महिलाको व्यावसायिक पेशामा ग्लास सिलिङको असर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महिलाको व्यावसायिक पेशामा ग्लास सिलिङको असर


२२ श्रावण २०७५, मंगलबार


ग्लास सिलिङ

कार्यस्थल वा व्यावसायिक क्षेत्रमा महिलालगायत विशेष जाति वा मार्जिनल समूहलाई करियर विकासका क्रममा निर्णायक तहमा पुग्न रोक्ने वाधा, व्यवधान, तगारो, पर्खाल जुन अदृश्य (इनभिजिबल बेरियर) हुन्छ, त्यो नै ग्लास सिलिङ हो । यो त्यस्तो अवरोध हो जसले ठूलो संख्याका महिला, विशेष जाति वा माइनोरिटीज समूहलाई शक्तिशाली, सम्मानयुक्त एवं उच्च तलवयुक्त पद पाउनमा रोक लगाएको हुन्छ ।

यहाँ चर्चा गर्न लागिएको ग्लास सिलिङ महिलाको सन्दर्भमा हो । हिलारी क्लिन्टनको पहलमा सन् १९९० पछि पश्चिमी मुलुकमा व्यापक चर्चा एवं परिचर्चामा आएको ग्लास सिलिङको मुद्दा विस्तारै विकासोन्मुख मुलुकहरूमा पनि उठ्न थालेको छ । पश्चिमी मुलुकका महिलाहरूलेसमेत ग्लास सिलिङको असर भोगिरहेको सन्दर्भमा नेपाली महिलाहरूले भोग्नु कुनै नौलो कुरा भएन ।

व्यावसायिक जीवनमा काँडेतारको रूपमा रहेको ग्लास सिलिङले महिलाको वृत्ति विकासमा नजानिँदो किसिमले नकरात्मक असर पुर्याइरहेको छ । कार्यस्थलमा महिलाको करियर विकासका क्रममा यस्ता नदेखिने पर्खाल, वाधा, व्यवधान ठूलो तगारोको रूपमा रहेको छ, जसले मन्द रूपमा महिलाहरूलाई वृत्ति शृंखला चढ्न रोकिरहेको छ । विश्वभरका महिलाहरू व्यावसायिक रूपमा आ–आफ्नो वृत्ति विकासको क्रममा उच्च तहमा पुग्ने होडबाजी गरिरहँदा ग्लास सिलिङ ठूलो बाधाको रूपमा अगाडि आइरहेको छ ।

झट्ट हेर्दा महिलाहरू सहजै उच्च तहमा पुगेको देखिएता पनि थुप्रै हण्डर, ठक्कर, गोता खाएर मात्र पुगेका छन् । पारिवारिक र व्यावसायिक दुवै जीवनमा महिलाहरूको संघर्ष त्यति सहज छैन । पुरुषहरूले गर्ने क्रियाकलाप महिलाहरुले गर्न नसक्ने होइन । तर, त्यस्ता क्रियाकलाप गर्दा महिलाले ५० औं पटक सोच्नु पर्ने हुन्छ भने पुरुषहरूले झट्ट निर्णय गर्न सक्छन् ।

सामाजिक सोच, परम्परा, परिवारको रेखदेखदेखि बच्चा जन्माउने, हुर्काउनेसम्मका जिम्मेवारीको बोझले महिलाहरूलाई सधै थिचिरहेको हुन्छ । त्यस्तै महिलाको शारीरिक एवं मानसिक अवस्थाले पनि नजानिँदो किसिमले वृत्ति विकासमा नकरात्मक असर पुर्याइरहेको छ । समाजको मान्यता, धारणा, आचरण, मानसिकता, विश्वाससँग सार्वजनिक विषयहरू जोडिएको हुन्छ र त्यसको प्रभाव व्यावसायिक जीवनमा समेत पर्छ । व्यवसायिक करियर सफल हुन अनौपचारिक सम्बन्धले पनि ठूलो भूमिका खेलेको हुन्छ । यस्ता सम्बन्ध महिलाहरूले कमै बनाउने गरेको पाइन्छ भने पुरुषहरूको ठूलो नेक्सस हुन्छ, जसले उनीहरुको करियरमा नदेखिने अदृश्य तरिकाले वृत्ति शृंखला चढ्न मद्धत पुर्याइरहेको हुन्छ । विशेष गरी सहायकस्तरका काममा महिलाहरूलाई बढी विश्वास गरिन्छ । तर, चुनौतीपूर्ण एवं नेतृत्व लिने काममा भने महिलाहरूले अवसर पाउन निकै पापड बेल्नुपर्ने हुन्छ । प्रायःजसो सबै सार्वजनिक पदमा पुरुषहरूको बाहुल्यता रहेको नेपाली समाजमा महिलाको नेत्तृत्व सहजरूपमा स्वीकार गर्न नसक्ने सामाजिक अवस्था यद्यपि छँदैछ ।

हाम्रो समाजले पुरुषलाई उच्च दर्जा र महिलालाई सहायक स्तरमा राखेकै कारण महिलाले व्यावसायिक जीवनमा आफ्नो क्षमता, ल्याकत एवं नेतृत्व कौशलको बारम्बार पुष्टिका साथै प्रमाणित गरिरहनुपर्छ । महत्वपूर्ण, नवीन र चुनौतिपूर्ण कामहरू पुरुषले गर्दा सामान्य रूपमा लिइन्छ भने त्यहि काम महिलाले गर्दा सुक्ष्म र मिहिन तरिकाले नियालिन्छ । पूरुष सफल नहुँदा खासै चर्चा चल्दैन । तर, महिला असफल भएमा ठूलो चर्चा, परिचर्चा एवं टीका टिप्पणी हुन सुरु हुन्छ । शक्तिशाली एवं उच्च तहमा रहेका पुरुषहरू सबै सफल हुन सकेका छैनन् । हामीले देखिरहेका छौं कुनै हैसियत र ल्याकत नभएका पुरुषले उच्च तहको सार्वजनिक पद ओगटेर बसिरहेका छन् । तर, उनीहरू माथि औला कमै उठेको देखिन्छ किनकि ऊ पुरुष हो । एकाध महिला उच्च तहमा पुगे भने उनीहरूको सानो त्रुटिलाई बढाइचढाई गरी तिलको पहाड बनाउने प्रयास सुरु हुन्छ । पदभन्दा पनि महिलाबाट उसको कामको चर्चा/परिचर्चा चल्न सुरु हुन्छ । महिलाले गर्ने निर्णय माथि सदैव प्रश्नचिन्ह खडा गरिन्छ, जुन निर्णय चित्त नबुझेर होइन निर्णय गर्ने व्यक्ति महिला भएर उठेको हो । यसो भन्दैमा महिला जति सबै सक्षम छन् भन्न खोजेको होइन । निर्णायक तहमा पुगेका सबै महिला सफल हुन सकेका छैनन् । तर, महिलाको निर्णायात्मक तहमा पुग्ने बाटो चाहिँ साँघुरो छ भन्न खोजेको हो ।

निजामती सेवाको कुरा गर्ने हो भने स्वास्थ्य सेवासहित निजामती सेवामा १२ प्रतिशतको हाराहारीमा रहेका महिला कर्मचारीहरू सरकारले अपनाएको सकरात्मक विभेदको नीतिपश्चात बढेर २३ प्रतिशत पुगेको अवस्था छ भने ५९ जना विशिष्ट श्रेणी (सचिव)का कर्मचारी रहेकामा दुई जना मात्र महिला छन् । यसरी समग्र रूपमा महिला कर्मचारीको प्रतिनिधित्व झण्डै दोब्बर भएता पनि उच्च तहमा अत्यन्त न्युन छ । निजामती सेवामा ग्लास सिलिङको असरले महिलाहरू उच्च तहमा पुग्न सकिरहेका छैनन् ।

महिलाको व्यवसायिक जीवनमा ग्लास सिलिङको असर कम गर्न महिला स्वयं आत्मविश्वासी, दृढ निश्चयी, सजग एवं सचेत र कुशल व्यवस्थापक हुन जरुरी छ । महिलाहरू कम्फर्ट जोनबाट निस्किएर समस्या एवं चुनौतीको सामना गर्न पछि हट्नु हुन्न । प्यारेन्टिङ र नर्चरिङ भूमिकामा ब्रह्माण्डमै गौरवमय इतिहास रच्न सक्ने महिलाले अवसर पाएमा व्यावसायिक जीवनमा पनि सफल हुन सक्ने प्रमाणित गरिसकेका छन् । ग्लास सिलिङ नेपालको मात्रै होइन, अन्तर्राष्ट्रिय मुद्दा हो । यसको असर कम गर्न महिलाहरूले आफ्नो तर्फबाट गर्ने प्रयासका अतिरिक्त राज्यले पनि महिलामैत्री नीति बनाउन जरुरी छ । राज्यका अंगहरुको पुनर्संरचना भई ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा घन्किरहेको अवस्थामा अब बन्ने संघीय निजामती सेवा ऐनलगायत अन्य ऐन, कानुन, नीतिले महिलालगायत माइनोरिटिजहरूको ग्लास सिलिङको मुद्दालाई सम्बोधन गर्न छुटाउनुहुन्न ।

Tags :
प्रतिक्रिया दिनुहोस