पातहरू- २ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पातहरू- २


९ असार २०७५, शनिबार


बूढो नहुँदै एकाएक भुइँमा खसे
अग्लो रुखमा फर्फराइरहेका केही पातहरू

घामले असाध्यै पोलेर होला सायद
हावाको सहारामा मेरो आँगनसम्म आइपुगे
र, भने एक स्वरमा–
हामी तिम्रो घर फोहोर बनाउन आएका होइनौं
र, चढेर हुरीको हवाइजहाज
बरालिनु छैन हामीलाई कतै

सायद यति नै रहेछ हाम्रो आयु
झरेकै ठाउँमा बसौं भने सुकेर धुलो हुन्छ हाम्रो देह
कतै खसौं भने पोखरीमा
अर्थहीन कुहिन्छ हाम्रो रहर
फेरि कसरी फर्किऊँ र गासिऊँ त्यो रुखका हाँगामा
रुखले अब इन्कार गरिसकेको छ हामीलाई

अग्लो रुखमा छु भनेर
खुसीले जति फर्फराए र नाँचे पनि
आखिर यसरी झर्नैपर्ने रहेछ एकदिन

कतै टपरी बन्न सक्छौं कि भनेर
हजुरसमक्ष आएका छौं मालिक

यदि पुण्य कमाउनु छ भने मालिक
उनेर सिन्काले हामीलाई
टपरी बुन्नु र तिनीहरूलाई दिनु
जहाँ ढुंगा र धुलो टक्टकाउँदै खाईरहेछन् निस्तो भात
जहाँ यत्रतत्र छरिएका छन् माग्नेका सिक्काहरू
ता कि मुछेर खान पाउन् तिनीहरूले झोलसँग भात
समेटिउन् टपरीमा माग्नेहरूका सिक्का

कुनै दिन अग्लो रुखमा
हाँगा समातेर पात फरफराउँथ्यो, नाँच्थ्यो
एकदिन झर्याे, सुक्यो, धुलो भयो, सकियो
खै के लग्यो पातले ?
आखिर आफूसँगै भएको हरियो रंग पनि
आफूसँग लैजान पाएन
झरेको पातको जिन्दगीभन्दा
फरक छैन मान्छेको जिन्दगी ।

Tags :
प्रतिक्रिया दिनुहोस