यसरी गर्न सकिन्छ भरतपुर महानगरको विकास « प्रशासन
prasaLogo
१३ श्रावण २०७८, बुधबार
   

यसरी गर्न सकिन्छ भरतपुर महानगरको विकास


२५ असार २०७५, सोमबार


काठमाडौं । देशको मध्यभागमा पर्ने र सवैको चासो सरोकार रहने महानगर हो, भरतपुर महानगरपालिका । तसर्थ पनि यसबारे केन्द्रको चासो देखिन्छ । स्थानीय निकायको निर्वाचनका बेला केन्द्रले देखाएको चासोले पनि यसको महत्व उजागर गर्छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदी यहाँको विकासका लागि संरचना निर्माणसँगै गुणात्मक निर्माणमा समेत ध्यान दिन आवश्यक रहेको बताउँछन् । उनका अनुसार उत्पादन र उत्पादकत्वका साथै रोजगारीमा सहयोग पुर्याउने गतिविधिलाई समेट्नुपर्छ, जस्तै: कृषि तथा पशुजन्य उत्पादन, केही उत्पादन विशेषका लागि कारखाना वा औद्योगिक उत्पादन, पर्यटकीय गतिविधिलगायत सेवा व्यापार, मेडिकल सेवा तथा शैक्षिक संस्था सञ्चालन, सामुदायिक वन एवं वन पैदावारलाई आयआर्जनसँग जोड्ने कार्य हुन् ।

भरतपुरको विकासका लागि आधुनिक सहरी सेवा उपलब्ध गराइनु जरुरी रहेको उनले बताए । यसमा ट्राफिक व्यवस्थापन, सडक पेटी एवं साइकल लेन निर्माणलगायत यातायात पूर्वाधारहरूको निर्माण तथा मर्मत, सभाहल, स्टेडियमलगायत महानगरीय पूर्वाधारको विकास, जल परिवहन, प्रशोधनसहितको ढल व्यवस्थापन, चक्रपथमा साइटसिनसहितको मोनोरेलको सम्भाव्यता अध्ययन गरिनु आवश्यक रहेको उनी बताउँछन् ।

सेवा प्रवाहमा सुधारको पहल गर्न सके भरतपुरको विकास सम्भव हुने उनको भनाइ छ । यसमा आइसिटी युज, कलस्टर कन्सेप्टमा प्राविधिक र अन्य कर्मचारीको परिचालन, अभिलेख व्यवस्थापन, सुशासन प्रवद्र्धनका लागि कार्यालय व्यवस्थापनका सबै पक्षको उचित संयोजन गर्नुपर्ने उनले बताए ।

उनका अनुसार भरतपुरको विकासका लागि वातावरणीय क्षेत्र पनि हेर्न आवश्यक छ । यसमा सरसफाइ तथा फोहोरमैला व्यवस्थापन, फोहोरबाट ऊर्जा र अन्य उपयोगी सामग्री निर्माण गरिनुपर्छ ।

यसमा उचित प्रगति गर्न सके मात्र ‘हाम्रो भरतपुर, राम्रो भरतपुर’ को नारा सफल हुने उनी बताउँछन् ।

यस्तो भन्छन् सरोकारवाला
सहरी पूर्वाधारविद् सूर्यराज आचार्य समृद्ध भरतपुरका लागि व्यवस्थित सहरीकरण आवश्यक रहेको बताउँछन् । यसका लागि प्रगतिका सूचकहरू पहिचान गर्नु जरुरी रहेको उनको भनाइ छ ।

‘कृषियोग्य जमिनमा घर बनाउन पाइँदैन भन्नु कार्यन्वयन योग्य र लाभहानीका दृष्टिले न्यायोचित होला त ?’ उनले प्रश्न गरे । जग्गा प्लटिङ गर्दा न्युनतम कति खाली राख्ने भन्ने नीति आउन जरुरी छ ।

यहाँको विकासका लागि राजनीतिक भिजन, विज्ञ–प्राज्ञसँगै अनुसन्धान आवश्यक रहेको उनले बताए ।

भरतपुरको मध्यभागबाट रिभर लिंकिंङ तथा जलमार्ग पनि संभव छ रहेको उनले बताए । उनले महानगरलाई सिटी ब्रान्डिङ पनि आवश्यक रहेको उनले बताए ।

समृद्ध भरतपुर महानगरको एकीकृत विकास गुरुयोजना बनाउन आयोजित भरतपुर महानगरको अवसर, चुनौती र भावी कार्यदिशा कार्यशाला गोष्ठीमा डा. भीमप्रसाद अधिकारीले महानगरलाई उर्वान÷सेमी÷रुलर एरिया छुट्याएर योजना बनाउनुपर्ने बताउँछन् ।

यस्तै, पुलचोकदेखि आपटारीसम्मको हाइवेलाई वैकल्पिक बाटोको व्यवस्था गर्नुपर्ने र भू–उपयोग नीतिसँगै एक्जिस्टिङ ल्यान्ड युज प्लान एन्ड प्युचर ल्यान्ड युज प्लान बन्नुपर्ने बताउँछन् ।

गोष्ठीमा प्रयागराज पन्तले महानगरबाट सञ्चालन हुने कार्यक्रमहरूको प्राथमिकताको आधारमा सूची बनाउनुपर्ने र ठुला प्रोजेक्टहरू सञ्चालन गर्न विदेशीसँग लगानी माग गर्नुपर्ने बताउँछन् ।

मित्रराज दवाडी भने कृषिमा आधारित योजना बनाउनुपर्ने बताउँछन् । कृषि बजारका लागि कृषि पोलिङ गर्नुपर्ने उनको धारणा छ । उनले भू–उपयोग योजना बनाएर सहरी आवास र ग्रामीण आवासको योजना बनाउनुपर्ने बताए ।

गोष्ठीमा सहभागी राजु पौडेल भरतपुर महानगरको विकासका लागि औद्योगिक क्षेत्रसँग लिंक बनाउनुपर्ने बताउँछन् ।

प्रा. डा. तीर्थ खनिया कम्तीमा एक प्रतिशत इन्नोभेसनलाई छुट्याउनुपर्ने बताउँछन् ।

महानगरका प्रमुख कर अधिकृत थानप्रसाद पंगेनी स्थानीय तहको कार्यक्षेत्रमा आएको घरबहाल करलाई व्यवस्थित गर्न वडास्तरमा सक्रियता आवश्यक रहेको बताउँछन् । त्यस्तै गैरकरको दरलाई सेवाको लागतसँग आवद्ध गर्नुपर्ने उनको धारणा छ ।

देशको मध्यभागमा पर्ने र सवैको चासो सरोकार रहने महानगर हुनुपर्नेमा देशको सबैभन्दा ठूलो महानगर हुन गएकोमा सच्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस