वाह ! आरती आनन्द « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वाह ! आरती आनन्द


प्रशासन विशेष ब्युरो

२६ श्रावण २०७५, शनिबार


आरती

म आरती हुने स्थानको उत्तरपट्टि ‘ओम नमः सिवाय नमो नम’ मन्त्र जप्दै ‘आरती’ समयको पर्खाइमा छु । म प्रायः ‘स्वान्त सुखाय’ को लागि साँझपख यता झुल्कने गर्छु । कामको थकानबाट एकैछिन भएपनि उन्मुक्ति पाउन । तनावबाट उम्कन र ‘म’— म स्वंयम भएर बाँच्न । आरती श्रवणले भौतिक दुनियाँबाट एकैछिन भएएनि अन्तरआत्माको यात्रा गराउँछ । म हुनुको बोध गराउँछ । ‘शिव ताण्डव स्तोत्र’ सुनिरहँदा मन-मष्तिष्कले आनन्द लिन्छ । आरती दीप प्रज्वलनले वातावरण रमाइलो बनाउँछ । धुनहरू समधुर, हृदय छुने र शरिर तरंगित गर्ने हुन्छन् । शंङ्खघोषको ध्वनि कान हुँदै हृदयसम्म पुग्छ।

म प्रायः साँझहरू यतै टहल्छु । शायद म जस्तै एकैछिन शान्त हुनकै लागि अन्य मानिसहरू पनि यता झुल्कने गर्छन् होला ?

हामी सबैलाई थाहा छ— ‘बह्रमाण्डको सबैभन्दा रहस्यमय कुरा मृत्यु हो ।’ अन्य रहस्यका कुराहरू पनि थुप्रै छन तर मृत्यु अग्रस्थानमा छ । त्यहि भएर मान्छेहरू मृत्युलाई सहजै स्वीकार गर्न सक्दैनन । त्यसैले जीवनका अनेकौँ उतारचढावको रस नबुझ्दै जिन्दगीको जोडघटाउ उसै सकिन्छ । आरती भजन गुञ्जिरहँदा पारिपट्टी घाटमा मान्छेको लाश जलिरहेको छ । म यो दृश्य हेरिरहेको छु । आफन्तहरू सुकसुकाउँदै रोइरहेका छन । ती आँखाबाट खसिरहेका आँशुको तातोपन म महशुस गरिरहेको छु ।

मैले यो दृश्यबाट मन हटाउन सकिन । मन उसैउसै थोपा भइ झर्न ठिक्क परेका बादलका टुक्राहरू झैँ भित्रभित्रै मडारिएको छ । उहि मनलाई सान्त्वना दिन छेवैमा बसेकी करूणालाई मैले अचानक प्रश्न गरे— ‘तिमी आरती हेर्न किन आउछौँ?’

उनले हतपत्त उत्तर सुझाई— ‘म आनन्दको लागि आउँछु । मलाई साँझको वातावरण र यहाँ गुञ्जने ध्वनी मनपर्छ ।’ उनको कुरा सकिन नपाउदै सिनामंगलबाट आरती हेर्न आएका हेम विनाडीले— ‘आस्था, प्रेम र भक्तिसँगै आरतीको मीठ्ठो धुनमा एकैछिन विलिन हुन, भौतिक संसारबाट हृदयको यथार्थता बोध गर्न’ आउने वताए ।

हो, हेमले ठिकै भने । मान्छेहरू भौतिकवादी हुँदै छन । चैनको स्वास फेर्न समेत एक मिनेट समय छैन । अब, फुर्सद हुने त कुरै भएन । शुद्र/व्यापारको युग भएकैले मान्छेहरू पैसाको निम्ति रातदिन संघर्ष गरिरहेका छन । पैसाले सबैथोक किन्न सकिन्छ भन्ने भ्रम मान्छेमा दिनदिनै बढ्दै छ । त्यसैले, एकैछिन मनको शान्ती, शुद्ध र नियन्त्रण गर्न तथा कामबाट एकैछिन विश्राम लिन आरती हेर्न आउनु लाभदायक छ । कसो? मेरो कुरा सुनेर सुधिर फिस्स मुस्कुरायो र बोल्न थाल्यो— ‘जे जस्तै भएपनि मन भने शान्त हुन्छ । दिभरिको शारिरिक थकानबाट मुक्ति मिल्छ । सकरात्मक विचार, कामप्रति अझ फोकस हुन, लगनशील हुन, मष्तिष्कलाई शान्त गराउन’ आरती श्रवण लाभदायक भएको निश्चिन्त गर्छ ।

आजभोलि सबै मान्छेहरू आनन्दको खोजिमा छ । ऊ जिन्दगी भन्ने जिनीसको प्रत्येक पल सु:ख चाहान्छ । मन शान्त र स्थीर चाहान्छ । विना कुनै अवरोध आकांक्षा र चाहानाहरू पुरा गर्न चाहान्छ । तर, के जिन्दगी भन्ने जिनीसमा मान्छेले चाहेजति सबै चीज सजिलै हासिल गर्न सक्छ ? उत्तर भने सजिलो छैन— अवश्य सक्दैन । यीनै कुराहरूको जालोमा जिन्दगी भन्ने जिनीस जटिल बन्दै जान्छ । यहि जटिलताबाट एकछिन विश्राम लिन र जिन्दगीलाई नजिकबाट नियाल्न आरती श्रवण महत्वपूर्ण छ । म यो किन पनि भनिरहेको छु भने— पशुपतिनाथ एक ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण स्थल हो । प्रत्येक साँझ हुने आरती आनन्दको महत्व झन विशेष किसिमको छ । म आरती समय अगावै बेलाबेला पशुपतिनाथ मन्दिरको पारिपट्टी रहेको श्लेष्मान्तक जंगल यात्रामा निस्कन्छु । त्यहाँ चिरविर गर्ने चराहरूको धुन कुनै संगीतको धुन भन्दा कम छैन । बादरहरूको गतिविधि हेर्दा चिडायाखानाभित्र छु जस्तो लाग्छ ।

साँझ झपक्कै भएपछि आरतीको भजन सिरोपर गर्न ओर्लन्छु ।

म जस्तै आरती हेर्न थुप्रै मान्छेहरू आइसकेका हुन्छन । अझ साउनको महिना भएकोले आरती हेर्न दिदीबहिनीहरूको घुइचो देख्दा पुजा, आरधना र साधनाको महत्व यसले अझ प्रष्ट पार्छ ।

पशुपतिनाथको मन्दिर पवित्र तीर्थाटन मात्र होइन, जीवनको सम्पूर्ण रूप, सार र तत्वको संगम स्थल पनि हो ।

मैले साँझपख महशुस गर्ने घामका किरण, वाग्मतीको वहावको गुञ्जन, बादरहरूको रोमाञ्चक गतिविधि र मान्छेहरूको अनुहारमा छचल्किरहने अनेक मनोवाभका तरङ्गहरूले मेरो हृदय छोइरहन्छ ।

अनि, आरतीको आनन्द— वाह!

प्रतिक्रिया दिनुहोस