वन-जङ्गल, सुशासन र दिगो विकास « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वन-जङ्गल, सुशासन र दिगो विकास


डा. एकराज ओझा

२६ आश्विन २०७५, शुक्रबार


वन–जङ्गल

हाम्रो देशका घना र समृद्ध पुराना वन-जङ्गलहरू मासिँदै गइरहेको र त्यो प्रक्रिया हाल विकासका नाममा अझ बढी तीव्र हुँदै विनाशोन्मुख भइरहेको स्थिति हाम्रा लागि एक ठूलो विडम्बना र विकराल समस्या हो । विशेषगरी बढी प्रभावित क्षेत्र र त्यहाँका अत्यधिक प्रभावित सर्वसाधारण जनताका लागि प्रत्यक्षरूपमा र पूरै राष्ट्रका लागि समस्टिगत रूपमा यो समस्याले गम्भीर संकट निम्त्याउने लक्षणहरू स्पस्टसँग देखा पर्दैछन् । तिनको निदान वेलैमा भएन भने समस्याले अझै व्यापक र विनाशकारी रूप लिनसक्ने निश्चित छ । यस सन्दर्भमा, अपेक्षित सकारात्मक र प्रभावकारी यथोचित क्रियाकलापको कार्यान्वयन विशेषगरी राज्य पक्षबाट र इमान्दार प्रयास अन्य सबै सम्बन्धित व्यक्ति, वर्ग, संस्था तथा समुदायबाट परिणाममुखी तवरबाट सफलतापूर्वक सम्पन्न हुन सकोस् भन्ने इच्छा र विश्वासका साथ यो आलेख तयार पारिएको हो । यस आलेखको प्रारम्भिक स्वरूप लोकान्तरमा हालै प्रकाशित गराइसकेको भए पनि यसमा समाविष्ट विषयवस्तु हाम्रो देशको हाल विद्यमान परिस्थितिमा सकेसम्म बढी जनमानसमा पुर्‍याउनु सबैका लागि लाभकारी हुने देखी पंक्तिकारले त्यसलाई केही परिवर्तित र परिष्कृत रूपमा यहाँ प्रस्तुत गरेको हो । आशा र विश्वास छ, यो प्रयास सार्थक रहनेछ ।

वन-जङ्गलको महत्व र महिमा
मानवका लागि मात्र नभएर समस्त जीवजन्तुका निम्ति समेत प्राण-वायु, पानी र जमिन-माटो अस्तित्व, वृद्धि र विकासका प्रमुख आधार हुन् । ती तीन जीवनाधारको धरातललाई सबल, सुदृढ, स्वच्छ एवं सुसंचालित पार्नमा वनस्पतिको अत्यन्त ठूलो योगदान रहन्छ, यद्यपि वन-वनस्पतिलाई पनि माटो र पानीमा भर पर्नुपर्छ, आफ्नो अवस्थिति, पोषण, वृद्धि, उत्पादकत्व र निरन्तर अस्तित्वका लागि । मानिस आफ्नो सृष्टिकालदेखि नै जीविका र जनजीवनका विविध महत्वपूर्ण उद्देश्य परिपूर्ति गर्न विभिन्न प्रकारले बोटबिरुवा, वन-जंगलमाथि अत्यधिक मात्रामा आश्रित रहेको छ- खाद्यान्न, फलफूल, सागपात, जडीबुटी, रेशा (लत्ता-कपडा, कागज, चकटी, गुन्द्री, मान्द्रो, डोको-डालो, जाबो, डोरी-दाम्लो आदि), छाना, छहारी, कुटी, टहरा, घर, कुर्सी-टेबल, पशुपालन (घाँस, छाप्रो, स्याउला-सोत्तर), इन्धन (खाना पकाउन, आगो ताप्न, उज्यालो पार्न, आरनदेखि उद्योग संचालन गर्न), कृषि औजार (अंकुसे, दाउनडो, कुटो, कोदालो, हँसिया, बन्चरो आदिका बिँड, हलो-हलानो, जुवा-सैला, लौरी), बार-तोर, सिँचाइ (पनालो), भण्डारण (धान-कोठी, भकारी, कोर्को, डूरो, खुचो, दराज, बाकस, ठेकी आदि), मदानी, मूर्ति, सजावट सामग्री, वाद्य-सामग्रीदेखि विमान निर्माणसम्म, पारवहन (डुंगा, पुल-पुलेसादेखि जहाजसम्म) तथा अन्य धेरै उपयोग र उपभोगका लागि ।

उपर्युक्त प्रयोजनका अतिरिक्त वन-जङ्गलका अन्य विविध सकारात्मक गुण र प्रभावबाट मानिस र अन्य जन्तु-जनावरसमेत लाभान्वित भइरहेका हुन्छन् । विशाल वृक्षहरूले सूर्यका हानिकारक परावैजनी किरणहरूलाई जमिनमा पुग्नबाट रोकी मानिसलाई संरक्षित गर्छन्; तापक्रमको अत्यधिक घटबढलाई नियन्त्रण गरिदिन्छ; वर्षादको पानीलाई जमिनमा संग्रह हुन दिई अविरल मुहानको सिर्जना गराउँछ; बाढी-पहिरो, भूस्खलन नियन्त्रण गर्छ; पिउने पानीको प्राकृतिक प्रशोधन गराउँछ; बादल बन्न र वर्षा हुन सघाउ पुर्‍याउछ। माटोको संरक्षण, उर्वराशक्ति र उत्पादकत्व बढाउँछ; ध्वनि, धुलो, धुवाँलाई अवशोषण गरी प्रदूषण नियन्त्रण गर्छ; हावाहुरीको वेगलाई पनि नियन्त्रण गर्छ; मौरी, चरा-चुरुंगी, अन्य लाभकारी जीवजन्तुको आश्रय र अस्तित्व सम्भव पारी पर्यावरणीय सन्तुलन र सुचक्र सुसंचालित पारिरहेका हुन्छन् ।

सामान्यतया जनमानसमा वन-जङ्गलका काष्ठजन्य स्थूल र प्रत्यक्ष आर्थिक लाभहरूबारे बढी जानकारी र चासो भएको पाइन्छ, यद्यपि वन–सम्पदाका पर्यावरणीय, सामाजिक तथा सांस्कृतिक र भावनात्मक सुक्ष्म स्वरूपका लाभहरू अझै बढी गहन र दूरगामी महत्वका छन्, परोक्षरूपमा आर्थिक दृष्टिले समेत । उदाहरणका लागि, प्रदूषण घट्दा मानिसको स्वास्थ्यमा सकारात्मक असर पर्छ, औषधोपचार खर्च र दुःख-कष्ट घट्छ वा हट्छ, उत्पादकत्व र उत्पादन बढ्छ । मौरीले मह उत्पादनका अतिरिक्त बोटबिरुवा र बालीनालीको परागसेंचनमा सघाउ पुर्याइ कृषि उत्पादनमा वृद्धि गरिदिएका हुन्छन् । माटो, पुल-पुलेसा, बाँध, कुलो, नदी, कुवा, ताल, पोखरी, खेतबारी, घर-बस्ती, पानीका मुहान आदिको संरक्षण स्वाभाविकैले अपार र दूरगामी महत्वका लाभहरू हुन्, वन-जङ्गलको संरक्षण र संवर्द्धनबाट प्राप्त हुने । वैज्ञानिक अध्ययन/अनुसन्धान, पर्यटन, बाली तथा पशुधन नश्ल सुधार र औषधि उत्पादनबाट थप लाभहरू हासिल हुन्छन् ।

वन-जङ्गलको सौम्य, सुन्दर, स्वच्छ, शीतल र शान्त वातावरणले मानिसको मनमा सुख, शान्ति, सन्तुष्टि, स्थिरता, सहिष्णु र सकारात्मताको भावना र व्यवहार जागृत र सुदृढ पारिदिन सक्छ । कला, साहित्य, संगीत, सद्ज्ञानका लागि साधना यस्तै पर्यावरणमा सफलीभूत हुने गर्छ; यसका अनेक असाधारण प्रमाण विद्यमान छन् । वन-जङ्गलका समष्टिगत लाभहरू अपार र अनन्त महत्व र मूल्यका छन् । मानव आफ्नो जन्मदेखि मृत्युपर्यन्तसम्म पनि विभिन्न तवरले वन-जंगलमा आश्रित छ र रहिरहनेछ । तसर्थ, मानव हित/अहित र वन-जङ्गलको वृद्धि र विनाशबीच अन्योन्याश्रित सम्बन्ध छ ।

वन-जङ्गलको बहुआयामिक महत्वबारे प्राचीन कालमा नै वृक्षायुर्वेद (उपवन विनोद) जस्ता ग्रन्थहरूमा वर्णन गरिसकिएको थियो । तत्पश्चात हालसम्म पनि वन-जंगलको महत्व र महिमाका विषयमा थुप्रै अध्ययन/अनुसन्धान, विवेचना/व्याख्या हुँदै आइरहेका छन् । साथै, कतिपय (जस्तै- मलेसिया) देशहरूमा वन सम्पदाको संरक्षण, संवर्द्धनका साथै समुचित र सन्तुलित उपयोगले राष्ट्रिय समृद्धिमा ठूलो योगदान पुर्‍याएको छ । केही देशले त अझ आफ्नो देशको वन-जंगलमा ह्रास आउन नदिन अन्य राष्ट्रहरूबाट काठ आयात गरी प्रयोग गर्ने गरेको समेत पाइन्छ । पंक्तिकार संयुक्त राष्ट्रसंघीय अनुसन्धानकर्ता (स्थानीय तथा क्षेत्रीय विकास)को जिम्मेवारीमा जापानमा हुँदा सन् १९९६तिर त्यस देशको ग्रामीण क्षेत्रको अवलोकन र अध्ययन भ्रमणमा निस्केका बखत एक ठाउँमा धेरै ठुल्ठूला आकर्षक फल्याकहरू सजाएर राखेको देखी सोध्दा ती संयुक्त राज्य अमेरिका र मलेसियाबाट ल्याइएको भन्ने जानकारी पाएको थियो ।

वनस्पति र पर्यावरणका विभिन्न अवयवहरूको बहुआयामिक गुण र उपयोगिताबारे आफ्नो बृहत् परम ज्ञान र कृतज्ञता भावले गर्दा नै हाम्रा ऋषिमुनिहरूले परापूर्वकालमै तिनलाई ईश्वरतुल्य मान्यता दिँदै तिनको स्तुति-प्रार्थनाको परिपाटी बसालेका थिए । ॐ… वनस्पतयः शान्तिः … आदि शान्ति-मन्त्रहरूको प्रतिपादन र प्रयोग ऋग्वेद कालबाटै सुरु भई ज्ञानवान र गुणवान व्यक्ति तथा वर्गबाट आजपर्यन्त अपनाइँदैछ र निरन्तरतामा रहनेछ । वन-वनस्पतिको विशेष सन्दर्भमा, पीपल एक सर्वाधिक महत्वको वृक्ष हो । अत्यन्त बढी मात्रामा प्राणवायु (अक्सिजन) दिने यो विशाल वृक्षका अन्य विविध धेरै महत्वपूर्ण गुणहरू र उपयोगिताहरू पनि भएकाले यसलाई वृक्षराजको संज्ञा दिँदै यसको सम्मान एवं संरक्षणखातिर निम्न स्तुतिको रचना र प्रयोग भएको पाइन्छः–

मूले ब्रह्मा, त्वचे विष्णु, शाखायां श्री महेश्वरः ।
पत्रे–पत्रे स्थिता देवाः, वृक्षराज नमस्तुते ।।

आधुनिक विज्ञानमा पनि पीपललाई धार्मिक महत्व दिँदै ‘फिकस रिलिजिओसा’ नामाकरण गरिएको छ । त्यसैगरी, तुलसीलाई ‘ओसिमम स्यान्टम’ नाम दिइएको छ, किनभने यसले पनि वातावरणलाई स्वच्छ गर्छ र आफ्नो आकारको तुलनामा अत्यधिक प्राणवायु उत्सर्जन गर्छ । वन-जंगलको क्षति गर्नु हुन्न, संरक्षण गर्नुपर्छ भन्ने सन्देशहरू विश्वका सबै प्रमुख स्थापित धर्म र विश्वास र ग्रन्थहरूले सम्प्रेषण गरेका छन् । जस्तै- ऋग्वेद (३।१।६)मा इन्धनार्थाय शुष्काणां द्रुमाणामवपातनम् (अर्थात्, इन्धनका लागि हरिया रुखहरू काट्नु पाप हो) भनिएको छ । अवश्य पनि, उपयुक्त विकल्पहरू रहँदा-रहँदै कुनै पनि प्रयोजनका लागि रुख-बिरुवाहरू नष्ट गर्नु अपराध नै हो किनभने त्यसबाट समस्त समाजलाई प्रत्यक्ष वा परोक्ष रूपमा केही न केही प्रकार र मात्राको क्षति पुगेकै हुन्छ ।

नेपालमा वन-जङ्गलको अपरिहार्यता र विडम्बना
अधिकांश भूभाग भिरालो, अस्थिर, कमजोर, संवेदनशील भएको र अत्यधिक जनता ग्रामीण बस्ती र कृषिमा आधारित रहेको हाम्रोजस्तो देशका लागि वन-जंगलको महत्व र आवश्यकता तुलनात्मक रूपले अझै बढी प्रस्ट र प्रगाढ छ; त्यसैगरी यसको संरक्षण र संवद्र्धनको अनिवार्यता । सन् १९९५को डिसेम्बरको पहिलो हप्ता फिलिपिन्सको राजधानी मनिलामा आयोजित वल्र्ड कन्फरेन्स अन ग्रीन प्रोडक्टिभिटीमा पंक्तिकारले प्रस्तुत गरेको र केही पछि जापानस्थित एसियन प्रोडक्टिभिटी अर्गनाइजेसन(एपिओ)ले प्रकाशित गरेको कार्यपत्रमा यस विषयलाई विशेष महत्वका साथ समावेश गरेको छ । त्यसैगरी, सोही हप्ता काठमाडौँमा सम्पन्न पर्वतीय विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत र पछि प्रकाशित आफ्नो आलेखमा पनि पंक्तिकारले यस विषयलाई विशेष जोड दिएको छ । केही समय कृषि विकास, वातावरणीय अर्थशास्त्र, उद्यमशीलता, विकासका मानवीय पक्ष, आर्थिक योजना र नीति, व्यवस्थापकीय अर्थशास्त्र, प्राकृतिक संसाधन व्यवस्थापन, र लामो समय दिगो विकास, संरक्षण तथा ग्रामीण विकास, र आर्थिक विकास जस्ता विषयहरूको प्राध्यापन, अनुसन्धान र अनुसन्धान निर्देशनमा र हाल मानव बस्ती र दिगो विकाससम्बन्धी परामर्श सेवामा संलग्न भएकाले पंक्तिकार यस आलेखमा प्रतिविम्बित विषय र विचारहरूमा विशेष रुचि र चासो राख्दै आएको हो । हरित-उत्पादनसम्बन्धी विश्व सम्मेलन १९९५ले आफ्नो घोषणापत्रमा विकास र वातावरणबीच तादात्म्य स्थापित गर्नुपर्ने आवश्यकतालाई दरिलोसँग अभिव्यक्त गरेको थियो । सम्मेलनको मुलभूत निष्कर्ष के थियो भने, ती देश यथार्थमा सम्पन्न र शक्तिशाली हुन् जो हरित उत्पादनको अवधारणा र अभ्यासलाई अपनाई स्वच्छ र सबल रहन सफल हुन्छन् ।

‘नेपालको धन हरियो वन’ युक्तिलाई अतीतमा सीमित नराखी निकट भविष्यमै चरितार्थ गर्नु हाम्रा लागि आज टड्कारो आवश्यकता भएको छ । हाम्रा कैयन धार्मिक आस्थाका केन्द्र मठ-मन्दिरहरूका वन-जङ्गलहरू भने अझै पनि सन्तोषप्रद तवरमा सुरक्षित, संरक्षित, सघन र सुदृढ अवस्थामा रहेको पाइन्छ । निकै हदसम्म सामुदायिक वनहरूले पनि सबलता र सफलता प्रदर्शित गरेका छन्, यद्यपि तिनमा आफ्नै केही कमी-कमजोरीहरू नदेखिएका होइनन् । नेपालको कुल भूभागमा खास वन-जङ्गलको अनुपात विगत दुई दशकमा २९ प्रतिशतबाट बढेर हाल ४० प्रतिशत पुगेको भनिए पनि घना, मिश्रित र बहुउपयोगी वन-जंगलको परिमाणमा भने तात्विक ह्रास नै आएको समष्टिगत अनुमान छ । यो निस्सन्देह चिन्ताको विषय हो । सदियौं लगाएर सिर्जना भएको प्राकृतिक वन पर्यावरण (फरेस्ट इकोसिस्टम)मा भएको क्षति प्रायः अपूरणीय र सर्वाधिक विनाशकारी हुन्छ । दुर्भाग्यवश, नेपालमा लामो विगतदेखि वर्तमानसम्म यस्ता वन-विनाशहरूले यदाकदा भयावह रूप लिइरहेको पाइन्छ । वन-विनाशको फलस्वरूप कैयन गाउँबस्ती, खेतबारी, पुलपुलेसा, कुलो-पैनी आदि र जनधनमा ठूलो क्षति हुनुका साथै पानीका मुहान, इनार आदि सुकेको देख्नु, सुन्नु र भोग्नु नियति बनेको छ । अत्यन्त ठूलो धनराशीको लगानीमा संचालित संरक्षण परियोजनाहरू र कार्ययोजनाहरूले सन्तोषजनक प्रतिफल देखाउन सकेका छैनन् । कतिपय त केवल आफ्नालाई पुष्टिकर रोजगारी र सुविधाहरू दिनकै लागि मात्र सिर्जित र संचालित प्रतित हुन्छन् ।

चुरे शृंखलाको गम्भीर स्खलन रोकिन सकेको छैन । वर्षा हुँदा चुरेबाट भावर हुँदै बग्ने मलिलो र मन्द गतिको भल छोपी मनग्य कृषि उत्पादन गर्न विगतमा प्रतीक्षारत रहने गरेका तराईका किसानहरू हालका दशकहरूमा भने ढुंगा-बालुवा बोक्दै तीव्र वेगमा आउने भंगालोबाट घर-खेत मात्र होइन, जिउ (ज्यान नै जोगाउन गाह्रो हुने त्रासदीय चुनौती र पीडाबाट ग्रस्त छन् । हालसम्म आइपुग्दा, अब महाभारत लेकको वन-जङ्गल समेत व्यापक अतिक्रमण र क्षति भोग्न थालेको दुःखद् समाचारहरू सुनिन थालेका छन् । आवागमन सुविधा सिर्जना गर्ने बहानामा कुनै गहन प्राविधिक अध्ययन र उपयुक्तताबिना नै शक्तिशाली यन्त्रहरुको सहायताले मूल्यवान वन-जंगल मास्दै जथाभावी किसिमले सडक खन्ने होडबाजी स्थानीय स्तरमा व्यापक भएको छ, जसले भीर-पाखाहरूलाई क्षत-विक्षत पारी खेत-बारी, कुलो, पैदल बाटो आदि पुर्ने र पानीका मुहानहरू सुक्ने भई स्थानीय सर्वसाधारणको जनजीवनलाई थप कष्टकर पार्दैछ । यन्त्र-उपकरणहरूको खरिद र प्रयोगको माध्यमद्वारा र काष्ठ/गैरकाष्ठ वन-पैदावारको दोहन गरी निहित स्वार्थजन्य अर्थोपार्जन गर्ने उद्देश्यबाट प्रेरित त्यस्ता क्रियाकलापबाट स्थानीय सर्वसाधारण, आगन्तुकहरू, र अन्ततोगत्वा सम्पूर्ण राष्ट्रलाई नै विभिन्न प्रकारले क्षति पुग्ने निश्चित छ । विकासको बहाना बनाएर वन-जङ्गल र वातावरणमा अपूरणीय क्षति पुर्याउनु घोर कुकर्म र गम्भीर प्रकृतिको अपराध हो । यसको शृंखला नरोकिँदासम्म देश र जनताको भलो किमार्थ सम्भव छैन । त्यसैले यसलाई पूर्णरूपमा नियन्त्रण गर्नु आजको हाम्रो परमावश्यकता हो ।

सुदूरपश्चिममा, भौगर्भिक दृष्टिले एक अति संवेदनशील क्षेत्रको घना वन मासेर प्रदेश राजधानी बसाल्ने तयारीले पनि वितण्डा मच्चाइरहेको छ । कैलालीलाई प्रदेशको राजधानी तोकिनु आफैमा त्रुटिपूर्ण कार्य हो । त्यसमाथि, अति संवेदनशील क्षेत्रको वन-जङ्गल नष्ट गरी सहरीकरण गर्नु नितान्त आपत्तिजनक र विनाशकारी निर्णय हो, जसका परिणामहरू त्यस क्षेत्र र त्यसका सम्पूर्ण तल्लो-तटीय तराई क्षेत्रका लागि निःसन्देह निकै घातक हुने देखिन्छन् । नेतृत्व वा सरकारी पक्षले आफ्नै एकतर्फी र एकोहोरो संकीर्ण स्वार्थ, दम्भ र उन्मादमा लिप्त भई गर्ने यस्ता क्रियाकलापले अन्ततोगत्वा अपूरणीय क्षतिबाहेक केही हात लाग्दैन । निःस्वार्थ र निष्पक्ष तवरले गरिएको विज्ञ राय-सुझावहरूलाई अवमूल्यन र उपेक्षा गर्ने र आफ्ना अन्धभक्त, चाटुकार चाकरीदारहरूसँगको मिलोमतोमा बलमिच्याईं गरी अन्धाधुन्ध तरिकाले पर्यावरणीय क्षति सिर्जना गर्दै ठूला निर्माण योजना लागू गर्नु शक्ति केन्द्र, संयन्त्र वा संजालको अत्यन्त अविवेकपूर्ण, अन्यायपूर्ण, अनुचित र अन्त्यमा आत्मघाती क्रियाकलाप हो । विषय-विज्ञहरू, विवेकी भुक्तभोगीहरू र प्रभावित क्षेत्रका सर्वाधिक प्रभावित परिवारहरूको आवश्यकता र भावना अनुरूपको सही सल्लाहलाई स्वीकार र शिरोधार्य गरी आफ्ना त्रुटिपूर्ण निर्णयहरूलाई बेलैमा सच्याउनु उनीहरू स्वयंका लागि समेत शुभ हुन्छ । सोझो बाटो हिँड्ने र हिँड्न भन्नेहरूलाई विरोधी वा वैरी सम्झने परम्परागत र मध्ययुगीन शासकीय प्रवृत्तिको सामयिक परित्याग सम्बन्धित सबैका लागि श्रेयस्कर हुनेछ ।

विमानस्थलहरू अवश्य बन्नु पर्छ । तीव्र, सन्तुलित र दिगो विकास हासिल गर्नु हाम्रा लागि अपरिहार्य भइसकेको छ । हाम्रोजस्तो भूपरिवेष्टित र अत्यधिक पहाडी मुलुकमा यातायातका लागि स्थल मार्गभन्दा पनि हवाई मार्ग बढी छिटो-छरितो, सहज र सुपथ हुन सक्छ । यसबारे केही विस्तृत विवेचना यस पंक्तिकारले नेपाल सिभिल एभिएसन अथोरिटी सोभिनिर २००० मा प्रकाशित डेभलपमेन्टल रोल एन्ड च्यालेन्ज अफ सिभिल एभिएसन इन नेपाल शीर्षकको आफ्नो लेखमा प्रस्तुत गरेको छ । यस आर्यावर्त क्षेत्रमा हजारौं वर्षअघि नै विभिन्न प्रकारका सुविधायुक्त र शक्तिशाली विमानहरूले सेवा पुर्याउने गरेको कुरा ऋग्वेद, पद्म पुराण, हरिवंश पुराण, रामायण र महाभारतजस्ता प्राचीन ग्रन्थहरूले उल्लेख गरेका छन् । ती विमानहरूमध्ये केहीचाहिँ आजको आधुनिक युगमा हालसम्म बनेका उत्कृष्ट जहाजहरूभन्दा पनि धेरै विशिष्ठ थिए, भन्ने समेत उल्लेख छ।

बारा विमानस्थल बनाउन २४ लाखभन्दा बढी रुखहरू काटिने विवादास्पद प्रस्ताव र परियोजनाले यतिखेर स्वाभाविकैले सबै सचेत, सजग व्यक्ति, संस्था र समुदायमा ठूलो चिन्ता र चासो उत्पन्न गराएको छ । त्यस्तो व्यापक फँडानी भएमा प्रत्यक्ष प्रभावित हुने जनसमुदायमा सर्वाधिक दुःख र चिन्ता पुग्ने नै भयो । पानीका मुहान र स्रोत सुक्ने छन्; खेतको उर्वराशक्ति, उत्पादकत्व, कुल उत्पादन र कृषकको उपभोग र आमदानी स्तरमा ह्रास आउने छ; जीवनस्तर खस्किनेछ । विमानस्थल निर्माण र संचालनले केही सीमित प्रभावशाली, पूँजीपति, पहुँचवाला, पढेलेखेका, व्यवसाय-कुशल व्यापारिक व्यक्तिहरूका लागि लाभप्रद अवसरहरूमा अभिवृद्धि हुनजाने छ । सम्भवतः सीमापारिका बढी सजक, सबल र सक्षम व्यवसायीले सर्वाधिक मुनाफा वर्चस्व राख्नेछन् । हवाई उडान विरलै प्रयोग गर्ने बहुसंख्यक स्थानीय सर्वसाधारणलाई विमानस्थल संचालनबाट तात्विक लाभ हासिल हुने देखिँदैन । बरु उनीहरूको कृषि उत्पादनमा ह्रास आई जीविकोपार्जनमा थप समस्या सिर्जना हुनसक्नेछ । विनाशकारी परिणामहरूलाई समयमै रोक्नु विभिन्न दृष्टिले अझै ठूलो महत्वको आवश्यकता हो, हामी सबैका लागि।

उपर्युक्त दृष्टिकोणबाट हेर्दा बारामा विमानस्थल निर्माण गर्न सीमित मात्रामा मात्र वन-जङ्गल फँडानी हुने प्रकारले मझौला आकारको विमानस्थल निर्माण गर्ने वा अन्य विकल्पका साथ अघि बढ्नु श्रेयस्कर देखिन्छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणार्थ अन्य कुनै स्थान चयन गर्न सकिन्छ । हामीसँग हाम्रो सानो देशमै पनि उजाड र कृषि-कर्मका लागि सामान्यतया कम उपयुक्त जमिनका फाँटहरू थुप्रै छन्। विमानस्थलजस्ता प्रयोजनको लागि तिनीहरूको सदुपयोग निकै सान्दर्भिक, सहज, सुपथ र सहयोगी हुन सक्छ। हाम्रो देशमा हालसम्म विद्यमान क्षेत्रीय असमानताको गहिरो खाडललाई न्यून पार्न पनि त्यसले सहयोग पुग्ने प्रचूर सम्भावना छ। यसरी हेर्दा, अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण र संचालनका लागि दाङ उपत्यका पनि एक उपयुक्त विकल्प हुनसक्छ।

वातावरणलाई बेवास्ता गरी तीव्र औद्योगिकीकरणद्वारा शीघ्र सम्पन्नता खोज्दा केही (जस्तै-चिन) देशहरूले विकराल प्रदूषण र त्यसका गम्भीर नकारात्मक प्रभावबाट पीडित हुन थालेपछि बृहत् वृक्षारोपण अभियानको थालनी गरी सहरहरू हराभरा बनाएर प्रदूषण घटाउने प्रयास गरेको पाइन्छ । त्यस्तै, तीतो अनुभव जापानले पनि गरेको छ र सजग छ । हामीले समयमै अरूको अनुभवबाट पाठ सिकेर बेलैमा देश विकासको प्रक्रियालाई सही र दिगो बाटोबाट अगाडि बढाउनु स्वाभाविकैले श्रेयस्कर छ र अनिवार्य पनि । उपचारभन्दा रोकथाम बेस भनेझैं बेलैमा सजग, सचेत, सकारात्मक र सक्रिय भई आफ्नो देशको वन-जंगलको संरक्षण र संवर्द्धन गर्नु अवश्य पनि सबै सरोकारवालाहरूका लागि ठूलो अनिवार्यता, नैतिक दायित्व र बुद्धिमानी हो । सयौं र हजारौं वर्षमा परिपक्व, सन्तुलित, सघन र समृद्ध भएको वन पर्यावरण (फरेन्ट इकोसिस्टम)को विकल्प नव-सिर्जित वन हुन सक्दैन । त्यसै पनि रुख-बिरुवाहरू रोपेर मात्र पुग्दैन, तिनलाई जोगाउनु र हुर्काउनु बढी महत्वपूर्ण र चुनौतिपूर्ण हुन्छ र प्रायः विफल भएको पाइन्छ ।

उपसंहार
वन पैदावारहरूलाई प्रयोग नै नगरी सुरक्षित मात्र राख्न खोज्नु पनि व्यावहारिक र दिगो विकासको अवधारणा र अभ्यास होइन । व्यवस्थित, वैज्ञानिक, मितव्ययी, न्यून क्षति हुने र सदाका लागि संरक्षित र सदावहाररूपमा रहिरहने गरी वन सम्पदाको प्रयोग र प्रवर्द्धन गर्नु दिगो विकास अनुरूपको यथोचित अभ्यास र मानव अभिभारा हो । हरेक सुसंस्कृत समाजमा रुख-बिरुवा रोप्नु-हुर्काउनुलाई पुण्य कार्य मानिन्छ । हामी हाम्रो देशलाई पुण्यभूमि मान्छौं । केही बाह्य जगतले समेत नेपाललाई देवभूमि मान्छ । त्यस्तै, वन-वनस्पतिलाई पनि सभ्य समाजले पुण्यताको प्रतीक मान्दै आएको छ । यस अर्थमा पनि, वन-जंगललाई पर्याप्त उचित उद्देश्यबिना क्षति पुर्याउनु नमेटिने पाप हुने र त्यसको कुप्रभाव विभिन्न किसिमले भावी सन्ततिसम्म पर्न जाने कुरा यस श्लोकबाट पनि छर्लंगिन्छः–

अन्य क्षेत्रे कृतं पापं पुण्य क्षेत्रे विनश्यति ।
पुण्य क्षेत्रे कृतं पापं वज्रलेपो भविष्यति ।।

यदि केहीले पाप र पुण्यमा विश्वास गरेनन् भने पनि कर्तव्य-अकर्तव्य, भलो-कुभलो, सिर्जना-संहार, उचित-अनुचित, विकास-विनाश, दया-निर्दयता, करुणा-क्रुरता, सत्य-असत्य, न्याय-अन्याय, उचित-अनुचित, उपयुक्त-अनुपयुक्त, आवश्यक-अनावश्यक आदिमा भएका भिन्नताबारे त हरेक विवेकी जनलाई ज्ञान हुन्छ । सामान्य विवेक नै छैन, रहेन वा त्यसमा बिर्को लाग्यो भने त के नै गर्न सकिन्छ र ? केवल आफ्नो स्वार्थसिद्धि हासिल गरे भइहाल्यो । देश र जनताको त नाम मात्र रटे पुगिहाल्यो । उनीहरूमा पर्न जाने प्रभावबारे के चासो, के चिन्ता ? तर, शान्ति, समुन्नति, समृद्धिका लागि सुशासन अपरिहार्य आवश्यकता हो । सुशासनमा शासक, प्रशासक र सबै सरोकारवालाहरूमा देशप्रतिको कर्तव्यबोध, समर्पण, संवेदनशीलता, सहिष्णु र सहयोगको भावना र व्यवहार नितान्त आवश्यक आधारभूत तत्व हुन्, जसको कमीले देशमा अस्थिरता, अन्योल, अन्याय, अराजकता, अभाव, अशान्ति र अविकासको कुचक्रको आवृत्ति र पुनरावृत्ति हुन्छ र अभावले विकराल संकट र सास्ती उत्पन्न हुन्छ ।

संसारका सर्वाधिक सुखी केही देशहरूमध्ये कोस्टारिका एक हुन पुग्नुको प्रमुख कारक तत्वमा सुशासनको सुनिश्चितताका साथै पर्यावरणको उत्कृष्ट समृद्धि, संरक्षण र उचित उपयोग र व्यवस्थापन नै हुन् । कोरा आर्थिक नारा र केवल आर्थिक वृद्धिले देश सम्पन्न र जनता सुखी हुन सक्दैनन् । सर्वतोमुखी र दिगो विकासका लागि आर्थिक, सामाजिक र वातावरणीय पक्षहरूको सन्तुलित र समुन्नत समायोजन अनिवार्य हुन्छ । विकास, वातावरण, वन सम्पदा एक-अर्काका अन्तरविरोधी कहिल्यै हुँदैनन्, बरु सधैं परिपूरक हुन्छन् । यस तथ्यलाई ध्यानमा राखेर महत्व दिई व्यवहारमै देखाएर बनाएको र कार्यान्वयन गरिएको विकासको ढाँचाले मात्र देशलाई शान्ति, समुन्नति, समृद्धि र सुखतिर उन्मुख गर्न सक्छ ।

हालै नेपालका प्रधानमन्त्री (कार्यकारी प्रमुख)बाट गरिएको कोस्टारिका भ्रमणलाई तब मात्र पूर्ण सार्थक मान्न सकिएला, जब देशको समस्टिगत सुशासनमा आमूल सुधारका ठोस कार्यक्रम र तिनका प्रारम्भिक परिणामहरू अविलम्ब सबैसामु स्पस्टसँग देखापर्छन् । अन्यथा, त्यस्ता कैयन भ्रमण, शब्द र दस्तावेजहरू मात्रको तात्विक अर्थ रहने छैन । सकारात्मक समालोचना र सुझावहरू कहिलेकाहिँ तीता लाग्न सक्छन् । तर, विषालु कदापि हुँदैनन् । बरु, पत्यारका साथ समयमै र यथोचित मात्रामा ग्रहण गरियो भने तिनले अचूक र औधी उपयोगी औषधीझैं काम गर्न सक्छन् ।

(डा. ओझाले ग्रामीण तथा क्षेत्रीय विकास योजना विज्ञान विषयमा १९९५मा विद्यावारिधि, १९९०मा स्नातकोत्तर गर्नुभएको छ ।)

Tags :
प्रतिक्रिया दिनुहोस