७७ प्रतिशत किशोरीको बास छाउगोठमै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

७७ प्रतिशत किशोरीको बास छाउगोठमै


प्रशासन विशेष ब्युरो

९ भाद्र २०७५, शनिबार


छाउगोठ

सुर्खेत । कर्णाली प्रदेशमा ७७ प्रतिशत किशोरीको छाउगोठमै बास हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

छाउपडी उन्मूलनका क्षेत्रको काम गर्दै आएको एक संस्थाको तथ्याङ्कअनुसार छुई अर्थात् महिनावारी भएका ७७ प्रतिशत किशोरीले छाउगोठमा बस्ने गरेका छन् ।

कर्णालीमा महिनावारी भएकै कारण २८ प्रतिशत किशोरीले विद्यालय छोड्ने गरेको एक्सनवर्कस नेपाल संस्थाले अध्ययन गरी सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

छाउपडी सामाजिक कुसंस्कार हो भन्ने जान्दाजान्दै पनि विद्यालय उमेरकै ७७ प्रतिशत किशोरी छाउगोठमै बस्न बाध्य भएको संस्थाका कार्यक्रम संयोजक सोमराज जिसीले जानकारी दिएका छन् ।

उनका अनुसार अध्ययनले महिनावारी भएको समयमा घरभित्र बस्दा देउता रिसाउने डरले किशोरी अझै पनि छाउगोठमै बस्न बाध्य भएको तथ्याङ्क देखाउँछ ।

सार्वजनिक भएको तथ्याङ्कअनुसार कक्षा छ देखि १२ सम्मका समूहका महिलाले नै छाउगोठमा बस्ने गरेका हुन् । महिनावारी भएको समयमा ८५ प्रतिशत महिला दिदीबहिनीेले दहीदूध खान पाएका छैनन् भने ९१ प्रतिशत महिलाले भान्सामा प्रवेश नपाएको अध्ययनले देखाएको जिसीले बताए ।

५३ प्रतिशत महिलाले धार्मिक तथा सांस्कृतिक कारणले छाउ बार्ने गरेका छन् । छाउपडी प्रथा उन्मूलनका लागि विभिन्न गैरसरकारी निकायले विभिन्न समयमा गरेको जनचेतनामूलक कार्यक्रमसमेत प्रभावकारी देखिएको छैन ।

कर्णालीका ६० प्रतिशत महिलालाई सरकारी नीति नै थाहा नभएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस