साउन १ देखि क्याबिनेट अटोमेसनमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

साउन १ देखि क्याबिनेट अटोमेसनमा


प्रशासन विशेष ब्युरो

१९ असार २०७५, मंगलबार


काठमाडौं । मन्त्रिपरिषद् बैठक (क्याबिनेट)मा कागजी फाइलबाटै प्रस्ताव पेश गरिन्छ । साउन १ गतेदेखि भने कागजी फाइलबाट प्रस्ताव पेश गर्न पाइने छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद् बैठकमा ‘अटोमेसन’ लागू गर्ने तयारी गरेको छ । यससँगै क्याबिनेट बैठकमा मुख्य सचिवले ल्यापटपबाट नै प्रस्ताव पेश गर्ने छन् भने प्रधानमन्त्रीलगायत सम्पूर्ण मन्त्रीहरूले पनि आ–आफ्नो ल्यापटपबाट छलफल चलाउने छन् ।

क्याबिनेटलाई प्रविधिमैत्रि बनाउन ‘अटोमेसन’ लागू गर्ने तयारी गरिएको मन्त्रीपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवर बताउँछन् । यसले कागज, जनशक्ति तथा समयको बचत हुनुका साथै क्याविनेटमा प्रस्तुत प्रस्तावबारे भएका निर्णयको रेकर्ड राख्न तथा ट्रयाक रेकर्ड गर्न सहज हुने उनको भनाइ छ । कागज हराउने तथा खोजेको समयमा नभेटिने समस्या पनि हट्ने मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यससँगै मुख्यसचिव र मन्त्रीहरूको कम्प्युटर नेटवर्किङ गर्ने तयारी पनि भइरहेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

अटोमेसन लागू भएपछि मन्त्रालयले प्रस्तुत गर्ने प्रस्ताव बैठक शाखालाई मेलमा आउने र तत्काल राख्नुपर्ने प्रस्तावहरू मेलबाटै मन्त्रीलाई पठाइनेछ ।

प्रवक्ता कुँवरका अनुसार यो प्रणाली लागू भएपछि मन्त्री जहाँसुकै भए पनि प्रस्ताव हेर्न सक्ने र थपघट गर्न सकिनेछ । मुख्यसचिवले प्रस्ताव पेश गर्दागर्दै पनि छलफलका विषयहरूलाई थपघट गर्न सकिनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै प्रविधिसँग जोडिन निर्देशन समेत दिइसकेका छन् । ‘अटोमेसन’ लागू भएपछि मन्त्रीहरूले कम्प्युटर अनिवार्यरूपमा जान्नुपर्ने भएको छ ।

मन्त्रीको ल्यापटपमा एकरूपता
मन्त्रीपरिषद्को कार्यालयले मन्त्रीले चलाउने ल्यापटपमा एकरूपता बनाउने तयारी गरेको छ । कार्यालयले सबै मन्त्रालयलाई ‘म्याकबुक प्रो’ खरिद गर्न निर्देशन दिइसकेको छ ।

‘अहिले मन्त्रीले फरक–फरक कम्पनीका ल्यापटप बोकिरहेका छन्,’ स्रोतले भन्यो, ‘सबैको एकथरि बनाउन म्याकबुक प्रो खरिद गर्न भनिएको छ । स्पेसिफिकेसन अनुसार सबैभन्दा सस्तो करिब एक लाख ४६ हजार रूपैयाँसम्म खरिद गर्न निर्देशन दिइएको छ ।’

के हो अटोमेसन ?
अटोमेसन प्रविधि भनेको वेबमा आधारित स्वचालित कार्यालय प्रणाली हो । यसको प्रयोगले कार्यालयका काम कारवाहीहरू कम्प्युटरकृत हुन्छन् । अर्थात् यो प्रणाली लागू भएपछि कलम र कागजमा हुने काम किबोर्ड र माउसले गर्ने छ । त्यसैले यसलाई ‘पेपरलेस कार्यालय प्रणाली’ पनि भनिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस