निजामती सेवा दिवस २०७५: एक संक्षिप्त चर्चा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निजामती सेवा दिवस २०७५: एक संक्षिप्त चर्चा


२२ भाद्र २०७५, शुक्रबार


निजामती सेवा

निजामती सेवा दिवसको सन्दर्भमा यस सेवा र यसका विविध समसामयिक पक्षहरूको बारेमा संक्षिप्त प्रस्तुति गर्नु यस लेखको उद्देश्य रहेको छ । यस लेखमा समावेश कुनै पनि कुराले लेखक सम्बद्ध स्थानीय सरकारको आधिकारिक धारणा प्रतिनिधित्व गर्दैनन् र लेखमा समावेश विचारहरू मात्र निजी विचारका रूपमा रहेको यथार्थता सुरुमै प्रस्ट पार्न चाहन्छु ।

निजामती सेवा र दिवस सम्बन्धमा
निजामती सेवा भनेको एक प्रतिष्ठित सरकारी सेवा हो । अहिले नेपाल सरकारको मुख्य सचिव निजामती सेवाबाटै ज्ञान र अनुभवले खारिएर सेवारत रहेका कर्मचारीबाट नियुक्त हुने प्रचलन छ । यो सेवा कानुनी आधारशिला सहितको सेवा पनि हो । कार्य सञ्चालन र प्रयोगका हिसाबले अरू सेवालाई अगुवाइ गर्ने खालको यो सेवाको आफ्नै ऐतिहासिक चिनारी पनि रहेको छ । निजामती सेवाले कानुनी मान्यता पाएको दिन वि सं २०१३ भाद्र २२ को सम्झनामा निजामती सेवा दिवस २०६१ सालदेखि मनाइँदै आइएको छ ।

स्वीकार गर्नै पर्ने अर्को एक सत्यता के हो भने निजामती सेवा राज्य सञ्चालनले व्यवस्थित रूप लिएदेखि हालसम्म निरन्तर क्रियाशील रही अप्ठेरो र रिक्ततामा राज्यसंरचनाको प्रमुख पात्र एवं सहयोगी बन्न सफल सेवा हो । चाहे राजनैतिक आरोहअवरोहहरुमा होस् वा देशलाई विपद परेका बखत नै किन नहोस् निजामती सेवामा आबद्ध जत्थाले उदाहरणीय त्याग र समर्पण प्रस्तुत गरेको छ । उदाहरण खोज्न धेरै पर जानुपर्दैन संविधानसभा चुनाव र गतवर्षका विभिन्न तहगत चुनावहरू तथा २०७२ सालमा गएको विनाशकारी भूकम्पपश्चात्को अप्ठेरोमा कर्मचारीले खेलेको भूमिका मात्र हेरे पनि पुग्दछ ।

यति हुँदाहुँदै पनि निजामती सेवालाई केही आरोपहरू छन् । अन्य सरकारी सेवाका खराबीका कारण पनि पुरानो सेवा वा सार्वजनिक सेवाको पहिचान गराएको निजामती सेवालाई आक्षेपहरू लाग्ने गरेको छ । जस्तो कि यो सेवा परम्परागत भयो सुविधामुखी भयो परिवर्तन मैत्री बन्न सकेन जनताका सुविधाका सवालहरूले स्थान पाएनन् आदि आदि । राजनैतिक परिवर्तनको साक्षी रहेको र सरकार तथा नागरिकको बिचमा रही जिम्मेवार सेवक बन्नका लागि समयसँगै सुधार र परिवर्तनका लागि चिन्तनशील रहनुपर्ने जत्था हो । यसबिचमा ऐन नियममा पटक पटक परिवर्तनहरू भएका र विशिष्टिकरण र व्यवसायीकरणका लागि क्लस्टर, सेवा, समूहमा वर्गीकरण एवं जनशक्ति व्यवस्थापनका केही पक्षमा कामहरू भएको छ । तर सेवकका प्रवृत्तिहरू र सकारात्मक भूमिकाका लागि त्यति पर्याप्त कामहरू भएको देखिँदैन ।

सेवामा प्रवेश गर्नुअघि उपयुक्त उम्मेदवार सिफारिस गर्नका लागि रहेको लोक सेवा आयोगको छवि उच्च रहेको छ भने काममा लगाउने र मूल्याङ्कन गर्ने संगठनहरुको छवि भने कार्यात्मक वा नतिजाका लागि भन्दा प्रकृयामुखी देखिन्छ । यस वर्षको निजामती सेवा दिवसको मूल नारा नै “नतिजामुखी प्रशासन: समृद्धि र सुशासन” रहेको सन्दर्भमा आगामी दिनहरूमा सार्वजनिक सेवाको उत्पादकत्व र कार्यप्रभावकारितालाई के कसरी राज्यको समृद्धिसँग र सबैले मन पराएको शासनसँग जोड्न सकिन्छ भनेर सुधारका कदमहरू चाल्नुपर्ने देखिन्छ ।

धेरै दिवसहरू हामीले सुनेका छौँ । सार्वजनिक सेवाभित्र पनि प्रहरी दिवस, संसद् दिवस, महालेखा दिवस, भन्सार दिवस जस्ता दिवसहरू मनाइँदै आएको सन्दर्भमा अझ बृहत् स्केलको निजामती सेवा दिवसलाई जोगाइराख्नु जति आवश्यक छ अझ भोलिका दिनहरूमा सङ्घीय प्रादेशिक र स्थानीय सार्वजनिक सेवालाई समेत निजामती वा अन्य उपयुक्त नाम दिएर यो दिवसलाई अझ फराकिलो दायरामा मनाउनुपर्ने पनि देखिन्छ अन्यथा निजामती भनेको जङ्गी प्रहरी सेवा बाहेकको सर्वसाधारणको सेवाका लागि समर्पित कानुनबाट चल्ने सेवा भन्ने पुरानो पहिचान जोगाइराख्न हम्मे पर्ने देखिन्छ ।

अहिले २०७५ सालको दिवस मनाइरहँदा कर्मचारी समायोजन र विभिन्न तह तथा किसिमका कर्मचारीहरूबिचको कार्यात्मक सम्बन्धलाई प्रस्ट पार्नुपर्ने चुनौती हामी माझ रहेको छ । त्यस्तै देशमा स्थायी सरकार बनी समृद्धिको लागी चौतर्फी आव्हान गरिरहँदा के कसरी निजामती सेवालाई उत्पादनसँग जोड्न सकिएला रु देशभित्र रोजगारी सृजना गर्दै उत्पादन वृद्धिको हर सम्भव प्रयत्न गर्नका लागि के कसरी नीतिगत र राजनीतिगत भरथेग गर्न सकिएला भनेर सल्लाह दिने भनेको पनि लामो समयसम्म जनताको मर्का र राज्य सञ्चालनको काइदा बुझेका कर्मचारीले नै हो । तसर्थ राजनैतिक दलपिच्छेका युनियनहरूमा विभाजित हुनुको सट्टा एक मात्र आधिकारिक युनियनलाई रचनात्मक भूमिका दिने तथा संविधान कार्यान्वयन गरी दिगो विकासको अभिष्ट पूरा गर्नका लागि गाउँदेखि केन्द्रसम्मका अधिकारहरूको अभ्यासमा रचनात्मक सहजकर्ता र सेवक बन्नु अहिलेको माग हो ।

मूलभूत कुरा भनेको निजामती सेवकहरूले पहिले सुविधा अनि मात्र सेवा होइन पहिले सेवा अनि मात्र सम्भाव्य सुविधाको वकालत गर्नुपर्दछ । त्यस्तै सबैको सर्वमान्य रुचिलाई प्रमुख मान्नुपर्दछ । कुनै पनि हालतमा व्यक्तिगत रुचि सामान्य रुचिभन्दा माथि हुनुहुँदैन । Civil Service have to comply with subordination of individual interests to the general interests during their work. व्यक्ति व्यक्तिमा आउने जागरणले मात्र समग्र सेवाको स्तरमा सुधार आउन सक्दछ । राष्ट्रिय मिसनहरू पूरा गर्नमा निजामती सेवामा आबद्ध विगत वर्तमान र भविष्यमा खेल्ने भूमिकाले विशेष अर्थ राख्ने देखिन्छ ।

सुवेदी भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस