शासन प्रणाली « प्रशासन
prasaLogo
२३ आश्विन २०७५, मंगलवार

शासन प्रणाली


प्रकाशित मिति : 9 October, 2018 7:30 am

सार्वजनिक शासन

प्रश्न:सार्वजनिक सेवा प्रवाहका आधारभूत सिद्धान्तहरू उल्लेख गर्दै नयाँ सार्वजनिक शासन (एनपिजी) का विशेषताहरू चित्रण गर्नुस् ।

सरकार वा राज्यले नागरिकलाई प्रदान गर्नुपर्ने सेवाहरूलाई छिटो, छरितो, मितव्ययी एवम् प्रभावकारी रूपले उपलब्ध गराउने प्रक्रिया नै सार्वजनिक सेवा प्रवाह हो, यो नागरिक र सरकारलाई जोड्ने सम्बन्ध-सेतु हो, जुन यो लोक कल्याणकारी राज्यको पूर्वसर्तको रूपमा रहेको हुन्छ । यो सरकारको प्रभावकारिता मापनको आधार हो ।

सार्वजनिक सेवाका आधारभूत सिद्धान्त
सार्वजनिक सेवा विभिन्न मूल्य मान्यताद्वारा मार्ग निर्देशित हुन्छन्, जसलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ:
१. सन्निकटताको सिद्धान्त: नागरिकलाई दिइने सेवा तिनको सबैभन्दा नजिकको निकायबाट दिइनुपर्छ भन्ने सिद्धान्त नै सन्निकटताको सिद्धान्त हो ।
२. समपुरणको सिद्धान्त: सार्वजनिक सेवा प्रवाह व्यवस्थापनको जिम्मा त्यो सेवा जुन तहसँग सम्बन्धित हो, त्यही तहलाई दिइनुपर्छ भन्ने मान्यता हो ।
३. उत्तरदायित्वको सिद्धान्त: सार्वभौमसत्ताको स्रोतको रूपमा नागरिक रहने हुँदा सार्वजनिक निकायहरूले सेवा प्रवाह गर्दा नागरिकप्रति उत्तरदायी रहनुपर्छ भन्ने सिद्धान्त हो ।
४. पारदर्शिताको सिद्धान्त: जनताको करबाट सञ्चालित सार्वजनिक सेवा वा अन्य सरकारी स्रोत साधन कहाँ कसरी उपयोग भइरहेको छ भन्ने नागरिकले थाहा पाउनुपर्छ भन्ने सिद्धान्त पारदर्शिताको सिद्धान्त हो ।
५. अपेक्षाको सिद्धान्त: सरकारले आम नागरिकका इच्छा आकांक्षा र अपेक्षालाई केन्द्रबिन्दुमा राखी सार्वजनिक सेवा प्रवाहको मार्गचित्र तयार गरिनुपर्दछ भन्ने मान्यता हो ।
६. आधारभूत आवश्यकताको सिद्धान्त: नागरिकको आधारभूत आवश्यकताको सुनिश्चितता गर्नु राज्यको दायित्व भएको हुँदा सार्वजनिक सेवा प्रवाहले उक्त कुरा सुनिश्चित गर्न सक्नुपर्छ भन्ने यो सिद्धान्तको मान्यता हो ।

यी सिद्धान्तसँगै सार्वजनिक सेवा प्रवाह गर्दा राष्ट्र र जनताको बृहत्तर हित, कानुनको शासन, समन्याय र समावेशीकरण, मानवअधिकारको प्रत्याभूति, भ्रष्टाचाररहिता, तटस्थता र निष्पक्ष ता जस्ता पक्षहरूलाई समेत आधार मान्नु आवश्यक हुन्छ ।

नयाँ सार्वजनिक शासनका विशेषता: 
नयाँ सार्वजनिक शासन त्यस्तो Administrative  mode हो जुन निजी क्षेत्र, गैरनाफामुलक संघ/संगठन र नागरिक समाज जस्ता बहुपात्र को सहकार्य र समन्वयमा सञ्चालन हुन्छ । यसले शासन पद्धति बदलिँदो सामाजिक परिवेश अनुसार अनुकुलित हुनुपर्छ भन्ने मान्यता राख्दछ ।

यसका विशेषताहरू निम्नानुसार छन्: 

  • यसले अधिकारलाई विकेन्द्रीकरण गरी सार्वजनिक मामिलामा सरकारका अलावा निजी क्षेत्र र अन्य संघ संगठनहरूको निर्णायक भूमिकालाई जोड दिन्छ ।
  • सार्वजनिक हित प्रवर्द्धन, सार्वजनिक स्रोत परिचालनमा सरकारले शासनकर्ता नभई सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ भन्ने मान्यतामा आधारित छ ।
  • सरकार, निजी क्षेत्र, सामाजिक संगठन, समुदाय र नागरिकको बलियो सामूहिक सञ्जालद्वारा शासनको प्रभावकारिता अभिवृद्धि गर्छ ।
  • सम्बन्धित सबै सरोकारवालाबिच आर्थिक स्रोत, सूचना प्रविधिको आदानप्रदान गरी नागरिक आवश्यकता परिपूर्ति गर्नुपर्छ ।
  • सोसियल पब्लिक अर्गनाइजेसनहरू सामाजिक समस्या समाधानमा केन्द्रित गैर नाफामूलक हुने हुँदा त्यस्ता सङ्गठनहरूको भूमिकालाई प्राथमिकता दिनुपर्छ ।
  • सरकारले निजी क्षेत्र, सामाजिक संगठन, समुदाय र नागरिकहरूबिच कडा कानुनी बन्धनका आधारमा नभई आपसी विश्वास र समझदारीका आधारमा सहकार्य गर्नुपर्छ भन्ने मान्यता राख्छ ।

माथि उल्लिखित विशेषताहरूका साथै नयाँ सार्वजनिक शासनका थप विशेषताहरूमा Socio-Political governance, Public policy Governance, Administrative Governance, Contract Governance, Network Governance, Interdependent Governance, META Governance, Innovations In Governance  समेत पर्दछन् ।

निष्कर्ष:
सार्वजनिक प्रशासनको हालसम्मकै अत्याधुनिक रूपमा रहेको नयाँ सार्वजनिक शासन परम्परागत सार्वजनिक प्रशासन र नयाँ सार्वजनिक व्यवस्थापनको निष्कर्षको रूपमा विकसित भएको हो । यसको अवलम्बनबाट सार्वजनिक सेवा प्रवाहको स्तरमा सुधार भई लक्षित समूहसम्म गुणस्तरीय सेवा पु-याउन मद्दत पुग्छ ।

 


प्रस्तुति
सरोज पाण्डेय
भोजराज भट्ट


 

Tags :
प्रतिक्रिया दिनुहोस