई तयारी अवस्थामा राखिने
नेपाली सेनाका आधारभूत तालिमदेखि नै आधारभूत सैनिक गुण र सीपहरू विकास गर्नेतर्फ केन्द्रित गरी वास्तविकतामा आधारित तालिम तथा अभ्यासहरू सञ्चालन गरी फौजलाई विभिन्न युद्ध वा द्वन्द्वका सम्भावित वातावरण वा अवस्थाका लागि तयारी अवस्थामा राखिनेछ ।

संगठनको सञ्चालनलाई वैज्ञाानिक बनाउँदै नेपाली सेनालाई गतिशील संस्थाको रूपमा विकास गर्नका लागि दीर्घकालीन सांगठनिक हितका विषयहरूमा सैनिक मर्यादामा रही खुला छलफलमा आधारित योजना र निर्णय गर्ने प्रणाली आरम्भ गरिसकिएको छ । पुरस्कार र दण्डसजाय कार्यान्वयन गर्न निर्देशन संगठनमा सकारात्मक वातावरण सिर्जना गर्नका लागि पुरस्कार र दण्डसजायलाई महत्वपूर्ण संयन्त्रका रूपमा उपयोग गर्न निर्देशन दिई सकिएको छ भने सकल दर्जाको गुनासोहरू संगठनभित्रबाट सम्बोधन गर्नका लागि विभिन्न विकल्पहरू तय गरिएको छ ।

तसर्थ, अनसबस्टेन्ड समाचारहरूलाई स्थान नदिन म तपाईँहरूसमक्ष विनम्रतापूर्वक अनुरोध गर्छु । कहिलेकाहीँ त्यस्ता समाचार सम्प्रेसन हुँदा संस्थागत हितमा आघात पर्न जान्छ । त्यसले नेपाली सेना र राष्ट्रलाई आघात पुर्‍याइरहेको हुन्छ । हामी कतिपय अवस्थामा गलत न्युज आउँदा पनि मिडिया आफैले सत्यता बुझिदिओस् भनेर मौन बसिदिएका छौं । विकेन्द्रीकरणमार्फत् सबै तहका कमाण्डरहरूलाई आ-आफ्नो जिम्मेवारीप्रति उत्तरदायी बनाउन नेपाली सेनामा मिसन कमान्डको अवधारणा लागू गरिएको छ । अब यसैका आधारमा सबै तहका कमाण्डरले आफ्नो जिम्मेवारी पूरा गर्न पहल गर्नेछन् । माथिल्लो कमाण्डरको मुख ताक्नुपर्ने छैन ।

पेपरलेस अवधारणा लागू गरिने
संगठनमा देखिएका सुधारका आवश्यकताहरूलाई यथोचित सम्बोधन गर्नका लागि प्रणालीमा आधारित नीति लिने लक्ष्य राखेको छु । व्यवस्थापनलाई चुस्त र दुरुस्त राख्नका लागि विभिन्न कार्यक्रमहरू अघि सारिएका छन् । नेपाली सेनाको तल्लो तहसम्म डिजिटिजेसनमार्फत् पेपर लेस इन्भारमेन्टको अवधारणा क्रमशः लागू गर्र्दै जाने नीतिअनुरूप जंगी अड्डामा पूर्णरूपमा लागू भइसकेको छ भने सुदूरपश्चिम पृतनामा लागू गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । यसलाई देशैभरका निकायहरूमा लागू गर्ने र रक्षा मन्त्रालयसँग समेत डिजिटल माध्यमबाट जोडिनेतर्फ पहल भइरहेको जानकारी गराउन चाहन्छु ।

हामीले संगठनभित्र र बाहिरबाट सुन्ने गरेका भनसुनका आधारमा र पहुँच हुनेले मात्र नेपाली सेनामा अवसरहरू प्राप्त गर्ने गरेको भन्ने गुनासोहरू पूर्णरूपमा सत्य होइनन् । तर, यसभित्र सत्यता पनि छ । यसलाई हटाउनका लागि मैले पहिलो सम्बोधन, मेरो कमाण्ड मार्गनिर्देशन तथा विभिन्न अन्य निर्देशनहरूमार्फत् स्पष्टरूपमा सबैलाई जानकारी गराई सकेको छु । कि सकल दर्जाको मूल्यांकन कार्य सम्पादनका आधारमा हुन्छ र गरिनुपर्छ । साथै त्यसकै आधारमा नीति नियमभित्र रही अवसरहरू दिइनेछ । यसमा मैले फेरि पनि मिडियाकर्मीहरूको सकारात्मक सहयोगको अपेक्षा राखेको छु ।

नेपाली सेनाले नागरिक सर्वोच्चतालाई सदैव सर्वाेपरी मान्दै आएको तथ्य विदितै छ । यदाकदा यसलाई नेपाली सेनाको लोकतान्त्रीकरण पनि भन्ने गरिएको मैले पाएको छु । यसलाई नेपाली सेनाको व्यवसायीकरण भन्दा अझ राम्रो सुनिन्छ होला । जस्तो मलाई लाग्छ । नागरिक सर्वोच्चता सम्बन्धमा हाम्रा धारणाहरू समान हुनु जरुरी छ ।

सरल भाषामा नागरिक सरकारको कानुनसम्मत आदेश तथा निर्देशनहरूको पालना गर्नु नेपाली सेनाको दायित्व हो भने संगठनको आन्तरिक व्यवस्थापन नेपाली सेनाको जिम्मेवारी हो, यसमा यदाकदा हुने गरेको माइक्रो–म्यानेजमेन्टले सेनाको हित गर्दैन भन्ने मेरो बुझाइ छ । नेपाली सेनाको सञ्चालन सम्बन्धमा आवश्यक नीति नियमहरू तयार गरी लागू गर्ने र गराउने जिम्मेवारी सरकारको हो । सही अर्थमा सेनालाई पेशागत रूपमा दक्ष बनाई राष्ट्रिय शक्तिको भरपर्दो संयन्त्रका रूपमा स्थापित गर्न नै सैनिक संगठनको व्यवसायीकरण हो । नेपाली सेनाको संख्याको सम्बन्धमा पनि विभिन्न धारणाहरू बेलाबखत आउने गरेका छन् ।

नेपाली सेनाको अहिलेको आकार स्वरूप विगतको द्वन्द्वकालको आवश्यकतामा आधारित भई सिर्जना भएको हो । नेपाली सेनाको पुनर्ढाँचा, पुनर्संरचना र पुनर्सन्तुलन गर्दै अहिलेको अवस्थामा आएको छ, संगठनको संरचना अहिलेसम्म पनि मिल्न सकेको छैन । एक्कासी बढेको संगठनको असर अझै बाँकी छन् । आवश्यकता हुनेबित्तिकै बितिकै भर्ना लिने र काममा लिन सकिने अवस्था कुनै पनि सैनिक संगठनमा सम्भव हुँदैन । विभिन्न तहका कमाण्डर र स्टाफहरू तालिम र अभ्यासका आधारमा क्रमिक रूपमा मानव–स्रोतको विकास गर्दै लैजानुपर्ने सेनाजस्तो चेन अफ कमान्डमा चल्ने संगठन अरू संगठनजस्तो तुरुन्त तयार गर्न सम्भव हुँदैन । तसर्थ, अहिलेको मात्र होइन, भविष्यको आवश्यकतालाई समेत मध्यनजर गरेर हामीले राष्ट्रिय सेनाको स्वरूप र आकार निर्धारण गर्नुपर्ने हुन्छ । यस विषयमा बहस हुनुलाई म स्वभाविक मान्छु । किनकि सेनाको सञ्चालनका लागि बजेट खर्च अवश्य हुन्छ । तर, बजेट कटौती गर्ने नाममा बिना आधार सेनाको संख्या कटौती गर्दा त्यसले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष असर पार्ने कुरामा हामी सबै सचेत हुनुपर्ने हुन्छ ।

नेपाली सेनाका प्राथमिक र द्धितीय जिम्मेवारी पूरा गर्न सक्ने गरी विस्तृत सामरिक पुनरावलोकन(कम्प्रेहेन्सिभ स्ट्रयाटेजिक रिभ्यु)का आधारमा मात्र निर्णय लिनुपर्छ भन्ने संसारभरकै सेनाको मान्यता हो । सेनालाई सानो र चुस्त बनाउन विभिन्न राष्ट्रहरूले आधुनिकीकरण र उपयुक्त क्षमताहरू सेनालाई दिने गरेको पाइन्छ । तसर्थ, सेनाको संख्या घट्दा थप आवश्यक क्यापाबिलिटी प्रदान गर्ने गरेको देखिन्छ । यहि विकल्प प्रयोग हामीले पनि गर्न सकिन्छ । तर, त्यसका लागि पनि विस्तृत अध्ययनको आवश्यकता छ ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्ने लगायतका राष्ट्रनिर्माण र विपद् व्यवस्थापन एवं संविधानसम्मत जिम्मेवारीहरू नेपाली सेनाले वहन गर्दै आएको छ र भविष्यमा पनि विश्वसनीय ढंगबाट वहन गर्नेछ । विकास निर्माणका कार्यहरूमा नेपाली सेनाले आर्जन गरेको विश्वसनीयता हामीले निरन्तर कायम राख्नुपर्ने चुनौती नेपाली सेनाको सामू रहेको छ ।

काठमाडौं-तराई/मधेस द्रुतमार्ग समयभित्रै सम्पन्न गर्न पहल थालिने
नेपाल सरकार तथा आम नेपाली नागरिकहरूका विश्वासमा नेपाली सेनालाई प्राप्त राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेस द्रुतमार्ग समयभित्रै सम्पन्न गर्ने चुनौती छ । पारदर्शितालाई केन्द्रमा राखेर निर्माण कार्यलाई अपेक्षित गति दिनु मेरो प्राथमिकतामा पर्छ । तर, यो समस्यारहित भने छैन । नेपाली सेनाले यसलाई प्रायोरिटी टास्कको रूपमा लिएको छ । सदाझैं नेपाल सरकार, रक्षा मन्त्रालय, आम नागरिकहरू तथा सरोकारवाला सबै निकायहरूको साथ र सद्भावसहित यो आयोजना पूरा गर्ने लक्ष्य लिएका छौं । त्योबिना यो सम्भव पनि म देख्दिनँ ।

यस विषयमा नेपाली सेनाको व्यावसायिकतालाई जोडेर विवादित गर्ने प्रयास बेलाबेलामा हुने गरेको पाइन्छ । यसै अवसरमा म तपाईँहरूमार्फत् सबैलाई स्पष्ट पार्न चाहन्छु सर्वप्रथम विकास निर्माण नेपाली सेनालाई संविधानले तोकेको जिम्मेवारी हो । नेपाल सरकारले विकास निर्माणसम्बन्धी जिम्मेवारी दिएपछि नेपाली सेनाले त्यो पूरा गर्र्नैपर्छ । यही विकास निर्माण सम्बन्धी संवैधानिक जिम्मेवारी पूरा गर्नका लागि शान्तिकालीन वर्तमान अवस्थामा नेपाली सेनामा इन्जिनियरिङ विभाग र कम्ब्याट इन्जिनियर्स निकायहरू रहेका छन् । काठमाडौं–तराई-मधेस द्रुतमार्ग लगायतका अन्य बाटोघाटो निर्माणसम्बन्धी कार्यहरूमा यिनै निकायअन्तर्गतका करिब एक हजार जनशक्ति खटिएका छन्, जसको प्राथमिक जिम्मेवारी नै विकास निर्माण हो । आम नागरिकबाट आउने गरेको चासोहरूलाई हामीले सकारात्मक रूपमा लिँदै आएका छौं ।

भविष्यमासमेत नागरिकहरूका तर्फबाट यस किसिमका सरोकारहरू प्राप्त हुने अपेक्षा राखेका छौं ।

शान्तिकालमा सेना विकास निर्माणमा लाग्दा व्यावसायिकतामा आँच आउँछ कि भन्ने चिन्ता अत्यन्त जायज हो । तर, त्यसमा मूलरूपमा इञ्जिनियर्स जनशक्ति नै खटिने हो । मूलधारको ९५ हजार फौज त्यसमा संलग्न नहुने हुँदा नेपाली सेनाको तालिम र व्यवसायिकतामा त्यसले असर गर्दैन, विकसित देशहरूमा समेत सेना यस्ता कार्यमा संलग्न हुन्छन् ।

नेपाली सेनालाई प्राप्त हुने बजेट र मातहतमा विनियोजन गरिने बजेटको अधिकतम सदुपयोग गरी प्रभावकारी कार्यान्वयन गर्न पारदर्शी प्रयोगमा विशेष जोड दिनेछु । यसका लागि सम्बन्धित कमाण्डर तथा लेखाउत्तरदायीहरूलाई जवाफदेही बनाउनका लागि नेपाली सेना आर्थिक निर्देशिका २०७५ तयार भई लागू हुने क्रममा छ ।

शून्य सहनशीलता नीति लागू
यसमा मैले शून्य सहनशीलताको नीति लिएको छु । यसका लागि प्रभावकारी अनुगमन संयन्त्रको विकास हुने क्रममा छ । आर्थिक अनियमितताका विषयहरूले संगठनको साख गिर्ने विषयमा हामी सचेत छौं ।

यसलाई पूर्णरूपमा नियन्त्रण गर्न म प्रतिबद्ध रहेको पनि तपाईँहरूलाई जानकारी गराउन चाहन्छु । भ्रष्टाचारका विषय पनि बेलाबेला सुनिने गरेका छन् । यसलाई सैनिक विशेष अदालतले हेर्ने गरी व्यवस्था गरिनेछ । यो अदालत अपेक्षितरूपमा प्रभावकारी बनाउन नसकिएको पक्ष केही हदसम्म सत्य होला, अब यसप्रति ध्यान केन्द्रित गरिनेछ ।

कल्याणकारी कोष सेवाग्राही केन्द्रित
नेपाली सेनाको कल्याणकारी कोषको सम्बन्धमा अहिलेकै कार्यक्रमहरूको सही व्यवस्थापन र सेवाग्राही केन्द्रित बनाउने लक्ष्य लिएको छु । कुनै पनि सैनिक कल्याणकारी कार्य अत्यन्त महत्वपूर्ण पक्ष हो । संगठनका सम्पूर्ण सदस्यहरूको रगत पसिनाबाट बनेको यो कोषको सदुपयोग होस् भन्ने सम्पूर्ण सेवारत तथा सेवानिवृत सैनिक व्यक्तिहरूको आकांक्षा तथा आम नेपाली नागरिकको अपेक्षाप्रति म सचेत छ । कोषको दिगोपन, हिताधिकारीहरूको धेरै गुनासो रहेका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा सैनिक व्यक्तिको सामाजिक अवस्थामा सुधार गर्ने किसिमको दीर्घकालीन संस्थागत हित हुने स्वरोजागर तथा पूर्ण रोजगारीसम्बन्धी रणनीति तयार गर्ने गरी एक विशेष कार्यदलले कार्य गरिरहेको छ । कोषको व्यवस्थापनलाई पारदर्शी र प्रभावी बनाउन स्पष्ट देखिने गरी पहलकदमी लिनेछु ।

उपलब्ध स्रोत साधन, आवश्यकता र हिताधिकारीहरूको अपेक्षाको सम्बोधन हाम्रो मुख्य चुनौती हो ।

यसै अवसरमा म महाँकालस्थित ऐतिहासिक महत्वको त्रिचन्द्र मिलिटरी हस्पिटल लगायतका कल्याणकारी पक्षमा सुनिने गरेका गुनासोहरूको सन्दर्भमा नेपाली सेनाको स्पष्ट धारणा राख्न चाहन्छु । यसलाई कहिले नेतृत्वको महत्वाकांक्षासँग त कहिले नेपाली सेनाले व्यवसाय गर्न लाग्यो भनेर आरोपहरू लाग्ने गरेको छ ।

कोषको मुख्य स्रोत शान्ति सेना गएका सकल दर्जाबाट कट्टा गरिएको रकम हो । नेपाली सेनाले आफ्नै पहलमा करीब एक लाख सेवारत, ७० हजार हजार सेवानिवृत र तिनका आश्रित सहित गरी करीब आठ लाख हिताधिकारीहरूको कल्याण कार्य यसै कोषबाट गर्दै आएको छ । तसर्थ कल्याणकारी कार्यक्रमहरूको दीगोपनका लागि नेपाली सेनाको दीर्घकालीन योजना आवश्यक छ । यसको पारदर्शिता र सही प्रयोगका लागि नेतृत्व सदैव जिम्मेवार हुनैपर्छ । अहिले संगठनभित्र सरकारी कर्मचारीहरूसरह सैनिक व्यक्तिहरूको कल्याण कार्यका लागि नेपाल सरकारको योगदानका लागि पहल गर्नुपर्ने सुझावसहितका दवावहरू बढ्न थालेको छ । सरकार सक्षम हुँदै जाँदा त्यो पनि क्रमैसँग प्राप्त हुँदै जाने हाम्रो अपेक्षा छ । तर, नेपाल सरकारबाट प्राप्त नहुन्जेलका लागि नेपाली सेनाप्रति सक्षम र योग्य आम नेपाली युवाहरूको आकर्षण कायम राखिरहन, सेवा प्रवेश गरेकाहरूलाई सेवामा रहिरहन प्रेरित गर्र्नु अहिले राष्ट्रकै लागि चुनौती हो, जसको प्रत्यक्ष सम्बन्ध राष्ट्रिय सुरक्षासँग छ ।

सेवानिवृत भएपछि पनि सैनिक तालिमप्राप्त जनशक्ति रोजगारीका लागि विदेश पलायन हुनुपर्ने अवस्था विडम्बनापूर्ण छ । तसर्थ, कल्याणकारी कोषको स्रोतको विविधिकरण अपरिहार्य छ, ताकि नेपाली सेना आफैंले सुरु गरेको कल्याणकारी कार्यहरूमार्फत् हाम्रो उद्देश्य हासिल गर्न सकियोस् । त्रिचन्द्र मिलिटरी अस्पताल, पेट्रोल पम्पहरू तथा बिजनेस कम्प्लेक्ससँग सम्बन्धित विषयहरू नेपाली सेनाको कल्याणकारी सेवाको विकेन्द्रीकरण गरीहिताधिकारीहरूको पहुँच सहज बनाउने र कोषको स्रोत विविधीकरण गर्ने उद्देश्य राखिएको छ । यसबाट प्राप्त हुने आम्दानीको प्रयोग कल्याणकारी कार्यक्रमहरू जस्तै ः हिताधिकारीहरूको शिक्षा, स्वास्थ्य आदि क्षेत्रकै विस्तारमा नियमसंगत प्रयोग गर्ने व्यवस्था बारेमा यहाँहरू जानकार नै हुनुहुन्छ ।

नेपालगन्ज, इटहरी र पोखरामा अस्पताल विस्तार गरिने
त्रिचन्द्र मिलिटरी अस्पतालको हेरिटेज बिल्डिङमा स्वास्थ्य सेवा प्रारम्भ भइसकेको छ भने बाँकी भवनलाई आयमूलक अर्थात् नो गेन, नो लस मा आधारित सामाजिक प्रयोजनमा दिई त्यसको आम्दानी नेपालगन्ज, इटहरी र पोखरामा अस्पताल विस्तार गर्न प्रयोग गर्ने योजना रहेको छ । त्यसैगरी आगामी दिनहरूमा भूपू सैनिक समेतलाई लक्षित गरी प्रदेश २ र ७ मा समेत सैनिक अस्पतालहरू त्यसकै आम्दानीबाट विस्तार गर्ने योजना छ । स्वास्थ्य सेवाका लागि सम्पूर्ण हिताधिकारीहरू काठमाडौं केन्द्रित वीरेन्द्र अस्पताल, छाउनी र महाँकालमा केन्द्रित हुँदा हिताधिकारीहरूलाई पर्ने मर्का निराकरण गर्नका लागि हिताधिकारीहरूकै अनुरोधमा सेवा विकेन्द्रीकरण गर्न महाँकाल वेलफेर कम्प्लेक्सका रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको हो । योभन्दा उत्तम उपाय अरु के हुन सक्छ त, हाम्रो प्रश्न छ ?

नेपाली सेनामा कसैको व्यावसायिक प्रतिष्पर्धी बन्ने चाह पटक्कै नभएको पनि तपाईंहरूलाई जानकारी गराउन चाहन्छु । हामी हाम्रा जिम्मेवारीहरूप्रति प्रतिबद्ध छौं । नेपाली सेनाका काम कार्वाहीहरू पारदर्शी र सही नहुँदानागरिकहरूको तर्फबाट राष्ट्रिय सेनाको व्यावसायिकतामा आँच नआओस् भनेर सरोकार आउनुलाई हामीले संधै सकारात्मक रूपमा लिँदै आएका छौं, जसले हामीलाई सुधार गर्न अभिप्रेरित गर्ने गरेको छ । नेपाली सेनामा कल्याणकारी कार्य किन जरुरी छ भन्ने कुरामा सबैभन्दा पहिला हामी सबै स्पष्ट हुनु जरुरी मैले ठानेको छु । तत्पश्चात हामीले कल्याणकारी कोषको प्रयोगलाई हिताधिकारीको आवश्यकतामा आधारित बनाउँदै दीगो बनाउनेतर्फ ध्यान दिनैपर्छ । कल्याणकारी कार्यदलको प्रतिवेदनपछि हामी सबैले अपेक्षा गरे मुताविक कोषको प्रयोगलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउँदै लगिनेछ र त्यसका निमित्त हाम्रा करिब ८ लाख हिताधिकारीहरू र तपार्इँ मिडियाकर्मी साथीहरूलाई केही समय धैर्य रहन म विनम्रतापूर्वक अनुरोध गर्छु ।

भनसुन, आफन्तवाद र निकटता हाम्रो समाजको उपज नहुनुपर्ने हो । तर, नेपाली सेना यसबाट केही हदसम्म प्रभावित भएको होला भन्ने कुरा नकार्न सकिन्न । तर, यसले संगठनलाई गतिशील हुनबाट रोक्ने, व्यक्तिगत स्वार्थहरू हावी हुने तथा संस्थागत हितका विषयहरू ओझेलमा पर्दै जाने बारेमा सचेत छु ।

सांगठनिक स्वार्थका अगाडि व्यक्तिगत स्वार्थ गौण हुन् । त्यसैले नीति नियमहरूले प्रधान सेनापति पनि बाँधिनुपर्छ भन्ने विषयलाई केन्द्रमा राखी नेपाली सेनाको सञ्चालन गर्ने मेरो अभिप्राय छ । व्यक्तिपरक महसुस भएका केही संस्थागत नीति नियमहरू परिमार्जन गरी संस्थागत हित हुने नीतिहरू निर्माण गर्ने सिलसिला सुरु भइसकेको छ ।

जस्तै: शान्ति सेना छनोटमा कोटा प्रणाली हटाइएको छ । यस किसिमका व्यवस्थाहरूको अभ्यास र त्यसको असरहरू तपाईँहरूले पनि बिस्तारै महसुस गर्दै जानु हुनेछ ।

नेपाली सेनाले ऐतिहासिक कालदेखि वर्तमानसम्म राष्ट्रनिर्माण, राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर पु¥याउँदै आएको योगदानलाई बिर्साउने गरी पत्रपत्रिका र सामाजिक सञ्जालहरूमा आउने गरेका समाचारहरूप्रति हामी सजग छौं । तर,
समाचारहरू तथ्यपरक र सत्य हुनुपर्नेतर्फ हामी सबै सचेत हुन जरुरी छ । हामीभित्र रहेका कमीकमजोरीहरूलाई क्रमिक रूपमा सुधार गर्दै लैजाने कार्य प्रारम्भ भइसकेको छ । आम नेपाली नागरिकले अपेक्षा गरेजस्तो नेपाली सेना बनाउने हाम्रो लक्ष्यमा तपार्इँ मिडियाकर्मीहरूको खबरदारी आउँदा दिनहरूमा पनि महत्वपूर्ण हुने कुरामा हामी पूर्णरूपमा विश्वस्त छौं ।

नेपाली सेना र नेपाली नागरिकहरूको राष्ट्रिय दायित्व पूरा गर्न तपाईँहरूले मियोको रूपमा कार्य गरी नै रहनुहुनेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु । वर्तमान अवस्थामा मिडियाको महत्वका बारेमा हामी सबै जानकार छौं । नेपाली सेनाको राष्ट्रिय सुरक्षासम्बन्धी संवैधानिक जिम्मेवारी पूरा गर्ने कार्यहरूमा तपाईँहरूले दिँदै आउनुभएको साथको निरन्तरता र सांगठनिक विषयहरूमा आउँदा दिनहरूमा समेत निरन्तर सहयोग प्राप्त हुने अपेक्षा राखेका छौं । मिडियासँगको यस किसिमको औपचारिक तथा अनौपचारिक अन्तरक्रियाको आवश्यकतालाई मध्यनजर गरी भविष्यमा समेत नियमित यस प्रकारका कार्यक्रमहरूको आयोजना गर्न सम्बन्धितलाई निर्देशन दिएको छ । त्यसमा तपाईँहरूको पनि यस्तै प्रकारको उत्साहित उपस्थिति रहनेछ भन्ने विश्वास लिएको छु ।

(विजयादशमीका अवसरमा नेपाली सेनाले आयोजना गरेको शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले दिएको मन्तव्यको सम्पादित अंश)

Tags :
प्रतिक्रिया दिनुहोस