रेडियोदेखि स्मार्ट फोनसम्म « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

रेडियोदेखि स्मार्ट फोनसम्म


रुद्र प्रसाद अधिकारी

१ श्रावण २०७५, मंगलबार


बाल्यकालमा मामा घर जाँदा हजुरबुबाले कपडाको झोलामा रेडियो झुण्ड्याएर राख्नुभएको थियो । मैले पहिलोपटक देखेको रेडियो त्यही थियो ।

त्यतिबेला रेडियोको लोकप्रियता यति थियो कि मानिसहरू कार्यस्थलमा जाँदा पनि रेडियो बोकेर हिँड्थे । घरमा मात्र नभई खेतमा काम गर्दा समेत रेडियो सुन्ने प्रचलन थियो । ब्याट्रीबाट चल्ने रेडियो मानिसहरू साथमै बोकेर हिँड्थे । लोकप्रिय नहोस् पनि कसरी त्यतिबेला सूचना तथा सञ्चारको भरपर्दो एवं निर्विकल्प माध्यम नै रेडियो थियो । रेडियो केवल समाचार सुन्ने माध्यम मात्र थिएन, नाटक, सांगीतिक कार्यक्रम, जानकारी एवम् सूचनामूलक सन्देशहरू सुन्न सकिने एउटा महत्वपूर्ण सञ्चार माध्यम थियो ।

केही समयपछि क्यासेट प्लेयर समेत भएको रेडियोको क्रेज बढ्दै गयो । गाउँमा क्यासेट घन्काउनेको बेग्लै सान थियो । मेग्नेटिक टेपमा श्रव्य सामग्री रेकर्ड गरिने त्यस्ता क्यासेटमा भजन, लोकगीत, प्रवचन आदि सुन्न पाइन्थ्यो । एउटा क्यासेटमा रहेका विभिन्न गीत सुन्न क्यासेट रिवाइन्ड हुञ्जेल कुर्नुपर्ने बाध्यता थियो । दायाँ र बायाँ गरी बजाउन मिल्ने त्यस्ता क्यासेटहरू आधादेखि दुई घण्टासम्मका श्रव्य सामग्री सुन्न मिल्थ्यो । त्यति नै बेला हिँड्दै सुन्न मिल्ने एफएम रेडियो ‘वाकमेन’ र गोजीमा लिएर हिँड्न मिल्ने क्यासेट प्लेयर पाइन्थ्यो ।

क्यासेट प्लेयरको लोकप्रियता चुलिन नपाउँदै गाउँमा टेलिभिजनले ख्याती कमाउन थाल्यो । त्यतिबेला प्रायःका घरमा ब्ल्याक एण्ड ह्वाइट टेलिभिजन देखिन्थे । टेलिभिजन हुनेहरूलाई मानिसहरू इज्जत र प्रतिष्ठासँग जोडेर हेर्थे । टेलिभिजन हुनेका घरमा दर्शकको घुइँचो लाग्थ्यो । त्यतिबेला गाउँमा विद्युत लाइन जडान भइसकेको थियो । केबल या डिस टिभीको प्रबन्ध भने थिएन, त्यसैले टिभीमा एक मात्र सरकारी च्यानल आउँथ्यो ।

घर–घरमा टिभी राख्ने क्रम बढ्दै गयो । उता गाविस कार्यालयमा टेलिफोन सेवा उपलब्ध हुन थाल्यो । विदेशमा रहेका आफन्तसँग कुरा गर्न टाढाटाढाबाट मानिसहरू घन्टौं हिँडेर गाविस कार्यालय पुग्थे । त्यतिबेला फोनमा कुरा गर्न महँगो थियो, त्यसैले मानिसहरू छिटो–छिटो कुरा गर्थे ।

पछि कलर टेलिभिजन आयो । अब फेरि घरमा कलर हुनेको बेग्लै सान हुने भो । रोजगारीको लागि खाडी मुलुक र अन्य देशमा गएकाहरूले उताबाट फर्कंदा टेलिभिजन ल्याउने होडबाजी नै चल्यो । मानिसहरूले टिभीको साथमा सिडी, डिभिडी प्लेयर, उफर आदि विद्युतीय साधन ल्याउने क्रम बढ्यो ।

गाविसमा मात्र रहेको टेलिफोन सुविधा कोडलेस फोन हुँदै गाउँका पसल–पसलमा राख्न थालियो । सुरुमा निकै महँगो पर्ने मोबाइल जोकोहीले लिन सक्दैनथे । त्यतिबेला फोन रिसिभ गर्नेले पनि पैसा तिर्नुपथ्र्याे । त्यसैले मानिसहरू छोटो–छिटो कुरा गर्थे । विस्तारै मोबाइल पनि विदेशमा रहेका आफन्तले पठाइदिन थाले, त्यो पनि सादा मोबाइल, दोहोरो कुराकानी गर्न मात्र मिल्ने अरु सुविधा नभएको ।

सुरु–सुरुमा कम्प्युटर केही विद्यालय र इन्स्टिच्युटमा सीमित थिए । त्यतिबेला अपरेटिङ सिस्टममा डस पपुलर थियो । पछि इमेल/इन्टरनेटको विकास र प्रयोग बढ्दै गयो, देशका प्रमुख सहरमा इमेल/इन्टरनेट सुविधा उपलब्ध हुन थाल्यो । त्यतिबेला हाइफाइभ र याहु मेसेन्जर अहिलेको फेसबुक र ट्विटरजस्तै लोकप्रिय थिए ।

ऊबेला सादा मोबाइल प्रयोग गर्नेहरू अहिले आइफोन चलाउँछन् । मोबाइलको रूपरंग, गुण र विशेषतामा परिवर्तन आयो र यसले एकछत्र राज गर्न सफल भयो । आजकल मोबाइल नबोक्ने मान्छे भेटाउन मुस्किल पर्छ । आफ्नो आर्थिक हैसियत अनुसार कुनै न कुनै मोबाइल मानिसहरूले बोकेकै हुन्छन् ।

ब्ल्याक एण्ड ह्वाइट नोकियाको सेट निकै पपुलर थियो सुरुमा । पछि विभिन्न ब्राण्डका विभिन्न विशेषता सहितका मोबाइलले ठाउँ ओगट्दै गए । एफएम रेडियो सुन्न मिल्ने, क्यामेरा भएको, मेमोरी कार्ड लाग्ने, अडियो भिजुअल रेकर्डिङ गर्न मिल्ने विशेषता थपिँदै गए । त्यसपछि स्मार्ट फोनले बजार ओगट्न थाल्यो । एन्ड्रोइड, विन्डोजलगायत विभिन्न अपरेटिङ सिस्टमका मोबाइल तथा आइफोनको विकास भयो र भइरहेको छ ।

रेडियो र टिभीमा पनि गुणात्मक सुधार आइसक्यो । डिजिटल प्रविधि अँगाल्दै अनलाइन प्रशारणमा गएका छन् । सिआर्टी डिस्प्लेलाई एलसिडी, एलइडी डिस्प्लेले विस्तापित गर्दैछ । त्यसैगरी सीमित भण्डारण क्षमता भएका उहिलेका मेग्नेटिक टेप, फ्लपी डिस्क, सिडी, डिभिडी आदिलाई सानो मेमोरी चिप र ड्राइभले विस्तापित गरिसक्यो ।

पछिल्लो समयमा स्मार्ट फोनका प्रयोगकर्ता बढ्दै गइरहेका छन् । स्मार्ट फोनको प्रयोगसँगै मोबाइल एपको प्रयोगमा समेत वृद्धि भइरहेको छ । रेडियो, टिभी, पत्रपत्रिका आदि मोबाइल एपमार्फत् नै सुन्न, हेर्न र पढ्न पाइने भयो । त्यस्तै कम्प्युटरमा गरिने कार्यहरू समेत एउटा मोबाइलमा गर्न सकिने भयो । बैंकिङ कारोबार, विभिन्न प्रयोजनका अनलाइन फाराम भर्ने, कागज पत्र तयार पार्ने आदि काम स्मार्ट फोनबाटै गर्न सकिने भयो ।

रेडियोदेखि स्मार्ट फोन तथा आइफोनसम्मको विद्युतीय सञ्चार प्रविधिको तीव्र विकासको साक्षी बनेको हाम्रो पुस्ताले आफूलाई समय अनुसार अभ्यस्त बनाउन सक्नु नै सह्रानीय कुरा हो । स्मार्ट फोनको पहुँच आम सर्वसाधारणमा बढ्दै गएको सन्दर्भमा हाम्रा कार्यालयबाट प्रदान गरिने सेवाहरूलाई मोबाइल एप्समार्फत् सहज बनाउनुपर्ने आजको आवश्यकता हो ।

Tags :
प्रतिक्रिया दिनुहोस