जुम्ला प्रतिष्ठान विद्युत्भार कटौतीमुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जुम्ला प्रतिष्ठान विद्युत्भार कटौतीमुक्त


१३ भाद्र २०७५, बुधबार


सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला मङ्गलबारदेखि विद्युत्भार कटौतीमुक्त भएको छ ।

दिनमा पटक–पटक विद्युतभार कटौती खेप्दै आएको प्रतिष्ठानलाई गोठीचौर गाउँपालिकास्थित नौमुले लघु जलविद्युत् आयोजना देपालगाउँले १५ किलोवाट विद्युत् सहयोग गरेपछि प्रतिष्ठानमा २४सै घण्टा बिजुली बल्ने भएको छ । गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी र प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेबीच मङ्गलबार एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रतिष्ठानको संरचना र उपकरण दुवै हुँदा पनि विद्युत् अभावका कारण जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभावलाई ध्यानमा राखेर विद्युत् सहयोग गरिएको अध्यक्ष भण्डारीले बताए ।

विद्युत् अभावमा अपेक्षित स्वास्थ्य उपचार दिन नसकिरहेको अस्पताललाई अब सबै काममा सहज हुने रजिष्ट्रार काफ्लेको भनाइ छ । “खासगरी विद्युत् सेवा प्रभावकारी नहुँदा ठूला शल्यक्रिया गर्न जटिल भएको थियो”, उनले भने, “विद्युत् नियमितताले सरलता आउनेछ र उपकरण थपेर विद्युत् पनि थप्ने र प्रतियुनिट रु १० तिर्ने सम्झौता गरिएको छ ।”

सम्झौतापश्चात् विद्युत् नियमितताले आइसीयु, सिटी स्क्यान, रक्त सञ्चार केन्द्र, अक्सिजन प्लान्ट सञ्चालनमा सहजता आउने भएको छ । विद्युत्कै कारण रोकिएका सेवा अब भदौ महिनाभित्रै सञ्चालनमा ल्याउन र सेवा विस्तार गर्न प्रतिष्ठानले तयारी गरेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस