लागुऔषध विरुद्ध संयुक्त आन्दोलन चलाउन आवश्यक : गृहमन्त्री थापा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लागुऔषध विरुद्ध संयुक्त आन्दोलन चलाउन आवश्यक : गृहमन्त्री थापा


१२ असार २०७५, मंगलबार


ललितपुर । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध प्रयोग र यसको ओसार पसार विरुद्ध दलहरुको संयुक्त आन्दोलन चलाउन आवश्यक रहेको बताएका छन् ।

ललितपुरमा लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले केही समयपछि गृहमन्त्रालयले वडास्तर देखिनै लागु औषध निषेध र मदिरा नियन्त्रण अभियानलाई आन्दोलनकै रुपमा सुरु गर्न लागेको जानकारी दिँदै त्यसमा साथ दिन सबैसँग आग्रह गरे ।

राजनीतिक उपलब्धी हासिल गर्न जसरी दलहरुले संयुक्त आन्दोलन गरेका थिए त्यसैगरी विकास र समृद्धिका लागि समेत संयुक्त आन्दोलन जरुरी रहेकोमा गृहमन्त्री थापाले जोड दिए ।

उनले भने, ‘लागु औषध निषेध र मदिरा नियन्त्रणको आन्दोलन सरकार एक्लैको प्रयास वा नेताको प्रयासले मात्रै सकिँदैन । यो आन्दोलनमा सम्पुर्ण जनताको साथ आवश्यक छ । निकट भविष्यमै वडास्तरबाटै यस्तो आन्दोनको सुरुवात गर्दैछौँ ।’

यस्तो आन्दोलनमा विद्यालय र कलेजका विद्यार्थीहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

गृहमन्त्री थापाले भने, ‘यो आन्दोलनमा जनसहभागिता अनिवार्य छ । युवाहरुलाई यो लडाँई , यो आन्दोलनकोे मुल कमाण्डरको रुपमा जिम्मेवारी दिएर मात्रै लक्ष्यमा पुग्न सकिन्छ ।’

लागु औषध कारोबारीहरु लाई नियन्त्रण गर्न सुरक्षा संयन्त्रले पनि आफ्नो कार्यशैलीलाई सुधार गर्न सुधार आवश्यक रहेको उनको भनाई छ ।

गृहले लागु औषध निषेधलाई गम्भिरताका साथ लिँदै मुलभूत कार्यभारको रुपमा लिएको जानकारी दिए ।

उनले भने, ‘लागुऔषधको कारोबार, प्रयोग र ओसारपसार नियन्त्रण होईन पूर्ण रुपमा निषेध गर्ने तथा लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्ने लक्ष्य लिएका छौँ ।’ सरकारले विकासका लागि पाँच र दश वर्षको योजना बनाएजस्तै गृहमन्त्रालयले लागुऔषलधलाई पूर्णरुपमा निषेध गर्ने समयवद्ध योजना बनाएको उनले खुलासा गरे ।

उनले भने, ‘लागुऔषधका निषेध सरल छैन तर सम्भव छ । विगतमा जस्तो सामान्य अभियान चलाएर मात्रै यो सम्भव छैन , यसलाई आन्दोलनकै रुपमा अघि लैजानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस