संघीयतामा खोप सेवा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

संघीयतामा खोप सेवा


ओमप्रसाद उपाध्याय

१८ श्रावण २०७५, शुक्रबार


संघीयतामा खोप सेवा

विश्वमा खोप सेवाको इतिहास हेर्दा प्राचीन ऋषिमुनिहरूले विभिन्न जडीबुडी सेवन गरी रोग नलाग्ने क्षमताको विकास गरेका थिए । नेपालमा खोप सेवाको इतिहास लामो छैन ।

राणाकालमा तत्कालीन श्री ३ जंगबहादुर राणाले थापाथली दरबारमा रहेका बालबालिकाहरूलाई खोप दिन लगाएको पढ्न पाइन्छ । नेपालमा २०२४ सालमा बिफर उन्मूलन आयोजना लागू भयो । २०३४ सालमा विश्वबाट बिफर उन्मूलन भयो । २०३५ सालमा विस्तारित खोप आयोजनाको नामबाट नेपालमा खोप सेवा प्रवाह गरियो । प्रारम्भमा तीन जिल्लाबाट खोप सेवा एक वर्षमुनिका बालबालिकाहरूलाई प्रारम्भ गरियो ।

२०४८ सालमा नेपालको सबै जिल्लाहरूमा राष्ट्रिय खोप कार्यक्रमका सेवाहरू विस्तार गरिए । समय अनुसार खोप सेवामा खोपहरू थपिँदै गए । सुरुमा एक वर्षमुनिका बालबालिकाहरूलाई मात्र खोप सेवा प्रदान गरिएकोमा पछि गर्भवती महिलाहरूलाई खोप सेवा दिन थालियो ।

नेपालमा सञ्चालन गरिएको राष्ट्रिय खोप कार्यक्रम निकै प्रभावकारी देखिएको छ । नेपालबाट पोलियो उन्मूलन भएको छ । दादुरा नियन्त्रणको अवस्थामा छ । जापानिज इन्सेफलाइटिस लाग्ने दर निकै कम भएको छ । आमा तथा नवजात शिशुमा देखिने धनुष्टंकार निवारण अवस्थामा छ । बालबालिकामा हुने निमोनिया कम हुँदै गएको छ । हाल नेपालमा बिसिजी खोप एक वर्षमुनिका बालबालिकालाई जन्मनेबित्तिकै दिइन्छ । भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुन्जा टायप बि विरुद्ध जन्मिएको ६, १० र १४ हपतामा तीन पटक दिइन्छ । पोलियो खोप जन्मिएको ६ १० १४ हप्ताको उमेरमा मुखबाट खुवाइन्छ । पिसिभी खोप निमोनियाविरुद्ध दिइन्छ । यो जन्मिएको ६ तथा १० हप्ता र ९ महिनामा गरी तीन पटक दिइन्छ । एफआइपिभी पोलियोविरुद्ध जन्मिएको ६ हप्ता र १४ हप्तामा दुई पटक दिइन्छ । दादुरा रुबेला जन्मिएको ९ महिनामा पहिलो मात्रा र १५ महिनामा दोस्रो मात्रा दिइन्छ । जापानिज इन्सेफलाइटिस १२ महिनामा एक पटक दिइन्छ । गर्भवती महिलाहरूलाई धनुष्टंकार र लहरेखोकीविरुद्ध टिडी खोप दिइन्छ । यो गर्भवती भएका थाहा हुनेबित्तिकै पहिलो पटक र त्यसको एक महिनापछि दोस्रो पटक दिइन्छ ।

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सेवालाई आधारभूत मौलिक हकको रूपमा उल्लेख गरिएको छ । नेपालमा खोप सेवा सम्बन्धमा व्यवस्था गर्न ऐन बनेको छ । खोप ऐनको प्रस्तावनामा खोपको माध्यमबाट रोगको रोकथाम नियन्त्रण निवारण वा उन्मूलन गरी शिशु बालमृत्यु तथा अन्य व्यक्तिको मृत्युदर घटाउन तथा खोप सेवाको विकास, विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा प्रदान गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वान्छनीय भएकाले भन्ने उल्लेख भएबाट खोपको महत्व धेरै छ । खोप ऐनमा खोप भ्याक्सिन भन्नाले कुनै रोगको रोकथाम नियन्त्रण, निवारण वा उन्मूलन गर्न दिइने खोप सम्झनुपर्छ भनेर परिभाषा गरिएको छ । खोप कार्यक्रम भन्नाले कुनै रोगको रोकथाम नियन्त्रण, निवारण वा उन्मूलन गर्न मन्त्रालयले नियमित वा अभियानको रूपमा सञ्चालन गर्ने राष्ट्रिय खोप कार्यक्रम सम्झनुपर्छ । सो शब्दले खोपबाट बचाउन सकिने रोगको निगरानी गर्नुलाई समेत जनाउँछ । खोप सेवा भन्नाले यस ऐन बमोजिम खोप प्रदान गर्नुलाई सम्झनुपर्छ । सो शब्दले खोप सेवा सञ्चालनको लागि खोप सामाग्रीको व्यवस्थापन, आपूर्ति भण्डारण वा वितरण गर्ने कामलाई जनाउँछ भनेर उल्लेख गरिएको छ ।

खोप ऐनले विभिन्न समितिहरूको व्यवस्था पनि गरेको छ । राष्ट्रिय खोप समिति सल्लाहकार समितिको व्यवस्था छ । खोप सेवा बाल तथा महिला अधिकारसँग जोडिएको विषय पनि हो । खोप कार्यक्रमले सहश्राब्दी बिकास लक्ष्य ४ र ५ पूरा गर्न ठूलो योगदान रहेको छ । खोप कार्यक्रमको बृहत् बहुबर्षीय योजना २०१७ देखि २०२१ सम्मको तयार भएको छ । यस योजनाका मुख्य उद्देश्यमा प्रत्येक बच्चालाई पूर्ण खोप दिने, बालबालिकालाई यथाशीघ्र खोप लगाउने, खोपको लक्ष पूरा गर्न हासिल गरेको लक्षलाइ दिगो राख्ने, खोपजन्य रोगहरूको नियन्त्रण, निवारण र उन्मूलन गर्ने, खोपजन्य सामग्री आपूर्ति र खोप सेवाको गुणस्तरलाई सुदृढ बनाउने, खोप कार्यक्रमको वित्तीय दिगोपनाको सुनिश्चितता गर्ने, नवीन अनुसन्धान सामाजिक परिचालनलाई जोड दिने रहेका छन् ।

खोप कार्यक्रमलाई प्रभावकारी र गुणस्तरीय बनाउन प्रभावकारी खोप व्यवस्थापन पनि त्यतिकै आवश्यक छ । इफेक्टिभ भ्याक्सिन म्यानेजमेन्ट (इभिएम)का मापदन्डहरू तोकिएका छन् ।

खोप तथा खोपजन्य वस्तुहरूको आगमन खोपलाई तोकिएको तापक्रममा भन्डारण खोप तथा खोप सामग्रीको भन्डारण तथा ढुवानी क्षमता भवन कोल्डचेन सामग्री ढुवानी प्रणाली मर्मत सम्भार स्टक व्यवस्थापन वितरण प्रणाली खोप व्यवस्थापन नीति सूचना व्यवस्थापन प्रणाली आदि रहेका छन् । हालसम्म धेरै खोपहरू युनिसेफ गाभिफन्डको सहयोगमा आउने गरेका छन् । केही खोपहरू नेपाल सरकार आफैले पनि खरिद गर्ने गरेको छ । नेपालमा खोपहरू विमानबाट अन्तर्राष्ट्रिय विमानस्थलमा आउने विमानस्थलबाट तोकिएको मापदन्ड अनुसार रेफ्रिजेरेटर भ्यानमा राखेर केन्द्रीय खोप भन्डारमा वाक् इन फ्रिजर (डब्लुआइएफ) र वाक् इन कुलर (डब्लुआइसी)मा तोकिएको मापदन्डमा भन्डारण गरिन्छ । हालको अवस्थामा स्तरीय कार्य सञ्चालन विधि अनुसार खोपहरू रेफ्रिजेरेटर भ्यानमा राखेर क्षेत्रीय मेडिकल स्टोरहरू विराटनगर हेटौडा, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा लगेर डब्लुआइसीमा भन्डारण गरिन्छ ।

काठमाडौं उपत्यका वरपर रहेका १० जिल्लामा केन्द्रीय खोप भन्डारबाट ढुवानी गरिन्छ । क्षेत्रीय मेडिकल स्टोरबाट सम्बन्धित जिल्लामा मापदन्ड अनुसार ढुवानी गरी खोप पुरयाइन्छ । जिल्ला खोप भन्डार र सब सेन्टरहरूमा डब्लुएचओ युनिसेफले तोकेका मापदन्ड अनुसारका फ्रिज डिफ्रिज छन् । यिनीहरूमा खोप भन्डारण गर्दा खोपको गुणस्तर कायम हुन्छ ।

वर्तमानमा तीन किसिमका सरकारको व्यवस्था भए अनुसार अन्तर्राष्ट्रिय स्तरबाट आउने खोपलाई केन्द्रीय संघ, प्रदेश र स्थानीय सरकारमा वितरण व्यवस्था मिलाउने, खोप ऐनमा व्यवस्था भएका समिति र संरचनालाई कसरी यथावत कायम गर्ने खोप कार्यक्रमको संघ प्ररदेश र स्थानीयबीच समन्वय तथा सहकार्य एकता कायम गर्ने ठूलो चुनौती देखिएको छ । प्रारम्भमा तीन एन्टिजेनबाट खोप सेवा दिएकोमा हाल आएर ११ एन्टिजेन प्रदान गरिएको छ । आगामी दिनमा रोटा भाइरसविरुद्धको खोप र महिलाहरूको पाठेघरको क्यान्सरविरुद्धको खोप नियमित खोप सेवामा आउँदैछ । इमयुनोलोजिस्टलगायत दरबन्दी थप हुनुपर्नेमा भएका अनुभवी दरबन्दी कटौती गरिएको छ । खोप सेवामा लामो समयदेखि कार्यरत जनशक्तिलाई उचित कार्य जिम्मेवारीको अभावमा मनोबल घटाउने कार्यक्रमलाई अस्तव्यस्त बनाउने काम नीति निर्माताबाट भएको छ । कार्यक्रमलाई थप प्रभावकारी तथा सुदृढ बनाउन कार्यबोझ अनुसार साबिकको जनशक्तिलाई यथावत राखी थप जनशक्ति र भौतिक पूर्वाधार थप्नुको विकल्प देखिँदैन ।

(लेखक स्वास्थ्य सेवा विभागमा खोप सुपरभाइजर अधिकृत हुनुहुन्छ ।)

Tags :
प्रतिक्रिया दिनुहोस