करिडोरमा थन्क्याइए कृषि मन्त्रालयका फर्निचर « प्रशासन

करिडोरमा थन्क्याइए कृषि मन्त्रालयका फर्निचर


प्रकाशित मिति : २ श्रावण २०७५, बुधबार १६:१८

काठमाडौं । असारे विकासको चर्चा अझै सेलाएको छैन । सेलाओस् पो कसरी, कागज पो मिल्यो, काम मिलाउन त समय लागिहाल्छ नि ! यो त भयो सडकमा अर्थात् आम मानिसले सहजै देख्ने असारे विकास ।

केही मान्छेले मात्रै देख्ने र त्यसमध्ये पनि औलामा गन्न सकिनेलाई थाहा हुने त्यसमध्ये पनि सीमित मात्रै सहभागी हुने अर्को विकासको नमुना पनि छ– त्यो हो सामान खरिद ।

प्रायः सबै सरकारी कार्यालयहरूले हरेक वर्ष विभिन्न सामानहरू खरिद गर्छन् । तर, सामान किन्दा कस्तो र कति खरिद गर्नेबारे वास्ता गरिँदैन । खाली प्रक्रिया पुर्याएर सामान खरिद गरिएको पाइन्छ ।

कार्यालयका सबै सामानहरू एकै वर्षमा त सकिँदैनन् अर्थात् काम नलाग्ने हुँदैनन् । लामो अवधिसम्म चल्ने सामानहरू पनि हुन्छन्, जस्तै : कम्प्युटर, ल्यापटप, टेबुल, कुर्सी, दराजलगायत । तर पनि प्रत्येक वर्ष यिनै सामान प्राथमिकतामा परेकै हुन्छन् ।

आवश्यकता नहुँदा पनि किन ती सामान खरिद गरिन्छन् त ? आउनुस् सिंहदरवार परिसरभित्रको एउटा मन्त्रालय जहाँको दृश्य देखेपछि तपाईँ आफै तीनछक पर्नुहुन्छ । थप पुट्याई वा बोली रहनुपर्दैन ।

यो कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय हो । नेपालभरिकै चलन यहाँ पनि चल्तीमै छ । असार लागेपछि निर्माण तथा मर्मत गरेको यो दृश्य अझै ताजै छ । मर्मतसम्भारका क्रममा भत्काएका सामानहरू अझै उठाइसकिएको छैन ।

त्यसपछि हामी माथि उल्लेख गरिएको भित्री विकासको नमुना हेर्न गयौं । भर्याङहरू उक्लिँदै जाँदा प्रत्येक कुनामा कुर्सी, टेबुल तथा फर्निचरहरू राखिएको देखियो ।
त्यहाँ प्रयोग नै नगरिएका घुम्ने कुर्सी थन्काइएका थिए । खरिद गरिने समयमा कुर्सीमा बेरिएको प्लास्टिक समेत जस्ताको त्यस्तै थियो । नयाँ खरिद गर्न त्यो कुर्सीलाई थन्काइएको हुनसक्छ ।

त्यसभन्दा माथिल्लो भर्याङमा पनि उस्तै अवस्था थियो ।

अझ त्यहाँ त यो भन्दा महँगो मूल्यका धेरै कुर्सीहरू मिल्काइएका थिए । धुलाम्मे रहेका ती कुर्सीहरू प्रयोग नै नगरी थन्क्याइएका जस्ता देखिन्थे । कुर्सी खरिद गर्दा बेरिएको प्लास्टिक पनि च्यातिएको थिएन ।

त्योभन्दा माथिल्लो भर्याङमा उक्लियौं । यहाँ चार घुम्ने कुर्सी थन्काइएका थिए, जुन प्रयोग गर्न मिल्ने अवस्थाका देखिन्थे । जसको बजार मूल्य ८ हजारदेखि २० हजारसम्म पर्छ ।

यसपछि हामी भित्री करिडोर हुँदै निस्कियौं । त्यहाँ सोफाहरू राखिएको थियो । हिँड्नका लागि बनाइएको करिडोरमा यि सोफाहरू राख्नुको औचित्य बुझ्न सकिएन !

टेबुलमाथि सोफा राखिएको थियो । करिडोरमा टेबुलमाथि सोफा किन राखिएको होला ? बरु कृषिजन्य उत्पादन भएको भए सेवाग्राहीहरूको अवलोकनका लागि राखिएको बुझ्न सकिन्थ्यो । तर, कृषिले सोफा प्रदर्शन गर्न अलि नमिलेको हो कि ! बस्नका लागि त पक्कै होइन, राख्ने ठाउँ नभएर थन्क्याउनकै लागि भएको निश्कर्षमा पुगियो ।

त्यहाँबाट चिया पकाउने किचेनमा दृष्टि पर्याे । त्यहाँ दुई घुम्ने कुर्सी राखिएका थिए । मन्त्रालयले घुम्ने कुर्सीमै बसेर चिया पकाउने व्यवस्था गरेको रहेछ ! जहाँ एक मान्छे समेत राम्ररी ओहोरदोहोर गर्न सक्दैन, त्यहाँ दुई दुई वटा कुर्सी राख्नुको मतलब के हो ? ठम्याउनै गारो भयो ।

करिडोरकै कथा खोज्दै जाँदा एउटा शौचालय भेटियो, जहाँ ‘पुरुष शौचालय’ लेखिएको थियो । त्यो कुन र कस्तो अवस्थामा थियो त्यो त भित्री कथा होला । तर, शौचालयको बाहिरै देखिने एउटा नमुना थियो ।

शौचालयमा फोहोर राख्ने बाल्टिनको पछाडि कृषिसम्बन्धी जानकारीमूलक होडिङ बोर्ड राखिएको थियो । बोर्डमा माछा लगायतबारे जानकारीहरू थिए ।

बोर्ड खुइलिएको वा काम नलाग्ने अवस्थाको थिएन । फोहोरका छिटाहरूका केही धब्बा लाग्नुबाहेक राम्रै थियो । बोर्ड पुछेर प्रयोगमा ल्याउन सकिन्थ्यो । पक्कै पनि धेरै औचित्य भएर नै बनाइएको थियो होला । तर यसरी राख्नुको कुनै खास र विशेष कारण पनि बुझ्न सकिएन ।

शौचालय नजिकैको कुनामा केही थान दराजहरू बेबारिसे अवस्थामा राखिएका थिए । त्यहाँ चार दराज र एक टेबुल राखिएका थिए । यी सामान पनि प्रयोग गर्न मिल्ने अवस्थाका थिए ।

 

अलि नजिक गएर हेर्दा केही जानकारीमूलक पुस्तक तथा ब्रोसरहरू देखिए । किन राखिएको हो कुन्नी ?

मन्त्रालयको स्टोरमा पुग्दा नयाँ कितावहरूको चाङ भेटियो ।

 

स्टोरभित्र पनि त्यस्तै पुस्तक थन्काइएका थिए । ती पुस्तक आर्थिक वर्ष ०७३/०७४ मा छापिएका थिए । पुस्तकको कभरमा आर्थिक वर्ष ०७३/०७४ लेखिएको स्पष्ट देखिन्थ्यो ।

एक जना मेडमको अनुमति लिएर परैबाट स्टोरको भित्री दृश्य खिच्यौं ।

यही क्रममा मन्त्रालयका सचिव डा. युवकध्वज जिसीको कार्यकक्ष अगाडि पुग्यौं । कार्यकक्षबाहिर एक टेबुल राखिएको थियो, जसको प्रयोग भएको थिएन ।

जाँदाजाँदै मन्त्रालयमा कर्मचारी र शाखा/महाशाखाबारे जानकारी दिन राखिएको बोर्ड हुँदै बाहिरियौं ।

मन्त्रालय बाहिर निस्किएपछि अर्को विचित्रको दृष्य देखियो । मन्त्रीको गाडीमा चालक मोबाइल चलाइरहेका थिए । सवारी चालक गाडीभित्र बस्नु वा रोकिएको गाडीभित्र बसेर मोबाइल चलाउनु नौलो थिएन । तर, उनको बसाई सोभनीय थिएन ।

ती चालक गाडीको झ्यालमाथि नै खुट्टा तेस्र्याएर पल्टिएका थिए । मन्त्रीको गाडीमा त्यसरी बस्नु असोभनीय लाग्यो ।

ढोकाभित्र पसेदेखि बाहिरै निस्किन्जेलसम्म देखिएको दृष्य जस्ताको त्यस्तै देखाएका छौं । यसबारे सम्बन्धित निकायले ध्यान जान्छ कि जाँदैन ? त्यो हेर्न बाँकी नै छ । तर, आम नागरिकले गाँस काटेर तिरेको करमाथि रजाई गर्न पाइँदैन ।

यसै पनि दैनिक कार्यालय संचालनका क्रममा आवश्यक पर्ने सरसामानहरु आवश्यकता भन्दा बढी विलासिकता हेर्ने हाम्रा सरकारी कार्यालयहरुको चलन छ, त्यसैमाथि दूरुपयोग ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियान चलाई रहँदा देशको मुख्य प्रशासनिक केन्द्रमै यस्तो !

प्रतिक्रिया दिनुहोस