बुझाइको जिनिस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बुझाइको जिनिस


सन्तोष पौडेल

१४ श्रावण २०७५, सोमबार


हरेक मानिसमा आ–आफ्नै समस्याहरू हुन्छन् । तर, थोरैले मात्र समस्याको समाधान गर्न सक्छन् ।

एकैछिन म को कुरा गरौं । म भन्ने जिनिसभित्र के अट्छ ? म को स्वरूप के हो ? यसको अर्थ के छ ? म बाट हामी, हामीबाट परिवार, परिवारबाट समुदाय तथा समुदायबाट देशको सामूहिक सामथ्र्यता हुन कसरी सिक्ने ?

यसबारे अधिकांशलाई थाहा छैन । त्यसैले हामीसँग समस्याहरूको चाङ छ । विकास छैन । बेरोजगार छ । सम्बन्धहरू मजबुत छैन । विश्वास र अठोट हुने कुरै भएन ।

समस्याहरूबाट कोही भाग्न सक्दैन । त्यसैले म, हामी, तपाई, ऊ, ऊनी, सबै बुझाईको भारीबाट थिचिएका छौँ । कुनै पनि कुरामा बुझेजस्तो गर्ने, बुझेकै रूपमा प्रस्तुत हुने झन् विराट समस्या बन्दै गएको छ ।

केही हप्ताअघि एक माननीयले बंगलादेशमा चिकित्सा पढ्न जाने नेपाली युवतीको बारे बोल्दा उनले मन्त्री पद नै गुमाउनुपर्याे ।

केही समयअघि सम्माननीय प्रधानमन्त्रीज्यूले क्रिकेट बललाई ‘डल्लो’ भनेका थिए । उनले ‘डल्लो फ्याकेरै सन्दीप चम्किएको’ भनेपछि कार्यक्रममा उपस्थित व्यक्तिहरू हासेका थिए ।
सांसद नविना लामाले डा. केसीलाई देश निकाला गर्नुपर्ने भनेकी थिइन् ।

एक मार्सीम्यानले अन्तर्वार्तामा एक–दुई जना अनसनमा बस्ने मान्छेहरू मरेर केही फरक नहुने धारणा राखेका थिए । एक पत्रकारले अन्तर्वार्तामै उनलाई ‘तपाईँजस्तो १०–२० जना भए देश नै कायापलट हुने’ घोषणा गरेका थिए ।

समाजले लयको बाटो भत्काउँछ । मनोविज्ञानमा असर गर्छ । जनचेत धमिल्याउँछ ।

नेपाली समाजको समस्या बुझाईको जिनिस हो ।

म सानो घटना भन्छु ।

उनी दुई जिउकी थिइन् । त्यही भएर उनी भोकै बस्दैनथिइन् । त्यो मलाई थाहा थियो ।

मैले अस्पतालको टिकट काटेर उनलाई वार्डमा पठाए । उनकै सहमतिमा म उनलाई एक्लै छाडेर पशुपतितिर हानिएँ । मैले जानाजान उनलाई त्यसरी भोकै बस्न कुराएकै हैन । तर, ऊ मेरै बाटो कुरेर बसिरही । कारण– सँगै लन्च गर्ने चाहनामा ।

बेलुका हजुरआमा बित्नुभयो । तर, मैले भोलिपल्ट बिहान दाहसंस्कारका लागि पशुपति लगिँदा मात्रै थाहा पाएँ ।

त्यतिबेला म उनको चेकअप गर्न अस्पताल लैजाँदै थिएँ । हजुरआमा बितेको खबरले मलाइ आपत आइपर्यो– अस्पताल जाने कि पशुपति जाने । तर, मैले दुवै ठाउँमा उपस्थिति जनाए । म अस्पताल र घाट दुवै ठाउँमा पुगे । तर, लन्च भने उनीसँगै हुनै सकेन ।

म घाट पुगेका बेला उनले आफ्नो चेकअप भइसकेकाले फर्कन आग्रह गरिनँ । मैले भर्खर त पुगे के भनेको थिएँ, उनले फोन काटिहालिन् ।

मलाई उनी रिसाएजस्तो लाग्यो । तर, यसमा न मेरो गल्ती थियो न त उनको नै । तर, बुझाइमा गल्ती थियो । न मैले उनलाई बुझाउन सकेँ, न उनले बुझिन् । हाम्रो मतमतान्तर हुँदै धैरै दिनसम्म झगडा पर्यो । त्यहाँ अनावश्यक विषयहरू, जस्तै : गाडीको जामदेखि लिएर अनेकौं विषयमा बिना कारण बहस भए ।

समस्याहरूको समाधानको सुन्दर पक्ष के हो ? म फ्याट्ट भन्छु– बुझ्नु हो । बुझ्नु भनेको जस्ताको तस्तै परिस्थितिको आँकलन गर्नु हो । आफ्नो मनिस्थिति अनुरूपको भेद खुट्याउनु होइन ।

अलिकति कुरा स्पष्ट पारौँ है !

यहाँ, नेताले राजनीति बुझ्दैन । व्यापारीले हिसाबकिताब बुझ्दैन । परोपकारीले मानवता बुझ्दैन । कलाकारले कलाकारिता बुझ्दैन । मान्छेले मान्छे बुझ्ने कुरै छैन । एकचोटि सौचौँ त बुझ्नुको अर्थ बुझाउनु पनि हो । खै, कसले बुझाउँछ । ठुलठूला कुरा गर्नेहरूले कहिल्यै आफैले बुझेनन् । साना कुरा गर्नेहरूले आफै बुझ्नै चाहेनन् । म यस्तो समाजमा बाँचिरहेको छु, जहाँ बुझाईको भारीले थिचिएर जीवन निथ्र्याउनुबाहेक अरू केही छैन ।

डा. केसी २७ औँ दिनसम्म अनशन बसे । मेडिकल शिक्षाको भविष्य र बेथिति बुझाउन । उनलाई हामी कतिले बुझेजस्तो गरौं, बुझे भनौं, उनको आशय बुझिसकेर रोडमा ओर्लेको छनक दियौं । फेसबुक भित्ताभरि अनेक टास्यौं ।

के हामीले माथेमा प्रतिवेदन साच्चै पढेका छौं ? के छ माथेमा प्रतिवेदनमा ? तीन करोड जनताको स्वास्थ्य भनिएको छ, के हो त्यो भनेको ? कसले लेख्छ यस्तो भाषा बुझ्ने गरी ? को हो जिम्मेवार व्यक्ति, निकाय वा संस्था ? के हो मेडिकल क्षेत्रको समस्या ? राज्यले स्वास्थ्य, शिक्षाजस्ता कुरामा सचेत हुनुपर्छ भन्ने वकालत किन गरेको हो ? राज्यको दायित्व के हो ? राज्य भनेको को ? म, हामी, तपार्इँ अर्थात् सबै बुझाईमा अल्झिरहेका छौं । बुझाउने कोही छैनन् । न बुझ्ने कुरा सही छन् । त्यसैले अन्योलता र बेथिति यत्रतत्र छ ।

Tags :
प्रतिक्रिया दिनुहोस