प्रजातन्त्रको सुदृढीकरणमा प्रशासनको भूमिका « प्रशासन
prasaLogo
१३ भाद्र २०७५, बुधबार

प्रजातन्त्रको सुदृढीकरणमा प्रशासनको भूमिका


प्रकाशित मिति : 29 August, 2018 7:00 am

सार्वजनिक प्रशासन

प्रजातन्त्रका आधारभूत पक्षहरू
जनता मुखी वा जनमुखी शासन प्रणालीको प्रतिरूप प्रजातन्त्र हो । प्रजातन्त्र व्यक्तिगत स्वतन्त्रता, न्याय, शान्ति तथा अग्रगमनको आधारशिला हो । यसैले प्रजातन्त्र आम मानव समुदायको प्राथमिक चाहनाको विषय हो । प्रजातन्त्र सैद्धान्तिक विषय मात्र नभएर उपरोक्त विषयको व्यवहारिक प्रयोगको अवस्था पनि हो । प्रजातन्त्रमा बहुलवाद, प्रतिस्पर्धा , संवैधानिक सर्वोचचता, कानुनको शासन, शक्तिपृथ्कीकरण, समता, मौलिक हक र अधिकारको प्रत्याभूति , आधारभूत स्वतन्त्रता र अधिकारको प्रत्याभूति प्रजातन्त्रका आधारभूत पक्षहरू हुन् । शान्ति, आर्थिक सामाजिक, सांस्कृतिक विकास प्रजातन्त्रका , मानव अधिकार, विकास, शान्ति प्रजातन्त्रका सकारात्मक उपजहरू हुन् । प्रजातन्त्रले राजनीतिक आयामको सशक्तीकरण गर्दै आर्थिक र सामाजिक आयाममा समेत परिवर्तन ल्याउने सामर्थ्य राख्दछ । यसैले प्रजातन्त्र आदर्श शासकीय पाटोको सुन्दर र अपरिहार्य पक्ष हो । जनताले वास्तविक प्रजातन्त्रको अनुभूति मूलतः दुई तहबाट गर्ने गर्दछ पहिलो राजनैतिक परिपाटीले अँगालेको समग्र शासकीय परिपाटी र दोस्रो जनताले सेवा प्राप्ति गर्ने बिन्दुमा रहेका प्रशासनिक संयन्त्रको उपस्थिति र प्रभावकारिता । प्रजातान्त्रिक सरकार सधैँ असल सरकार, प्रभावकारी सरकार र जन मैत्री सरकार सधैँ जनसरकारको शीघ्र सम्बोधन गर्ने कार्यमा तल्लीन रहेको हुन्छ ।

सार्वजनिक प्रशासकहरू सेवा प्रवाहका प्रभावकारी मध्यस्थकर्ता हुन् । सरकार सार्वजनिक सेवाको आपूर्ति कर्ता हो भने जनता सार्वजनिक सेवाको माग कर्ता हुन् । सरकार र जनताको सम्बन्ध सेवाको वितरक र प्रापकको रूपमा रहेको हुन्छ ।सरकार र जनताको बिचमा सेवा प्रवाहको जिम्मा लिएर बसेको प्रशासन यन्त्र वा सार्वजनिक प्रशासन जति प्रभावकारी भयो त्यति नै जनताको सरकार प्रति सन्तुष्टि र अपनत्ववोध हुन जान्छ । प्रजातान्त्रिक सरकारको कार्यशैलीलाई प्रभावकारी बनाई प्रजातन्त्रको सम्बर्द्धन गर्ने कार्यमा प्रशासनको भूमिका निम्न आयामहरूमा महत्त्वपूर्ण रहने गर्दछ ।

विज्ञ र व्यावसायिक समूह
प्रशासन र कर्मचारीतन्त्र राज्य संयन्त्रको त्यस्तो महत्त्वपूर्ण अङ्ग हो जो प्रतिस्पर्धात्मक तवरबाट छानिएर आएका हुन्छन्। उनीहरूको कार्य सर्त, कार्य अवधि र सेवाका अन्य सर्तहरू सम्बन्धित कानुनबाट निर्देशित हुने गर्दछ। प्रशासनयन्त्र वा कर्मचारी तन्त्रका निम्न विशेषताहरू हुन्छन्।
१. निश्चित पद सोपानमा आधारित नियन्त्रण र आदेशको श्रृङ्खला
२. नियममा आधारित निष्पक्ष कार्यशैली
३. विज्ञतामा आधारित जनशक्ति र सङ्गठनात्मक संरचना
४. व्यवसायिकता र दक्षता
५. स्थायित्व

सार्वजनिक प्रशासन राज्यद्वारा जनता समक्ष प्रतिबद्धता गरिएका उद्देश्यहरूको परिपूर्तिको लागि निरन्तर रूपमा दत्त चित्त, तयारी अवस्थामा रहनु पर्ने र सक्रिय रहनुपर्ने अङ्ग हो ।सार्वजनिक प्रशासन सेवा प्रवाहको विषय सँग अति नजिक वाट परिचित हुनुपर्ने , विज्ञ र व्यावसायिक समेत हुनु पर्दछ । यही विज्ञता र व्यवसायिकता वाट सेवा प्रवाहको सुनिश्चितता र सेवाको गुणस्तर को प्रत्याभूति गर्ने कार्यमा प्रशासनको भूमिका महत्त्वपूर्ण हुने गर्दछ । सेवा प्रवाहको सुनिश्चितता र सेवाको गुणस्तर को प्रत्याभूतिबाट नै प्रजातान्त्रिक शासन संयन्त्र प्रति जनताको विश्वास वृद्धि हुन जान्छ ।

देशभरि फैलिएको कार्यात्मक संयन्त्र
राज्यले जनता समक्ष पुयाउनु पर्ने सेवा सुविधाहरूलाई विषयगत विज्ञताको आधारमा जनताको निकटतम दुरीमा रहेर सेवा प्रवाह गर्ने उद्देश्यका साथ नीतिगत विषयका लागि विभिन्न क्षेत्रगत मन्त्रालयहरू, विकासात्मक कार्यको लागि क्षेत्रगत मन्त्रालयहरू अन्तरगत आवश्यकता अनुसार विभागहरू र सेवा प्रवाहको लागि स्थानीय तहहरूमा विभिन्न कार्यालयहरूको व्यवस्था गरिएको हुन्छ । दूर दराज सम्म फैलिएको यो विशाल संयन्त्रले जनता लाई सेवा प्रवाह गर्ने आधारशिला प्रदान गरेको मात्र होइन कि राज्यको उपस्थिति समेत जनाइरहेका हुन्छन् । प्रशासनको जनताको निकटतम दुरीमा रहेको उपस्थितिले जनताले आफ्नो चाहना र आवाजलाई प्रशासनिक संयन्त्र मार्फत सरकारसम्म पुर्‍याउने अवसर पाउँछ जुन कुरा जनताले प्रजातन्त्रको अनुभूति गर्न सक्ने एउटा आधार हो

प्रशासनयन्त्रको सकारात्मक पूर्व सक्रियता
प्रशासन विज्ञ, व्यावसायिक, क्षमतावान् व्यक्तिहरूको समूह तथा राज्यको स्थायी संयन्त्र हो। यसै कारणले सरकारी नीति निर्माण कार्यान्वयनमा प्रशासनिक संयन्त्रको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। प्रशासकीय सक्रियताको सन्दर्भलाई पनि यसै परिवेशमा हेर्न सकिन्छ। प्रशासन निर्वाचित सरकार (राजनीति) र सेवाग्राही (जनता) बिचको सम्बन्ध सेतु हो। यसर्थ प्रशासनिक संयन्त्र जति प्रभावकारी हुन्छ त्यत्ति नै सरकार त जनताबिचको सम्बन्ध असल हुने गर्दछ र यही असल सम्बन्धलेनै सरकारको दिगोपना को सुनिश्चितता गर्ने गर्दछ। प्रशासन यन्त्रको सकारात्मक पूर्व सक्रियता ( प्रो एक्टिभनेस) ले एकातर्फ राजनीतिज्ञले आफूले परिकल्पना गरेको दीर्घकालीन सोचलाई नीति नियम र प्रक्रियाका आबद्ध गराएर जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न सक्छन् भने कार्यान्वयनको क्रममा जन अपेक्षाको सम्बोधन भयो भएन र त्यसमा के कस्ता सुधारको आवश्यकता छ भन्ने कुराको पृष्ठ पोषण प्राप्त भई त्यसलाई आगामी दिनको कार्ययोजनामा परिमार्जन वा समाहित गर्न सकिन्छ। सकारात्मकता सहितको निष्पक्ष र सक्रिय प्रशासनिक संयन्त्र शासकीय प्रणालीको सम्वाहक तथा प्रजातान्त्रिक शासन प्रणालीको लागि आवश्यकीय पक्ष हो ।

प्रशासन र राजनीति बिचको सीमारेखा बिच प्रभावकारी कार्यकुशलता
प्रशासन र राजनीति शासकीय प्रणालीका अभिन्न र परिपूरक अंगहरु हुन् । राजनीति सधैँ भविष्यद्रष्टा, महत्वाकांक्षी, शीघ्र परिणाम खोज्ने, जोखिम लिने र परिणामको उपलब्धताबाट सरकारको लोकप्रियता खोज्ने र यसै आधारमा सरकार वा आफ्नो दल विशेषको दिगोपना कायम राख्ने चाहना वाट अभिप्रेरित भएको हुन्छ । तर राजनीतिज्ञको यो चाहना परिपूर्ति राजनीतिज्ञले आफै गर्न सक्दैन यसमा कानुनी र प्रक्रियागत प्रयोगको अधिकारको हैसियतले प्रशासनयन्त्रको निरन्तर सहयोगको आवश्यकता पर्दछ । प्रशासन यन्त्र विज्ञ, दक्ष, विषयको ज्ञान, कुनै कामको सकारात्मक र नकारात्मक अन्तरसम्बन्धसँग परिचित हुन्छन् । राजनीतिज्ञले भविष्यको अमूर्त चित्रको परिकल्पना गर्दछ प्रशासनयन्त्रले त्यसलाई मूर्तता दिने गर्दछ । राजनीतिज्ञ बसका चालक हुन् भने प्रशासनयन्त्र बसका इन्जिन हुन् । चालकले चालकको भूमिका सही रूपमा सम्पादन गर्ने र इन्जिन सधैँ चलायमान रहने हो भने यात्रा सदा सुखद र सुरक्षित रहन्छ । यदि यी दुवैले आफ्नो भूमिका सही रूपमा सम्पादन गरेनन् वा आफ्नो स्थान परिवर्तन गरे भने यात्रा असहज बन्न सक्दछ । यसर्थ यी दुवै बिच कायम लक्ष्मणरेखाको मर्यादा भित्र रही सहयोगी र परिपूरक अंगकोरुपमा प्रशासन रहनु आवश्यक छ ।

सरोकारवालाहरूसँग असल सम्बन्ध निर्माता
प्रजातान्त्रिक शासन प्रणालीमा सरोकारवालाहरूको उपस्थिति र सम्बन्ध महत्त्वपूर्ण विषय मानिने गर्दछ । सार्वजनिक सेवा विविध सरोकारवालाहरूको अन्तरसम्बन्धको सम्मिश्रण भएको हुँदा यी सरोकारवालाहरूको बिचमा धेरै आवश्यकताहरू रहेका हुन्छन् । आवश्यकताहरूको सम्बोधनको आधारमा नै सरोकारवालाहरूको सम्बन्धको निर्धारण हुने गर्दछ । यस्ता आवश्यकताहरूको एकल वा सामूहिक प्रयत्नव्दारा समाधानको निमित्त गरिने प्रयास नै सार्वजनिक मामिलाहरूको व्यवस्थापन हो । सार्वजनिक आवश्यकताहरूको माग र आपूर्तिमा धेरै सरोकारवालाहरूको उपस्थिति र सहकार्यले एउटा अन्तरसम्बन्ध स्थापित गरेको हुन्छ र सबै सरोकारवालाहरूको सुमधुर सम्बन्धले सार्वजनिक मामिलाहरूको व्यवस्थापनलाई प्रभावकारी बनाइदिन्छ ।यो नै सार्वजनिक मामिलाको व्यवस्थापनको सुन्दर पक्ष हो । नागरिक समाज, सामुदायिक संस्थाहरू, निजी क्षेत्र, व्यापारिक र व्यावसायिक समुदाय सार्वजनिक मामिलाका सरोकारवालाहरू हुन् । सरकार आफैमा एउटा महत्त्वपूर्ण सरोकारवाला हो । यी सरोकारवालाहरू भिन्न भिन्न परिस्थितिमा भिन्न भिन्न भूमिकामा देखिने गर्दछन् । सार्वजनिक मामिलाहरूको व्यवस्थापनमा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहने तथा यी सरोकारवालाहरूको भूमिका भिन्न भिन्न हुने र यी भूमिकाहरूको सकारात्मक अन्तर सम्बन्धले सार्वजनिक मामिलाको व्यवस्थापनलाई प्रभावकारी बनाइदिन्छ । यसर्थ प्रजातान्त्रिक शासकीय प्रणालीमा सरोकारवालाहरू सँग सहकार्य र समन्वय क्षमता वाट सार्वजनिक मामिलाको व्यवस्थापनमा सार्वजनिक प्रशासनले प्रभावकारी भूमिका निर्वाह गर्न सक्दछन् ।

प्रजातान्त्रिक शासकीय परिवेशका कुशल सारथी
सार्वजनिक प्रशासन सरकारको सेवा प्रवाहको एक महत्त्वपूर्ण र आवश्यकीय संयन्त्र हो सरकार र जनता बिचको दरिलो र स्थायी सम्पर्क सूत्रको रूपमा रहेको सार्वजनिक प्रशासन सरकारको स्थायी संयन्त्र विषयगत विज्ञता, कार्यगत विशिष्टताले युक्त हुन्छ । प्रजातान्त्रिक वातावरणमा समय, शिक्षा, प्रविधिको परिवर्तन सँगै राजनीतिक र शासकीय आयामहरू धेरै परिवर्तन हरू आउँछन् र यी परिवर्तन हरूले स्वभावत सार्वजनिक प्रशासनमा पनि परिवर्तनका धेरै आयामहरू सिर्जना गर्दछन् । यस्ता परिवर्तित परिवेशहरूले सार्वजनिक प्रशासनको भूमिका अझै प्रभावकारी हुनुपर्ने विषयमा जोड दिने गर्दछ । सार्वजनिक प्रशासन राज्यद्वारा जनता समक्ष प्रतिबद्धता गरिएका उद्देश्यहरूको परिपूर्तिको लागि निरन्तर रूपमा दत्त चित्त, तयारी अवस्थामा रहनु पर्ने र सक्रिय रहनुपर्ने अङ्ग हो । जसरी समयको परिवर्तन भएको छ तदनुरूप जनताको व्यक्तिगत तहमा आशा र अपेक्षा वृद्धि भएको हुन्छ र त्यो आशा र भरोसा सरकार तर्फ लक्षित रहेको हुन्छ अन्ततः सरकार तर्फ लक्षित जनताको आशा र अपेक्षा पुरा गर्नु पर्ने दायित्व सार्वजनिक प्रशासनमा सर्न पुग्दछ । त्यसैले शासकीय पक्षमा देखिने परिवर्तित परिवेशले सार्वजनिक प्रशासनको कार्यशैली, व्यवहार, प्रक्रिया, सेवा प्रवाहको सुनिश्चितता र सेवाको गुणस्तर को प्रत्याभूति जस्ता क्षेत्रहरूमा पनि सकारात्मक परिवर्तनको अपेक्षा राखेको हुन्छ । यस्ता आवश्यकताको परिपूर्ति गर्न सक्ने प्रशासन नै अहिलेको सामयिक आवश्यकता हो ।

निष्पक्षता, तटस्थता, सदाचारिता, पारदर्शिता सार्वजनिक प्रशासनका मूलभूत न्यूनतम विशेषताहरू हुन् । यी विशेषताहरूको सक्षम उपस्थितिले नै सक्षम प्रशासनको कल्पना गर्न सकिन्छ र यी विशेषताहरूको न्यून उपस्थिति वा क्षयीकरणले प्रशासन मात्र होइन समग्र शासकीय संयन्त्र नै व्यापक आलोचनाको पात्र बन्न पुग्दछ । राज्य संयन्त्र प्रति जनताको अपनत्वबोध कायम गर्न प्रशासनयन्त्रको सकारात्मक भूमिका ले सरकार प्रति जनमानसमा विश्वसनीय यता वृद्धि भई जन अपनत्वयुक्त दिगो सरकार बन्न सक्दछ । जन अपनत्वयुक्त दिगो सरकारले शासन प्रणालीलाई लाई प्रभावकारी बनाउनमा सहयोग गर्दछ यस कार्यमा पनि प्रशासनयन्त्रको भूमिका महत्त्वपूर्ण रहने गर्दछ ।

सिर्जनशीलता र व्यवसायिकता
समाज सार्वजनिक सरोकारवालाहरूको अन्तरसम्बन्ध र आवश्यकताहरू संयोजन हो । यी सरोकारवालाहरूको बिचमा धेरै रहेका हुन्छन् । आवश्यकताहरूको सम्बोधनको आधारमा नै सरोकारवालाहरूको सम्बन्धको निर्धारण हुने गर्दछ ।सार्वजनिक आवश्यकताहरूको माग र आपूर्तिमा धेरै सरोकारवालाहरूको उपस्थिति र सहकार्यले एउटा अन्तरसम्बन्ध स्थापित गरेको हुन्छ र सबै सरोकारवालाहरूको सुमधुर सम्बन्धले सार्वजनिक मामिलाहरूको व्यवस्थापनलाई प्रभावकारी बनाइदिन्छ । जनता, नागरिक समाज, सामुदायिक संस्थाहरू, निजी क्षेत्र, व्यापारिक र व्यावसायिक समुदाय सार्वजनिक मामिलाका सरोकारवालाहरू हुन् । यी सरोकारवालाहरू भिन्न भिन्न परिस्थितिमा भिन्न भिन्न भूमिकामा देखिने गर्दछन् । यस्तो भूमिका कहिले माग पक्ष , कहिले मध्यस्थ पक्ष र कहिले आपूर्ति पक्षको रूपमा रहने गर्दछ । सामान्यतया सरकार बाहेक का सरोकारवालाहरूलाई माग पक्ष र सरकारलाई आपूर्ति पक्षको रूपमा बुझिने गरेको भएता पनि नीति को कार्यान्वयनमा जन अपनत्व कायम हुने पक्षमा सरकार माग पक्षको रूपमा रहने गर्दछ । साथै सरोकारवालाहरू बिचमा सद्भाव र समन्वय कायम गर्ने तथा नीतिको सकारात्मक बहस पैरवी र कार्यान्वयनमा सरकार बाहेकका पक्षहरू मध्यस्थ र आपूर्तिकर्ताको रूपमा रहने गर्दछ ।

सरकारको भूमिका मा पक्ष वा आपूर्ति पक्ष जुन कित्तामा रहे पनि समन्वयकारी र कानुनको प्रयोगको एक मात्र अधिकारयुक्त सरकोकारवालाको हैसियतले सरकार वा यसको सेवा प्रवाहको वैधानिक संयन्त्र सार्वजनिक प्रशासन प्रक्रिया मुखी, परम्परागत, लोसे भयो भने अन्य सरोकारवालाहरूको उपस्थिति पनि स्वभावत प्रभावकारी बन्न सक्दैन यसर्थ अबको सार्वजनिक प्रशासन सिर्जनाशील हुनु आवश्यक छ । यसका लागि प्रविधिमैत्रीय जनशक्ति, प्रक्रिया र परिणामको बिचमा सामन्जस्यता कायम राख्ने, सहकार्यको संस्कृति, छलफल अन्तरक्रिया आदिको माध्यमबाट प्राप्त पृष्ठपोषणको आधारमा कार्य गर्ने संस्कृतिको विकास गर्नु आवश्यक हुन्छ ।

व्यवसायिकता सार्वजनिक प्रशासनको त्यो चरित्र हो जसले कम साधन श्रोतको अत्यधिक उपयोग गरी उत्पादकत्वमा वृद्धि ल्याउने सामर्थ्य राख्दछ ।यस अर्थमा व्यावसायिक प्रशासन राज्यका अमूल्य निधि हुन । साधन श्रोतको उपयोगमा मितव्ययिता, प्राप्त समयको भरपुर उपयोग र निर्धारित समयावधि भित्र गुणस्तरयुक्त सेवा दिन सक्नु व्यावसायिक प्रशासनको गुण हो । आफ्नो कामप्रति पूर्ण प्रतिबद्ध, लगावयुक्त, नैतिकता, निष्ठा, इमान्दारिता, विश्वास र लक्ष्य प्रति प्रतिबद्ध जनशक्तिले नै व्यावसायिक प्रशासनको प्रत्याभूति दिन सक्दछन् । व्यावसायिक प्रशासन नै प्रजातन्त्रको सुदृढीकरणको आधारशिला हो ।

अन्य सामयिक पक्षहरू

  • जनताको मौलिक हक र अधिकारको सम्मान गर्ने परिपाटीको विकास
  • सरकारी काम कारबाही र सेवा प्रवाहमा पारदर्शिता
  • नागरिक वडापत्रको व्यवस्था र कार्यान्वयन
  • सूचनाको प्रवाह
  • प्रवक्ता र सूचना अधिकारीको व्यवस्था
  • विधिको शासनको प्रत्याभूतिको लागि सरकारबाट सम्पादन हुने कार्यहरूलाई कानुनी पक्षबाट सुरक्षित राख्नु
  • प्रतिबद्ध र तटस्थ प्रशासन निर्माणमा अग्रसरता
  • सरकारी नीति नियम र परिपाटी प्रति प्रतिबद्ध
  • सेवा प्रवाहमा तटस्थता सहितको प्रभावकारिता
  • जनता सरकार सम्बन्ध सेतुको रूपमा प्रभावकारी प्रशासन
  • कार्यक्रम बजेट निर्माणमा सरोकारवालाहरूको सहभागिता अभिवृद्धि
  • प्रभावकारी सेवा प्रवाह संयन्त्रको निर्माण
  • सरकारी नीति र कार्यक्रमको प्रभावकारी रूपमा पैरवी र समर्थन निर्माण
  • जनताका अपेक्षा र पृष्ठपोषणलाई नीति निर्माता सम्म प्रवाह गरिदिने
  • नीति निर्माणमा प्रभावकारी भूमिका
  • नीति तर्जुमामा आफ्नो पेसागत विज्ञताद्वारा उपयुक्त सुझाव प्रदान
  • नीतिको पैरवी र समर्थन निर्माण
  • नीति कार्यान्वयन संयन्त्र निर्माण
  • कार्यान्वयन चरणबाट पृष्ठ पोषण ग्रहण र सामयिक सुधार
  • जवाफदेहिता र उत्तरदायित्वको संयन्त्र निर्माण र परिपालना
  • पारदर्शिता
  • कानुनको परिपालना
  • मितव्ययी
  • श्रोतको प्रयोग, प्रक्रियाको अवलम्बन , उत्पादन बिचको सकारात्मक सम्बन्ध
  • आन्तरिक र बाह्य परीक्षण
  • असल अभ्यासको निरन्तरता र अन्यमा सामयिक सुधार

आदर्श पक्षलाई यथार्थतामा परिणत गर्ने दायित्व
अवधारणागत रूपमा प्रजातन्त्र राजनैतिक आयाम सँग सम्बन्धित विषय हो यसैले यो साध्य हो । प्रजातन्त्र असल शासन प्रणालीको पाटो हो यसैले यो साधन पनि हो । साधनको प्रभावकारिता त्यति बेला मात्र प्रतिविम्बित हुन्छ जति वेला यसको प्रभावकारी रूपमा परिचालन गरिन्छ । प्रजातन्त्रको आदर्श पक्षलाई यथार्थतामा परिणत गर्ने दायित्व शासकीय परिपाटीमा संलग्न निकाय, संस्था र पदाधिकारीहरूमा निर्भर रहेको हुन्छ । प्रशासन शासकीय संयन्त्रको एउटा स्थायी संरचना प्रभावकारी अवयव भएकोले प्रजातन्त्रको सुदृढीकरण, सवलीकरण र प्रभावकारिता अभिवृद्धिमा प्रशासनको भूमिका सधैँ महत्त्वपूर्ण रहने गर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस