श्रावण ७ गते, २०७६

यसरी बच्नुहोस् यूरिक एसिडबाट

पछिल्लो समय नेपालीहरूमा विभिन्न खाले स्वास्थ्य समस्या बढ्दै गएको देखिन्छ । रोग बढ्दै जानुका अनेक कारणहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण कारण हो खानपान तथा जीवनशैली । अव्यवस्थित जीवनशैली तथा खानपानमा गरिने बेवास्ताकै कारण भोग्नु परिरहेका तमाम रोगहरूमध्ये एक हो यूरिक एसिड अर्थात् बाथ । के कारणले हुन्छ यूरिक एसिड ? अनि यसले मानव स्वास्थ्यमा कस्तो असर गर्छ ? लगायत खानपान तथा उपचार विधिबारे प्राकृतिक तथा क्रोनिक ब्याक पेन एक्सपर्ट डा. सुनिल पौडेलसँग प्रशासन डटकमले गरेको कुराकानी।

के कारणले यूरिक एसिडको रोग हुन्छ ?
यूरिक एसिडको रोग हामी नेपालीहरूमा देखिने एक आम समस्या हो । यूरिक एसिड मुख्य गरी २ वटा कारणले बढ्छ । पहिलो कारण वा प्रायः मा खाना र जीवनशैलीकै कारण युरिक एसिडको रोग बढेको हुन्छ । यो परिवारमा एक जनालाई हुँदा अन्यलाई हुने सम्भावना पनि हुन्छ । एक परिवारमा एकै खाले जीवनशैली तथा खानपिनको बानी हुने हुनाले यसो भएको हो ।

मानव शरीरमा प्युरिन पचेर अन्तमा युरिक एसिड बन्छ । युरिक एसिड भनेको खानामा पाइने प्युरिन भन्ने एउटा तत्त्व पचेर बाँकी रहने एन्ड प्रोडक्ट हो । प्युरिन भन्ने तत्त्व जे जे मा उच्च हुन्छ, त्यसले युरिक एसिड बढाउने हो । यसको लागि रातो मासु नै खानुपर्छ भन्ने छैन ।

शरीर(मिर्गौला)ले युरिक एसिड राम्ररी फाल्न नसक्दा वा शरीरले फाल्न सक्ने भन्दा बढी पैदा हुँदा युरिक एसिड त बढ्छ नै तर कहिले काँहि इण्डोक्राइन रोग, क्यान्सर, केमोथेरापी आदिका कारण पनि युरिक एसिड बढ्छ ।

यूरिक एसिड भएका व्यक्तिले रातो मासु नखाने तर सेतो मासु खाए हुन्छ भन्ने छ, के यो सत्य हो ?
यो पुरै असत्य हो । यूरिक एसिड ह्वाइट मिटले पनि खतरनाक रूपले बढाउन सक्छ । त्यस्तै कलेजो, मृगौला, गिदी, माछा, टर्की, च्याउ, तोफु गेडागुडी, काउली, पालुंगो, लट्टेको साग, कुरिलो, पाकेको फर्सी आदिले पनि यूरिक एसिड बढाउँछ । तर यूरिक एसिडको रोग लगाउन रक्सी (कुनै पनि) तथा मासु भन्दा खतरनाक ककटेल छैन । यसले सबैभन्दा बढी युरिक एसिड बढाउँछ । तलको प्युरिन कन्टेन्टको चार्ट हेर्ने हो भने सबै भन्दा बढी यूरिक एसिड बढाउने मासुले नै हो । यो चार्ट अनुसार खसीको मासुले भन्दा चिकेनले बढी यूरिक एसिड बढाउन सक्छ ।

हेर्नुहोस् चार्ट

त्यसैले यूरिक एसिडमा ह्वाइट मिट र रेड मिट भन्ने तर्क विशुद्ध बुध्दुले मात्र गर्ने हो । जसलाई यूरिक एसिडको बारेमा ज्ञान नै छैन त्यसले मात्र गर्ने हो । हालसालैका आर्थराइटिस फाउण्डेशन, अमेरिका तथा यु के गाउट सोसाइटीका रिसर्चले पनि यो प्रमाणित गरिसकेको छ कि सेतो मासु पनि यूरिक एसिडमा खतरनाक हुन्छ ।

कतिपय बिरामीहरू डाक्टरले नै सेतो मासु खाए हुन्छ भन्नुभएको छ पनि भन्ने गरेको सुनिन्छ, डक्टरले गलत भनेका हुन् त ?
हो, सर्वसाधारण मानिसमा मात्रै होइन कि चिकित्सकहरूमा समेत यसको बारेमा भ्रम रहेको पाइन्छ । यसको रोकथाम तथा उपचारमा पनि त्यतिकै भ्रम छ । जब डक्टरलाई समेत थाहा छैन भने बिरामीलाई कसरी थाहा होस् ! हालसालैको रिसर्च अनुसार माछा मासु र रक्सी मात्र होइन, प्याकेटका जुस र नुनिला जंकफुडले पनि शरीरमा युरिक एसिड बढाउन सक्छन् । त्यस्तै पानी कम भयो भने पनि शरीरमा यूरिक एसिड जम्मा हुन सक्छ । व्यायामको कमीले पनि यूरिक एसिड फ्याँकिने क्रम कम हुँदै जान्छ ।

थुप्रै औषधिहरू जस्तै थाइजाइड डाइयुरेटिक्स, एस्प्रिन जस्ता सेलिसाइलेट्स तथा ग्यास्ट्रिकका पीपीआई औषधीले पनि यूरिक एसिड बढाउन सक्छ । मैले थुप्रै डाक्टर देखेको छु जसले यूरिक एसिड घटाउने औषधी दिएको बेलामा यूरिक एसिड बढाउने ग्यास्ट्रिकको औषधी पनि दिइरहेको हुन्छ । यो डाक्टरमा भएको अज्ञानता अथवा रिसर्चको कमीले भएको हो । आजको जमानामा डक्टरले आफूलाई अपटुडेट राख्नै पर्छ त्यसको लागि अध्ययन अनुसन्धान गर्नै पर्छ ।

यूरिक एसिडले मानव स्वास्थ्यमा कस्तो असर पुर्याउँछ ?
जसले जोर्नी दुख्ने, सुन्निने खाले यूरिक एसिडको बाथ रोग अर्थात् गाउट गराउँछ । बढेको यूरिक एसिडले कुनै पनि खाले दुखाइलाई झनै बढाउने पनि गर्दछ । यूरिक एसिडको बाथ रोगले हाडजोर्नि बिगार्ने मात्र होइन, कतिको जिन्दगी नै बर्बाद गरेको पनि हामीले देखिरहेका हुन्छौँ । यती मात्रै होइन यूरिक एसिड बढ्दा मृगौलाको पत्थरी हुने, मृगौला खराब हुने आदि पनि हुनसक्छ ।

हुन त ७ मिलिग्राम पर डेसिलिटर सम्मको यूरिक एसिडलाई थुप्रैले सामान्य मान्छन् तर हालै जापानबाट प्रकाशित रिसर्चका अनुसार यो ५ भन्दा माथि हुने बित्तिकै पनि मृगौला समेतलाई हानी गर्न सुरु गर्छ ।

यूरिक एसिडको उपचार विधि के हो ?
यूरिक एसिड बढेको छ भने सबैभन्दा पहिला त खाना नै बार्नुपर्‍यो । दोस्रोमा पानी अत्यधिक पिउनु पर्‍यो । अघि भनिहाल्यौँ रक्सी, ह्वाइट मीट, रेड मीट, माछा सबै खतरनाक हुन्छन् । माथि उल्लिखित जुन जुन कुराले यूरिक एसिड बढी पैदा गर्दछन् ती सबै कुरा त बार्नु नै पर्छ । साथसाथै व्यायाममा समेत ध्यान दिनु पर्दछ । छोटकरीमा भन्दा जीवनशैली नै परिवर्तन गर्नुपर्छ । खानपिन र जीवनशैलीबाट यसको उपचार हुन नसके मात्र औषधि प्रयोग गरिन्छ ।

डा. सुनिल पौडेल, संस्थापक निर्देशक, अर्थोन्युरो हेल्थ केयर, लाई प्रश्न सोध्न हट लाइन ९७४१३३३००९, ५५३३२१९, ९८१६१९८४६८ वा hamrodoctor@gmail.com

भाद्र ११ गते, २०७५ - ०७ः३० प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg