‘तत्काल समस्या समाधान केन्द्र’ स्थापनाको तयारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘तत्काल समस्या समाधान केन्द्र’ स्थापनाको तयारी


प्रशासन विशेष ब्युरो

१७ असार २०७५, आइतबार


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय गौरवलगायत ठूला विकास निर्माणका आयोजनालाई दु्रत गतिमा अगाडी बढाउन ‘तत्काल समस्या समाधान केन्द्र’ स्थापना गर्ने प्रस्ताव गरेको छ ।

तत्काल समस्या समाधान केन्द्र, नियमावलीको विधेयकमा केन्द्र स्थापना गर्ने प्रस्ताव गरिएको हो । प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने केन्द्रको समितिमा गृह, अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सदस्य रहने छन् ।
समस्या निराकरणका सन्दर्भमा गृहले शान्तिसुरक्षा, अर्थले आर्थिक व्यवस्था तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले कर्मचारीसम्बन्धी व्यवस्थापन सम्बन्धी काम गर्ने छ ।

समितिले आवश्यकता अनुसार तत्काल सम्बन्धित मन्त्री र अन्य विज्ञहरूलाई बोलाएर समस्या समाधान गर्न छलफल चलाउन सक्ने छ । यसमा कानुनी परामर्शका लागि कानुन मन्त्रालयलाई पनि राख्ने विषयमा छलफल भईरहेको उच्च स्रोतले बताएको छ ।

अधिकारसम्पन्न उक्त समितिले विद्यमान नियम तथा कानुनले काममा बाधा पुर्याएको अवस्थामा तत्काल संशोधनका लागि समेत सिफारिस गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल प्रधानमन्त्री ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा सार्थक गर्ने अभियानमा लागेको बताउँछन् । तर, यसबारे कुन विधि अपनाउने भन्नेमा अर्को सोमबार ९असार २५०को मिटिङमा निक्र्यौल गर्ने उनले बताए ।

‘काम गर्नेलाई पपुलर बन्न कुनै स्टन्डबाजी गर्नुपर्दैन । त्यसकारण हामी काममै फोकस हुन्छौं,’ उनले भने । टिममा प्रधानमन्त्री कार्यालयका उच्चस्तरीय प्रशासक सल्लाहकारका रूपमा रहने उनले बताए ।
केन्द्रले यसरी काम गर्नेछ

प्रत्येक मन्त्रालयमा समस्या समाधान कक्ष राखिनेछ । त्यहाँबाट मन्त्रालयका समस्या समाधान गर्न पहल गरिनेछ । मन्त्रालयभित्रै तथा अन्तरमन्त्रालय अन्र्तर्गतका समाधान हुन नसकेका विषय ‘तत्काल समस्या समाधान केन्द्र’ मा पठाइने छन् । र, मन्त्रालयभित्रै पनि नीतिगत निर्णय गर्नुपर्ने विषयहरूलाई पनि केन्द्रमा पठाइनेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवर प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा सार्थक गर्न ‘तत्काल समस्या समाधान केन्द्र’ स्थापनाको प्रस्ताव गरेको बताउँछन् । ‘तत्काल समस्या समाधान केन्द्र विशेषगरी महत्वपूर्ण विकास आयोजना र तत्काल दिनुपर्ने सेवा प्रवाहलगायतमा बढी केन्द्रित हुनेछ,’ उनले भने, ‘विद्यमान नियम कानुन बाधक बनिरहेको छ भने पनि तत्काल कानुन बनाएर पनि विकास निर्माणलाई अगाडि बढाइनेछ ।’

यसले राष्ट्रिय गौरवलगायत अन्य ठूला विकास निर्माण आयोजनामा उत्पन्न समस्या समाधान गर्न टेवा पुग्ने उनको दाबी छ । ‘केन्द्र स्थापना भएपछि मन्त्रालयबीच समन्वय बढ्ने र समन्वय अभावले रोकिएका विकास निर्माण पनि सुचारु हुनेछन्,’ उनले भने ।

उनका अनुसार केन्द्रले हेलो सरकारबाट समाधान हुन नसकेका विषयहरूमा समेत हेर्नेछ । प्रधानमन्त्री कार्यालयमा रहेको हेलो सरकारमा आएका गुनासाहरूको समाधानका लागि केन्द्रले सक्रियता देखाउने बताइएको छ ।

‘नियमावलीमा प्रधानमन्त्री, मुख्य सचिव तथा सचिवले विकास निर्माणका आयोजना प्रमुखसँग आयोजनाबारे प्रत्यक्ष संवाद पनि गर्न सक्ने उल्लेख छ, यसबाट त्यहाँको अवस्थाको यथार्थ अवस्था जानकारी हुनेछ र समस्या भए त्यसको समाधान पनि,’ प्रवक्ता कुँवर भन्छन्, ‘यो ‘वार रुम’ जस्तै अवधारणा हो ।’

यसअघि यो अवधारणा छिमेकी भारतलगायत अन्य देशमा राजनीतिक अभियानका रूपमा चलाइएको थियो । ति देशहरुमा अभियान सफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसप्रति चासो देखाएको उच्च स्रोतले बतायो ।

के हो ‘वार रुम’ ?
नेतालाई योजनावद्ध रूपले सघाउने विज्ञहरु सम्मिलित टिमसहितको कक्षलाई ‘वार रुम’ भनिन्छ । सन् २००८ मा राष्ट्रपति चुनावका क्रममा बाराक ओबामाले चलाएको व्यवस्थित अभियानपछि ‘वार रुम’ चर्चामा आएको हो । त्यसपछि यो अभियानलाई विश्वका धेरै देशमा चल्यो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘वार रुम’को अवधारणा लागू गरेका छन् । चुनावदेखि उनी यसको प्रयोग गरिरहेका छन् ।

‘वार रुम’ले कसरी काम गर्छ ?
प्रविधिसँगै विभिन्न क्षेत्रका विज्ञहरू सामाजिक अध्येता, राजनीतिक विश्लेषक तथा फोटो तथा भिडियोका लागि क्यामेराम्यानलगायत विज्ञहरूको टिमले टिम लिडरलाई हरेक क्षेत्रबाट सघाउँछन् । यसमा युवा पुस्तालाई प्रभावित पार्न ब्लगर तथा पत्रकारहरूको पनि सहयोग लिइन्छ ।

पछिल्लो अवधिमा विकास निर्माणसँगसमेत जोडिएको छ । अभियानलाई सफल बनाउन सबैभन्दा सहज, विश्वासनीय र प्रभावकारी मानिएको सामाजिक संजाल फेसबुक, ट्विटरलगायत माध्यमबाट आफ्ना विचारहरू जनतासमक्ष प्रवाह गर्ने सबैभन्दा प्रभावकारी बनेको छ ।

पूर्व राष्ट्रपति ओबामाले त परिवारसँग छुट्टीमा बिताएका तस्बिर सार्वजनिक गर्ने रणनीति नै ‘वार रुम’ले तयार पारेको बताइन्छ । त्यसपछि ओबामाले आम सर्वसाधारणको मन जितेको बताइन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि ‘चायवाला’का रूपमा प्रस्तुत गर्ने योजना ‘वार रुम’ले तयार पारेको हो । यसले मोदीले आम सर्वसाधारणको मन जित्न सफल भएको बताइन्छ ।

आमसभामा मोदीले दिएका भाषणहरुलाई सामाजिक संजाल तथा आम संचारमाध्यममा तत्काल भाइरल बनाउने जिम्मा आइटी सेलले लिएको थियो । मोदीको टिमबीच छलफल भएपछि मात्रै उनको र्याली र आमसभा स्थल तय हुन्थ्यो । सो टिमले भाषणलाई प्रभावकारी बनाउन ठाउँको ऐतिहासिक र वर्तमान महत्वका बारेमा अपडेट गर्थे । प्रधानमन्त्रीमा विजयी भएपछि मोदीले यसलाई थप प्रभावकारी बनाउँदै विकास निर्माण जोडेका छन् ।

कस्तो हुनुपर्छ ‘वार रुम’ ?
‘वार रुम’ बनाएपछि विकास निर्माण आयोजनाको प्रभावकारी नतिजा आउन सक्ने एक उच्च प्रशासक बताउँछन् । तर, यसमा विशेषज्ञ टिम आवश्यकता पर्ने उनको भनाइ छ । ‘नेपालमा जहाँसुकै पनि कार्यकर्ता भर्ती गर्ने चलन छ, यसबाट माथि उठेर विशेषज्ञ टिम राख्न सके ‘वार रुम’को नतिजा प्रभावकारी बन्न सक्नेछ,’ ती प्रशासक भन्छन् ।

यो अवधारणा लागू गर्न सके प्रधानमन्त्रीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार हुने प्रवक्ता कुँवर बताउँछन् ।

उनी भन्छन्, ‘कतिपय अवस्थामा ठेकदार तथा आयोजना प्रमुखलगायत आयोजना समयमै सम्पन्न हुने अवस्था छैन, ‘वार रुम’ अवधारणा लागू भए यो समस्या हट्नेछ । जुनसुकै समस्या आए पनि तत्काल ‘हाई लेबल’ बाट समाधान गर्न सकिने भएकाले आयोजना तोकिएको समयमै सम्पन्न हुनेछन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस