अचम्मको देश « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अचम्मको देश


प्रशासन विशेष ब्युरो

५ श्रावण २०७५, शनिबार


त्यो अचम्मको देश थियो । सम्पत्तिले तन्नाम जनतामाथि मतिले तन्नाम नेताहरूले शासन गर्दै आएको युगै भइसकेको थियो ।

त्यो देशको अर्को पनि विशेषता थियो । त्यहाँका मानिस विदेश जान भनेपछि हुरुक्क हुन्थे । अर्को गयो भनेचाहिँ भुतुक्क हुन्थे ।

एक पटक त्यहाँको एक विश्वविद्यालयका कुलपति विदेश जानुपर्ने भयो । तर, विडम्बना उनलाई विमानस्थलबाटै कर्याप्प समाएर मुखियाको दरवारमा पुर्याए सुरक्षाकर्मीले । यसको रहस्य पछि थाहा भयो– ती कुलपतिले विदेश जान मुखियाकोमा बिन्ती जाहेर गर्नै भुलेछन् ।

विदेश जाने टोलीका अरू सदस्य भने पुगे, बीस घण्टा जेट चढेर । सम्मेलनमा भाग लिए ।

सम्मेलनको ओपनिङ कार्यक्रम थियो । खचाखच भीड थियो हलमा । माहुरीको डुँढ नजिकै पुगेजस्तो हल्ला थियो । सबै एक–अर्कामा कानेखुसी गर्दै थिए ।

‘नाम त नलिऊँ, हाम्रा एक जना नाम चलेका मुलुकका कुलपतिज्यू एअरपोर्टबाटै पक्राउ भई फर्कनुभएको खबर आएको छ । तसर्थ, हामीले उहाँको प्रस्तुति हटाई कार्यक्रम परिमार्जन गरेका छौं,’ कार्यक्रम प्रस्तोताले जानकारी दिए ।

कुन देश होला ? सबैमा कौतुहलता बढ्यो । हल्ला अझै थपियो । हल्ला साम्य नभएपछि प्रस्तोताले भने–

‘भन्नलाई त संसारकै धुरी भने हुन्छ
दिनैपिच्छेजसो कुरीकुरी भने हुन्छ ।’

‘अब तपार्इँहरू नै पत्ता लगाउनुस् कि त्यो देश कुन हो ?’ कुटील हाँसो हाँस्दै उनले माइक्रोफोन अफ गरे ।

प्रतिक्रिया दिनुहोस