समाज परिवर्तनका लागि सकारात्मक दृष्टिकोण « प्रशासन
prasaLogo
१७ भाद्र २०७५, आईतवार

समाज परिवर्तनका लागि सकारात्मक दृष्टिकोण


प्रकाशित मिति : 2 September, 2018 10:59 am

समाज

बेलायतका प्रसिद्ध कूटनीतिज्ञ तथा प्रखर वक्ता विष्टर्न चर्चिल भन्छन्, ‘निरासावादी व्यक्ति हरेक अवसरमा समस्या देख्छ । तर, आशावादी व्यक्ति भने हरेक समस्यामा अवसर देख्छ ।’

चर्चिलको यो भनाइ समस्या र अवसर भन्ने पक्ष अरू केही नभएर मानिसको सोचाइ र व्यवहारले प्रष्ट पार्ने कुरा हो । भनिन्छ– मानिसको उचाई वर्षले होइन, उसको कर्मले नाप्नुपर्छ । जीवनको लम्बाई भन्दा पनि उचाईले महत्व राख्छ । हो, हरेक घडीको टिकटिक आवाजसँगै फन्को मारिरहेको समय चक्र हाम्रा दिमागी परिवर्तनले पनि फन्को मारिरहन जरुरी रहन्छ, जसले मानव जीवनको महत्वपूर्ण अंग शिक्षासँग जोडिएको संस्कार र संस्कृतिलाई सकारात्मकता वा नकारात्मकतातर्फ परिवर्तन गरि नै रहेको हुन्छ । हामी त्यस समयसँग पौठेजोरी खेल्दै समयसापेक्ष सकारात्मक परिवर्तनतर्फ उत्पेरित हुनुपर्छ, जसले हामीलाई सफलतातर्फ मार्गनिर्देशन गर्न सहयोग पुर्याउँछ ।

हो, मैले यहाँ उठान गर्न खोजेको विषय के भने हाम्रो समाजमा आलोचना गर्ने प्रवृत्ति संस्कारकै रूपमा विकास भइरहेको छ, जहाँ इन्टरनेटमा पहुँच हुनेहरूका लागि अहिले आफ्नो गुनासो व्यक्त गर्न फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल राम्रो माध्यम बनिरहेको छ । अर्काको कमी कमजोरी केलाउने, असफलता तथा अयोग्यताहरू खोतल्ने र त्यसको मुल जरै समातेर अनावश्यक टीकाटिप्पणी गर्ने लत नै लागेको भान हुन्छ । आम मानिसमा समाजका केही विषयमा हल्कारूपमा टिप्पणी गरिहाल्ने तर त्यसले पार्ने दुरगामी असरलाई विल्कुलै नजर अन्दाज गर्ने प्रवृत्ति छ । समाज नकारात्मक सोचको सिकार बन्दै गइरहेको छ भने त्यो समाजभित्रका पात्र हामीचाहिँ सकारात्मक कसरी हुन सकौँला ? ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा कहिले चरितार्थ होला ? समाज नकारात्मक सोचले अगाडि बढ्दैन भन्ने थाहा छ । तर, पनि नकारात्मक विचारको ओइरो छ ।

हरेक चियागफ, मेलापात, कार्यालयदेखि ठुल्ठूला सभा सम्मेलन तथा विश्वविद्यालयहरूको मञ्च तथा प्रांगणसम्म पनि कुरा काट्ने, निराशा पोख्ने, असन्तुष्टि जनाउने, आलोचना र नकारात्मक टीकाटिप्पणी गर्नेहरूको जमात ठूलै देखिन्छ । नेताले केही गरेनन्, देश लुटेर खाए, कर्मचारीहरू कोही गतिला छैनन्, सबै भ्रष्टाचारमा लिप्त भए, प्रहरीको त झन् कुरा गरेर साध्य नै छैन, चिकित्सकको त के कुरा आफ्नो व्यवसायिक मर्यादामा वस्ने गरेकै छैनन् । यस्ता चरम अविश्वास र असन्तुष्टि व्यक्त गर्नेहरू सबैतिर भेटिन्छन् । हो, बदलिँदो विश्व समाज साँघुरो घेरामा छ, जुनसुकै क्षेत्रका व्यक्ति, समाजको सूचना तथा तथ्यहरू क्षणभरमै विश्वको कुनै कुनामा सहजरूपमा प्राप्त गर्न सकिन्छ, इन्टरनेटको सहज उपलब्धता, बढ्दो समाजिक संजाल, रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरूमा रंगिने अनेकौ विचारहरू केवल विचार मात्र नभई वास्तविकता के हो भन्ने विषय खोजीको महत्वपूर्ण अंश हुनु जरुरी रहन्छ ।

हामीले एका बिहानै कुनै अखवारका पाना पल्टाउँदै गर्दा पहिलो पृष्ठ वा खबरमा अशुभ, नकारात्मक, नैराश्यपूर्ण वा दिक्दारी लाग्ने समाचार मात्र प्राप्त गर्छौं । सुखद आम सन्तुष्टिका विषय समाचार विरलै सुन्न र हेर्न पाइन्छ । बिहानको ऊर्जाशील समयमा हाम्रो मन मस्तिस्कमा कुनै ऊर्जाको रक्तसञ्चार हुन सक्दैन । सकारात्मक र ऊर्जावान समाचार कहाँ पाउन सकिन्छ । हो, संसारमा रहेका सात अर्बभन्दा बढी मानिसहरूमध्ये प्रत्येक व्यक्तिसँगै आ–आफ्नै प्रकार र गुण विशेषता रहेका हुन्छन् । न एक–अर्कासँग अनुहार मिल्छ न हुबहु स्वभाव वा वानी व्यवहार, उस्तै उस्तै लाग्नु छुट्टै कुरा हो । तर, शत प्रतिशत समानता हुँदैन । यो कुरा सत्य हो । हामीले अरुका कमजोरीहरूबारे चर्चा गर्दा वा अरुलाई दोष दिँदा आफूलाई बिर्सन हुँदैन ।

हाम्रो प्रवृत्ति कुनै पनि कुराको सामान्य वा हल्का वा तल्लो स्तरको दृष्टिकोण वा नजर निर्माण गर्न उद्यत छ । जुनसुकै कुरालाई पनि नकारात्मक सोच राख्नु र अन्य व्यक्ति, संस्था र समाजका मनहरूलाई आहत बनाउनु किमार्थ बहादुरी होइन ।

सच्चा मानिस भएर बाँच्नुको अर्थ अरुलाई पीडा वा दुःख दिनु होइन, जसले व्यक्ति, परिवार र समाजका साथै समग्र राष्ट्रलाई नै नकारात्मकतातर्फ लैजान्छ । हो, कुनै पनि व्यक्तिलाई एकै प्रकारको नजरले मात्र हेरियो भने त्यसप्रतिको दृष्टिकोण सदैव एउटै हुन्छ । त्यसले सदैव नराम्रो मात्र काम गर्छ भन्ने हाम्रो सोचाइ गइरहेको हुन्छ ताकि जति राम्रो र उत्कृष्ट काम गरोस् त्यसप्रतिको हेराइ कहिले बदलिँदैन । हाम्रो प्रवृत्ति छिटो प्रतिक्रिया दिने र त्यसप्रतिको हल्का दृष्टिकोण बनाइहाल्ने, सामान्य विषयलाई निकै विकराल रूप दिने प्रकृति जसले एक व्यक्ति होइन पूरै समाजलाई नकारात्मकतातर्फ डोर्याउँछ ।

अरूको कुरा काट्ने, आलोचना गर्ने नकारात्मक सोचको विकास गजबले भइरहेको देखिन्छ । हाम्रो समाज यथार्थमा कामै नलाग्ने भइसकेको हो त ? देशविपरित वा उल्टो दिशातर्फ केन्द्रित भएकै हो त ? हाम्रा नेता, समाजसेवी, प्रशासक, कर्मचारी, प्राध्यापक, चिकित्सक, सेना, प्रहरी, शिक्षक, पत्रकार, विभिन्न पेशा व्यवसायमा रहेका व्यक्तिहरु नागरिकको सेवामा खटिएकाहरू विश्वास गर्न योग्य नभएकै हुन् ? उनीहरू आफ्नो पेशा व्यवसाय वा धर्म र कर्मबाट अमुख भएकै हुन् त ? सबै चीज कामै नलाग्ने गरी बिग्रिएकै हुन् ? सबै क्षेत्र भताभुंग, लथालिंग भएकै हो त ? यो नकारात्मक सोचको विकास कसरी भइरहेको छ ? सकारात्मक रूपान्तरण र समृद्धिका लागि मरिमेट्ने अभियन्ताहरूका लागि यो सवाल झन्झन् पेचिलो बन्दै गइरहेको छ ।

हामी र हाम्रो सम्पूर्ण व्यवस्था वास्तवमा निकै बदलिएको छ । समाज, परिवेश र राष्ट्र फेरिएको छ । आशलाग्दा प्रगतिहरू भएका छन् । सकारात्मक परिवर्तनका संकेतहरू प्रशस्तै देखिन्छन् । ढिलै भए पनि विकासको गति अघि बढिरहेको छ । नेपाली समाजले आर्थिक, सांस्कृतिक अनि शिक्षा, स्वास्थ्य, सञ्चार यातायात लगायतका क्षेत्रमा आशातित प्रगतिलाई यस प्रसंगमा चर्चा गर्नु सान्दर्भिक हुनेछ । मरेपछिको स्वर्ग र नर्कको परिकल्पना गर्नुभन्दा यो धर्तीमा रहुन्जेल प्रत्येक युवाले आफ्नो सुन्दर जीवनलाई अलमलमा नराखीकन आफ्नो जीवनलाई सुन्दर बनाउने यात्रामा हिँड्न सके देशको मुहार सुन्दर देखिन्छ । अनुभवले भन्छ– व्यक्ति जस्तो भयो घर, परिवार, समाज, राष्ट्र र विश्व त्यस्तै हुन्छ ।

त्यसैले यो धर्तीमा रहुन्जेल यस्तो कर्म गरौं हाम्रो भौतिक शरीरले विश्रान्ति लिँदा हाम्रा आफन्त, छरछिमेक, समाज र पेशालाई नै हाम्रोबारे अनुभूतिको महसुस होस् । समय निकै परिवर्तनशील छ, बितेको लामो इतिहासमा मुलुकमा ठुल्ठूला ऐतिहासिक घटनाहरू सफलतापूर्वक सम्पन्न भए । यस्ता सकारात्मक परिवर्तनका दृष्टान्तहरू थुप्रै छन् । यी परिवर्तन सामान्य र टालटुले प्रकृतिका पनि होइनन् । किनकि यसले हरेक नागरिकको जीवनस्तरमा केही न केही सुधार ल्याएको छ । हाम्रो जीवनशैली फेरिएको छ । कतिपय संस्कार र संस्कृति पनि बदलिएका छन् । सबैभन्दा ठूलो कुरा जनचेतनामा आमुल परिवर्तन भएको छ । राजनीतिक, सांस्कृतिक, सामाजिक चेतनास्तर उठेको छ । हामी इतिहास, वर्तमान र भविष्यका यावत विषयहरूलाई बुझ्ने भएका छौं । सवाल हो– खाली भागबाट हेर्ने कि भरिएको भागबाट ।

समग्रतामा हेर्ने र बुझ्ने हो भने विकासका थुप्रै संरचनाहरू बनेकै छन् । सकारात्मक विषयको चर्चा गर्नुपर्छ भनिरहँदा हुँदै नभएको कुराको बखान गर्नुपर्छ भन्ने छैन । भएका सकारात्मक परिवर्तनलाई इमानदारीपूर्वक जस्ताको तस्तै ग्रहण गर्दा पनि पर्याप्त हुन्छ, त्यसले आशा जगाउँछ, विश्वास पैदा गर्छ । जसले आफ्नो देश र समाजप्रति सकारात्मक भावनाको विकास हुन्छ । सकारात्मक वातावरणको विकास भएपछि जेजस्तो भए पनि आफू नजिकको परिवेश हरेकलाई प्रिय लाग्छ, केहीलाई हौसला मिल्छ । व्यक्ति, परिवार, समाज र राष्ट्रमा खुसी छाउँछ । समाजको एउटा तप्का विषयवस्तुलाई नकारात्मक पाटोबाट हेर्ने, ग्रहण गर्ने, विश्लेषण गर्ने अनि निष्कर्षमा पुग्ने प्रवृत्तिको नराम्रोसँग सिकार भएको देखिन्छ । अविश्वासको डरलाग्दो खाडल खन्ने काम हुन्छ । सोच्दै नसोचेको विकृति र विसंगति हुर्कन्छ । निराशा र कुण्ठाले आफूमा भएको जोश जाँगर पनि हराउँछ । आजका युवालाई भविष्यप्रति आशावादी बनाउन सक्नुपर्छ । सफलताका लागि प्रेरित गर्नुपर्छ ।

भित्रभित्रै कुण्ठित युवाले न व्यक्तिगत जीवनलाई सहजतापूर्वक हाँक्न सक्छ न त समाज र राष्ट्रलाई नै । आफ्नो भविष्यप्रति उसलाई ढुक्क बनाउन सक्नुपर्छ । काम गरेपछि सफल भइन्छ, लगानी गरेपछि नाफा हुन्छ, मिहेनत गरेपछि प्रगति हुन्छ, यात्रा प्रारम्भ गरेपछि चाहेको गन्तव्यमा अवश्य पुगिन्छ भन्ने विश्वास दिलाउनुपर्छ । बलियो आत्मविश्वास तयार पार्नुपर्छ । यस्तो उच्च मनोबल बनेपछि मात्रै व्यक्तिले हरेक क्षेत्रमा आफूलाई प्रतिस्पर्धीका रूपमा उभ्याउँछ । प्रसन्नता, उत्साह, उमंग, प्रशंसाले भरिएको समाजमा मात्रै उन्नतिको सम्भावना हुन्छ । निराशा, कुण्ठा मात्रै व्यक्त गर्ने, अरूको अनावश्यक चियोचर्चाे र आलोचना गर्ने संस्कारले सिर्जनात्मकता सम्भव हुँदैन । यसका लागि सकारात्मक सोचकै आवश्यक हुन्छ । किनकि सकारात्मक सोचको परिणाम पनि सकारात्मक नै आउँछ । सकारात्मक व्यवहारबाट सकारात्मक प्रतिक्रिया नै पाइन्छ । नकारात्मक बीउ रोपेर सकारात्मक फल प्राप्तिको आशा गर्न कदापि सकिन्न ।

अन्त्यमा, युवा आर्थिक विकास र समृद्धिको बहाक हो ‘युवा’लाई उल्टोबाट हेर्यौ भने ‘वायु’ हुन्छ । वायु आफैमा तेज अनि शक्तिशाली रहन्छ । आजका युवा भन्नेबित्तिकै ऊर्जाशील आँधी तथा तुफानसँग जोड्ने गरिन्छ । युवा हामी केवल कुनै व्यक्तिगत, दलगत लाभ हानीको व्यवहार देखाउनुभन्दा लक्ष्य प्राप्तिका खातिर आजको आवश्यकता, समयको माग र विश्व परिवेशका आधारमा युवाको अधिकतम उपयोग गर्न लाग्नु र युवालाई त्यसतर्फ डोर्याउनु राज्यको अहम दायित्व र युवाको महत्वपूर्ण जिम्मेवारी हो ।

प्रत्येक युवा वायु (प्राण) बनेर देशको सेवामा निस्वार्थ एवम् अपेक्षासहित काम गरे देशको मुहार फेरिन धेरै लामो समय कुर्नु पर्दैन । हरेक व्यक्तिले आफूले जिन्दगीमा अहिलेसम्म प्राप्त गरेका उपलब्धिहरूको मूल्यांकन सकारात्मक कोणबाट गरौं । अनि मनमा पनि आफ्नो काम र जीवनप्रति सकारात्मक विचारहरूलाई मात्र अगाडि बढाऊँ साथै अरू कोही कसैको कहिल्यै कुभलो नसोचौँ । अरूलाई सकारात्मक सोचौँ, आफू सकारात्मक बनौँ । जिन्दगीको सफलता यसैमा निहित छ । यो नै समाज र राष्ट्रको विकासका लागि कोशेढुंगा सावित हुन्छ र आफ्नो जीवनको अनुपम उपहार तथा सार्थकता सिद्ध हुन पुग्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस