समृद्धि र विकास सरकारको एजेण्डा : मन्त्री महासेठ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

समृद्धि र विकास सरकारको एजेण्डा : मन्त्री महासेठ


१९ भाद्र २०७५, मंगलबार


विराटनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले देशको समृद्धि र विकास सरकारको प्रमुख एजेण्डा रहेको बताएका छन् ।

निर्माण व्यावसायी सङ्घ मोरङ, बिराटनगरको २४औँ वार्षिक साधारणसभाको सोमबार उद्घाटन गर्दै मन्त्री महासेठले मुलुकमा ऐतिहासिक परिवर्तनपछि राजनीतिक एजेण्डा समाप्त भएकाले अब मुलुकको समृद्धि र विकासमा मात्र सरकार केन्द्रित हुने बताए । यही भदौपछि सरकारले सोचेअनुसारको काममा लाग्ने उनले प्रष्ट पारे । प्रधानमन्त्री केपी शर्मा ओलीको सङ्कल्प ‘सुखी नेपाली, समृद्ध नेपाल’ पूरा गर्न पूर्वाधारको विकासमा जोड दिइएकाले अबको पाँच वर्षभित्रमा छ देखि आठ हजार किलोमिटर सडक निर्माण गर्ने मन्त्री महासेठले जानकारी दिए।

अगामी संसदीय निर्वाचन अघि मेचीदेखि महाकालीसम्म हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्ने अठोटका साथ सरकारले काम गरिरहेको मन्त्री महासेठले बताए । मुस्ताङमा रहेको युरेनियम खानी प्रयोगमा ल्याउन सके ५० देखि ६० वर्षको बजेट त्यसैले धान्ने उनको भनाइ थियो । पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति गरी चार लेनको बनाउन चाँडै बोलपत्र आह्वान गरिने मन्त्री महासेठले जानकारी दिए। उनले निर्माण व्यवासायीलाई मुलुकी ऐनबाट होइन, निर्माण करार ऐनबाट कारबाही गरिने र निर्माणका क्रममा कमी कमजोरी रहेको पाइए व्यावसायी मात्र होइन, सम्बन्धित कर्मचारीलाई समेत कारवाही गरिने स्पष्ट पारे ।

सो अवसरमा प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले निर्माण व्यवसायीले प्रतिस्पर्धाका कारण कम अङ्क हालेर ठेक्का लिने गरेका कारण निर्माण समयमै पूरा हुन नसकेको तथा गुणस्तरसमेत कायम हुन नसकेको बताए । प्रदेश नं. १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले देश विकास र निर्माणमा निर्माण व्यावसायीको भूमिका उल्लेखनीय रहेको बताए । कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. १ संसदीय दलका प्रमुख सचेतक बुद्धि राजभण्डारीले निर्माणसँग सम्बन्धित कर्मचारीले अब लोभ, लालच हटाएर देश निर्माणमा लाग्न आग्रह गरे। रासस

Tags :
प्रतिक्रिया दिनुहोस