सपनाको सरुवा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सपनाको सरुवा


किशोर अर्याल

१३ आश्विन २०७५, शनिबार


सरुवा

पंकेले दुर्गम गाउँको सेवा केन्द्रबाट स्काई फोनबाट डायल गर्दै सोधेको थियो, ‘ए, बुझ्दे न यार ! मेरो निवेदनकहाँ पुगेछ ?’ परार साल पनि सरुवाको निवेदन छोडेर आएको थिए । कसले च्यात्यो थाहा भएन, पोहोर साल पनी ६/७ ओटा टेबुलमा विनम्रका नमस्ते जोडी निवेदन दिएको थिएँ । केही सुन्नमा आएन, कसको घर्रामा खै केको आशक्तिको चेपुवामा विलिन भयो ? यो पटक पनि ७ दिनको बिदामा काठमाडौ गई तेही निवेदनको व्यहोरा पुनः चढाएर आएको हो, समय घर्किसक्यो केहि सुन्नमा आ’छैन । एकचोटी जान, मेरो फाइल कहाँ पुगेछ बुझेर फोन गर्दिम आउँदा फेरी महिना दिनको तलब त्यो हाहाकार काठमाडौंले चुसिहाल्छ । त्यति गर्दे न यार । फोन राख्यो ।

कस्तो उल्लु रैछ, यहाँ हाकिमहरूलाई संगठन र समृद्धिको कत्रो चिन्ता छ । तेरो सुक्खा सरुवाको चिन्ता गर्ने फुर्सद हुनु परेन । केही थाहा छैन उल्लु, यस्सो भरपर्दो सेटिङ मिलाएर गा’को भएपो हुन्थ्यो । त्यस्ता फुक्ला निवेदन त कति पर्छन् कति यहाँ ।

खै अब मन्त्रालयमा कसलाई सोधुम्, भिडभाड होला, सरुवा सिजनमा त गाईजात्रा नै हुन्छ, त्यहाँ कोटले ठाँटिएका र हुलमा बाँधिएका बाहेकलाई मुन्छेसम्म गन्दैनन् । तैपनि पंकेको चित्त बुझाउन, आफ्नो गिर्दो मनोबलका साथ मन्त्रालय हान्निए, नत्र अत्यन्त जरुरी काम पर्दाबाहेक त्यो सिंहदरबारको ढोकासम्म पनि हेर्ने जाँगर मरेर आउँछ । खस्कँदो निजामतीको अन्तर्राष्ट्रिय घमण्ड र कमजोर शासन पद्दतिको फाइदा अनैतिक हावा लागेर बिरामी भएका मान्छेहरू कति धेरै पो छन् त्यहाँ । ५८ पुगेपछि डिलबाट नगलहत्याएसम्म कोमाको कोमामै रहने दीर्घकालीन रोग लागेकाहरूको खोजी गर्नु छ भने सिंहदरवार छिरे हुन्छ । प्रसंगले अर्को अर्थ नलागोस् सबै रोगी मात्रै छन् भन्न खोजिएको पनि होइन । त्यहि पनि गेटपालेलाई नेपाली नागरिकको बौद्धिक हैसियत प्राप्त परिचय पत्र देखाई मन्त्रालयको बिल्डिङ नजिकै पुग्न के लागेको थिए, म त छक् ।

मान्छेहरूको अत्यधिक भिड त सोधपुछ कक्षमै थन्किएका । सोधपुछ कक्षको भित्तामा ठूलो स्क्रिनमा मन्त्रालयका आजका काम कारवाहीहरू डिस्प्ले भइरहेको, पहिलेको जस्तो विदेशी दाताले घोकाएका असान्दर्भिक आवाजविहिन भिडिओ टेप थिएनन् । मन्त्रालयअन्तर्गत भइरहेका काम कारबाहीको विवरण र अवस्था उल्लेख गरिएको थियो । कसैलाई बोलाइएको अवस्था वा अत्यन्तै जरुरी कामबाहेक कोही पनि व्यक्ति कसैको कार्यकक्षमा गएर देशको दुर्गति, राजनीतिलाई गाली वा निजामती सुधारका बौद्धिक विलासना गर्नै नपाउने अवस्था ।

विभिन्न शीर्षकमा के–के काम भइरहेको छ र कुन शाखा÷महाशाखाले के गर्दै छन् स्पष्ट देखिएको थियो । शीर्षकहरूमा– कर्मचारी सम्बद्ध काम कारबाहीको विवरण, नीति निर्माण एवम् कार्यविधिहरूको काम कारवाहीको विवरण, आम नागरिक सम्बद्ध काम कारबाहीको विवरण आदि उल्लेख गरिएको थियो । त्यस शीर्षकअन्तर्गत विभिन्न काम कारबाहीको उपशीर्षकमा कारवाहीको वर्तमान अवस्था उल्लेख गरिएको थियो । काम कारबाहीलाई वर्गीकरण गरी देखाइएको उक्त स्क्रिनमा निवेदन र फाइल प्राप्त एवं कारबाही सुरु मिति, काम सक्नुपर्ने मिति (डेडलाइन), हाल कुन काम कुन शाखाले गरिरहेको छ, अझ शाखा मात्र नभई व्यक्तिलाई नै जिम्मेवार बनाइएको देखिएको थियो । प्राथमिकतामा परेका जरुरी कामहरूलाई हटलाइनमा राखी कारबाही भइरहेको, समयमै काम भइरहेकालाई हरियो कलरमा, निर्धारित समयअवधि सकिन लागेका कामहरूलाई पहेलो कलरमा र समय नाघेकालाई रातो कलरमा देखिएको थियो । रातो कलरमा देखिएका कामहरूलाई कैफियतमा स्पष्टीकरण दिइएको थियो र सम्बद्ध कर्मचारीको कार्यसम्पादनसँग जोड्ने व्यवस्था समेत उल्लेख भएको (मतलब जिम्मेबार बनाइएको) । सु–संस्कारको सुरुवात त मन्त्रालयबाटै हुने रहेछ क्यारे ।

यस्तो लाग्थ्यो– सबै कर्मचारीहरूले सुशासन ऐनले भने अनुसारका प्रशासनिक कामकारबाही र सरकारी निर्णय सरलीकरण निर्देशिकाले गरेअनुसारका व्यवस्थाको पूर्ण पालना गरी सूचनाको हकको पूर्ण प्रत्याभूति गराउने गरी निष्पक्ष, स्वतन्त्र र पारदर्शी रूपले काम कारबाही गर्नु नै अहम् धर्म मानिरहेका छन् । स्वेच्छाचारिताको अन्त्य, राज्यशक्तिको सही सदुपयोग र सक्षम निजामतीको वास्तविक साख झल्किएको त्यो दृश्य कम्ता गौरवान्वित त थिएन ।

मलाई चासो थियो पंकेको, झिमिक झिमिक भइरहेको स्क्रिनमा सरुवा उप–शिर्षक देखे । त्यसमा विभिन्न श्रेणी अनुसार परेका निवेदन संख्या उल्लेख थियो, प्रगति विवरणमा सबै सरुवा निवेदनको व्यहोरा र मापदण्डमा छलफल हुँदै भन्ने उल्लेख थियो, निर्णय हुन दुई दिन बाँकी भनी तोकिएको थियो । अब म केका लागि कसको टेबुलमा जाने, त्यहीबाट फोन घुमाए पंकेलाई ।

म– ए तेरो निर्णय त पर्सीसम्म हुन्छ रे ।

पंके– कल्ले भनेको ?

म– यहाँ कम्प्युटरमा दे’खाको छ के ।

पंके– त्यहाँ जे पनि देखाउँछ, ताल परे मेरो निवेदन हराइसक्यो होला ।

म– शशंकित हुँदै भने, हरा’छैन होला, हुन त नाम कसैको नि लेख्या छैन ।

ठ्याक्कै त्यही बेला अर्को एकजनाले सुनाइहाल्यो । कस्को निवेदन परेको छ भन्ने कुरा त वेबसाइटमा हाल्या छ, सबै कुरा वेबसाइटमै हेर्न मिल्छ ।
मैले पंकेलाई भनिहाले, ए हेर त इन्टरनेटमा राख्या छ रे ! विचरा सात वर्षदेखि अनकन्टार सेवा केन्द्रमा थन्किएको पंके नेट चलाउन बिर्सी पो सक्यो कि, त्यही पनि ‘हुन्छ म हेर्छु’ भन्यो । सायद जिल्ला सदरमुकाम गएर हेर्ला ।

दुई दिनपछि मैले पनि वेबसाइट खोलेर हेरेको त निर्णय भइसकेको रहेछ । सबैको निवेदनमा सरुवा हुनु वा नहुनुको कारण उल्लेख थियो, किन र कहाँ के कति कारण र आधारमा निर्णय भएको भनी सफाई सहितको मापदण्ड खुलाई गरिएको चित्तबुझ्दो निर्णय हेरे, पंकेको पनि यो पटक त सरुवा भएको रहेछ, मागेकै अफिसमा । अनि सोचे पंके कति खुसी छ होला आज । विचरा छोराछोरी हुर्कदै गरेको नजिकबाट हेर्नसम्म पाएको थिएन, अब कम्तिमा दुई साल त सँगै बस्न पाउने भो । बधाई छ पंके तलाई, टोल फ्रि सरुवा पाइस् ।

‘आहा ! मैले देखेको सपनाको सरुवा’ भन्नै के लागेथे, ब्युझिहाले । सम्झे– पंके त्यो त सपना थियो, यसरी सरुवा हुन्न । सरुवाका न्युनतम आधारहरूलाई कसैले पनि नकार्न सक्दैन, यो कुनै एउटा व्यक्तिले मात्र चाहेर वा नचाहेर हुँदोरहेनछ सायद । धुरीमा झण्डा नझुण्याइएका र ज्यू हजुरको भाषा कमजोर भएका मान्छेका घरमा यदि चाडपर्वको वेला ज्वाई र चेलालाई दानदक्षिणा गर्ने चलन पनि रहेनछ भने त ति तटस्थ कर्मचारीलाई पदस्थापना र सरुवाका बेला अधिकार प्राप्त राता कलमले डामै बस्ने गरी कति पो सुम्ल्याउँछन् ।

थाहा त कसलाई छैन र । तर, मौकामा स्वविवेक प्रयोग गर्नुपर्नेले नगरेपछि अथवा फलानथोकको परिबन्धमा परेपछि वा पारिएपछि कस्को के लाग्ने रैछ र । विचरा पंकेको शरीरमा त्यस्ता सुम्ला कति पो बस्या होलान्, धन्न सहेको छ त्यो शरीरले ।

बिहान उठेर चिया पनि नखाँदै पंकेको फोन आयो । मैले हतार हतार सोधें– के भयो यार तेरो सरुवा, केही थाहा पाइस् ? पंके शान्त थियो, अनि भन्दै थियो मलाई त फाजिल पारेछन् । घरको न घाटको बनाए । खै मैले काम गरेकै मिलेनछ क्या हो ! मौका पाएँ भने अब मेरो पौरख र विवेकबाट चल्न सक्ने सेवाप्रवाहलाई अझ ध्यान दिएर राम्रो बनाउनुपर्ने भयो । विचरा पंके कति दुख पाउँछस्, तलाई अवकास नहुँदासम्म त्यो अख्तियार प्राप्त रातो अक्षर बग्ने छडीले कति हिर्काउलान्, हिसाव नै छैन । तर, मलाई लागिरहेको थियो कि पंके जीवनभर ति छडी थानका थान खान र सहन तयार छ तर, निजामतीको खोल ओढ्दासम्म उपचारको नाममा न कसैको झण्डा समाउन तयार छ, न कुनै मुर्ख कुर्सीलाई नमन गर्न तयार छ, न त कसैको डिनर सेट तयार गर्न नै तयार छ । चाहे कथाले मागोस् वा नमागोस् ।

Tags :
प्रतिक्रिया दिनुहोस