बदलिँदो शासकीय परिवेशमा सार्वजनिक प्रशासन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बदलिँदो शासकीय परिवेशमा सार्वजनिक प्रशासन


डा. दामोदर रेग्मी

२३ जेष्ठ २०७५, बुधबार


सार्वजनिक प्रशासन : सरकार र जनताबीचको स्थायी सम्पर्क सूत्र

सार्वजनिक प्रशासन सरकारको सेवाप्रवाहको एक महत्वपूर्ण र आवश्यकीय संयन्त्र हो । सरकार र जनताबीचको दरिलो र स्थायी सम्पर्क सूत्रको रूपमा रहेको सार्वजनिक प्रशासन सरकारको स्थायी संयन्त्र विषयगत विज्ञता, कार्यगत विशिष्टताले युक्त हुन्छ । समय, शिक्षा, प्रविधिको परिवर्तनसँगै राजनीतिक र शासकीय आयाममा धेरै परिवर्तन आउँछन् । यी परिवर्तनहरूले स्वभावतः सार्वजनिक प्रशासनमा पनि परिवर्तनका धेरै आयामहरू सिर्जना गर्छन् । यस्ता परिवर्तित परिवेशहरूले सार्वजनिक प्रशासनको भूमिका अझै प्रभावकारी हुनुपर्ने विषयमा जोड दिने गर्छ ।

सार्वजनिक प्रशासन राज्यद्वारा जनतासमक्ष प्रतिवद्धता गरिएका उद्देश्यहरूको परिपूर्तिको लागि निरन्तर रूपमा दत्तचित्त भई तयारी अवस्थामा रहनुपर्ने र सक्रिय रहनुपर्ने अंग हो । जसरी समय परिवर्तन भएको छ, तदनुरूप जनताको व्यक्तिगत तहमा आशा र अपेक्षा बढेको हुन्छ । त्यो आशा र भरोसा सरकारतर्फ लक्षित रहेको हुन्छ । अन्ततः सरकारतर्फ लक्षित जनताको आशा र अपेक्षा पूरा गर्नुपर्ने दायित्व सार्वजनिक प्रशासनमा सर्न पुग्छ । त्यसैले शासकीय पक्षमा देखिने परिवर्तित परिवेशले सार्वजनिक प्रशासनको कार्यशैली, व्यवहार, प्रक्रिया, सेवाप्रवाहको सुनिश्चितिता र सेवाको गुणस्तरको प्रत्याभूति जस्ता क्षेत्रहरूमा पनि सकारात्मक परिवर्तनको अपेक्षा राखेको हुन्छ । यस्ता आवश्यकताको परिपूर्ति गर्न सक्ने प्रशासन नै अहिलेको सामयिक आवश्यकता हो ।

शासकीय सन्दर्भमा सरोकारवालाहरूको सम्बन्ध

शासकीय सन्दर्भमा सरोकारवालाहरूको सम्बन्ध महत्वपूर्ण विषय मानिने गर्छ । सार्वजनिक सेवा विविध सरोकारवालाहरूको अन्तरसम्बन्धको सम्मिश्रण भएको हुँदा यी सरोकारवालाहरूबीच धेरै आवश्यकताहरू रहेका हुन्छन् । आवश्यकताहरूको सम्बोधनको आधारमा नै सरोकारवालाहरूको सम्बन्धको निर्धारण हुने गर्छ । यस्ता आवश्यकताहरूको एकल वा सामूहिक प्रयत्नद्वारा समाधानको निमित्त गरिने प्रयास नै सार्वजनिक मामिलाहरूको व्यवस्थापन हो । सार्वजनिक आवश्यकताहरूको माग र आपूर्तिमा धेरै सरोकारवालाहरूको उपस्थिति र सहकार्यले एउटा अन्तरसम्बन्ध स्थापित गरेको हुन्छ । सबै सरोकारवालाहरूको सुमधुर सम्बन्धले सार्वजनिक मामिलाहरूको व्यवस्थापनलाई प्रभावकारी बनाइदिन्छ । यो नै सार्वजनिक मामिलाको व्यवस्थापनको सुन्दर पक्ष हो । नागरिक समाज, सामुदायिक संस्थाहरू, निजी क्षेत्र, व्यापारिक र व्यावसायिक समुदाय सार्वजनिक मामिलाका सरोकारवालाहरू हुन् । सरकार आफैमा एउटा महत्वपूर्ण सरोकारवाला हो । यी सरोकारवालाहरू भिन्न–भिन्न परिस्थितिमा भिन्न–भिन्न भूमिकामा देखिने गर्छन् । सार्वजनिक मामिलाहरूको व्यवस्थापनमा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहने तथा यी सरोकारवालाहरूको भूमिका भिन्न–भिन्न हुने र यी भूमिकाहरूको सकारात्मक अन्तरसम्बन्धले सार्वजनिक मामिलाको व्यवस्थापनलाई प्रभावकारी बनाइदिन्छ । यसर्थ सार्वजनिक मामिलाको व्यवस्थापनमा सरोकारवालाहरूको अन्तरसम्बन्ध महत्वपूर्ण विषय हो । यसर्थ सरोकारवालाहरूसँग सहकार्य र समन्वय गर्न सक्ने तथा सार्वजनिक मामिलाको व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने सार्वजनिक प्रशासन परिवर्तित शासकीय परिवेशको आवश्यकता हो ।

सकारात्मकता सहितको सक्षम प्रशासककोे अपरिहार्यता

शासन प्रणालीमा प्रजातान्त्रिकीकरण वर्तमान समयको अपरिहार्य र आवश्यकीय पक्ष हो । लोकतन्त्रमा जनता नै राज्यको शासन व्यवस्थाको सर्वेसर्वा निर्णायक हुन्छन् । जनताले तिरको कर, राज्यको स्रोत साधनबाट भएको आर्जन र जनताको नाममा आएको सहयोगबाट तलब र सुिवधा पाउने जनप्रतिनिधि, कर्मचारी तथा सार्वजनिक निकायहरू सबै जनताप्रति जवाफदेही हुनुुपर्छ । यो नै सच्चा लोकतन्त्रको मूल आदर्श पनि हो । प्रजातन्त्रको दिगोपना र यसको वास्तविक उपयोगको लागि पारदर्शी सरकारी संयन्त्र र सुसूचित नागरिकको उपस्थिति न्यूनतम आवश्यकताभित्र पर्छ । सुसूचित नागरिकको उपस्थितिले सरकारी काम कारवाहीमा प्रभावकारिता ल्याउने, भ्रष्टाचार न्यूनीकरण हुने, जनउत्तरदायी सरकारको स्थापनाको मार्गप्रशस्त भई सुशासनको अवधारणाले मूर्त रूप पाउने गर्छ । पारदर्शिताको अभिवृद्धिले सरकार जनउत्तरदायी बन्न र प्रजातान्त्रिक विधिको परिपालनामा सहयोग पुग्ने मात्र होइन कि सर्वसाधारण जनताको तहमा समेत सवलीकरण हुन गई समग्र शासन प्रणालीमा जनताको सहभागिता र अपनत्व निर्माणमा समेत सहयोग पुग्न जान्छ ।

निष्पक्षता, तटस्थता, सदाचारिता, पारदर्शिता सार्वजनिक प्रशासनका मूलभूत न्यूनतम विशेषताहरू हुन् । यी विशेषताहरूको सक्षम उपस्थितिले नै सक्षम प्रशासनको कल्पना गर्न सकिन्छ । र, यी विशेषताहरूको न्यून उपस्थिति वा क्षयीकरणले प्रशासन मात्र होइन, समग्र शासकीय संयन्त्र नै व्यापक आलोचनाको पात्र बन्न पुग्छ, जसले प्रशासन शासकीय संरचना र सरकार (राज्य संयन्त्र)प्रति जनताको अपनत्वबोध समाप्त हुन जाने खतरा बढ्छ । राज्य संयन्त्रप्रति जनताको अपनत्वबोध कायम गर्न जति सरकारी कर्मचारीहरूको सकारात्मक भूमिका त्यति नै मात्रामा सरकारप्रति जनमानसमा विश्वसनीययता वृद्धि भई जन अपनत्वयुक्त दिगो सरकार बन्न सक्छ ।

विश्वव्यापीकरण, शिक्षा, सूचना र प्रविधिको तीव्र विकासले जन आकांक्षाको तह पनि उच्चरूपमा बढेको छ, यस सन्दर्भमा सार्वजनिक प्रशासनको कार्यक्षमता, प्रभावकारिता र सबल उपस्थिति अनिवार्य सर्त हो । यी भिन्न परिवेशमा आफुलाई अनुकूलित गराउँदै जान र संघीय शासन प्रणालीलाई सुदृढ, मजबुत, जनमैत्रीय बनाउन सिर्जनशील, व्यावसायिक र सदाचारयुक्त सार्वजनिक प्रशासन सामयिक आवश्यकता हो । संघीय शासन प्रणालीले विविधताको सुव्यवस्थापन गरी परिणाम दिन सक्नुपर्छ । विविधताको सुव्यवस्थापन गर्न सुशासनका विभिन्न अवयवहरूको साथसाथै सिर्जनशीलता, व्यावसायिकता र सदाचारयुक्तता जस्ता विशेषताहरूलेयुक्त सार्वजनिक प्रशासन संघीय शासन प्रणालीको सामयिक आवश्यकता हो ।

निष्पक्ष र सक्रिय प्रशासनिक संयन्त्र

प्रशासन विज्ञ, व्यावसायिक, क्षमतावान व्यक्तिहरूको समूह तथा राज्यको स्थायी संयन्त्र हो । यसै कारणले सरकारी नीति निर्माण कार्यान्वयनमा प्रशासनिक संयन्त्रको महत्वपूर्ण भूमिका रहेको हुन्छ । प्रशासकीय सक्रियताको सन्दर्भलाई पनि यसै परिवर्तनमा हेर्न सकिन्छ । प्रशासन निर्वाचित सरकार (राजनीति) र सेवाग्राही (जनता) बीचको सम्बन्ध सेतु हो । यसर्थ प्रशासनिक संयन्त्र जति प्रभावकारी हुन्छ त्यति नै सरकार त जनताबीचको सम्बन्ध असल हुने गर्छ र र यहि असल सम्बन्धले नै सरकारको दिगोपनाको सुनिश्चितता गर्ने गर्छ । यसै कारणले नै कुनै पनि देशको सरकार त्यहाँको प्रशासनयन्त्रको राम्रो हुन सक्दैन भन्ने गरिएको हो । प्रशासन यन्त्रको सकारात्मक पूर्वसक्रियता (प्रोएक्टिभनेस)ले एकातर्फ राजनीतिज्ञले आफूले परिकल्पना गरेको दीर्घकालीन सोचलाई नीति, नियम र प्रक्रियाका आवद्ध गराएर जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न सक्छन् भने कार्यान्वयनको क्रममा जन अपेक्षाको सम्बोधन भयो÷भएन र त्यसमा के–कस्ता सुधारको आवश्यकता छ भन्ने कुराको पृष्ठपोषण प्राप्त भई त्यसलाई आगामी दिनको कार्ययोजनामा परिमार्जन वा समाहित गर्न सकिन्छ । सकारात्मकतासहितको निष्पक्ष र सक्रिय प्रशासनिक संयन्त्र असल शासकीय प्रणालीको संवाहक हो ।

दक्षता सहितको तटस्थता

नीति निर्माण राजनीतिक नेतृत्वको मूल कार्यक्षेत्र हो । तर, राजनीतिक नेतृत्वसँग जनताका इच्छा, आकांक्षा, चाहनाका सन्दर्भमा परिवर्तनको एउटा स्पष्ट लक्ष्य रहेको हुन्छ । तर, त्यो इच्छा, आकांक्षा, चाहनालाई कानुनी र प्रशासनिक प्रक्रियाको माध्यमबाट नीति दस्तावेजमा प्रतिविम्बित गराउन, कार्यान्वयनको सुनिश्चितताको लागि संस्थागत संयन्त्रको परिचालन गर्न र तल्लो तहसम्म फैलिएको प्रशासनिक संयन्त्रको परिचालनद्वारा जनतासँग सम्पर्क कायम गर्न प्रशासनिक संयन्त्रको परिचालनको आवश्यकता हुन्छ । यसैले तटस्थता प्रशासनयन्त्रको अपरिहार्य विषयवस्तु भए पनि विषगत विज्ञता र स्थायी संयन्त्र भएको कारणले प्रशासनयन्त्रले दक्षता सहितको तटस्थताद्वारा सकारात्मक योगदान गर्न सक्छ भन्ने मान्यताको विकास हुँदै गएको छ । यो अवधारणाले आस्था, वाद वा विचारको आवद्धता सहितको दक्षतालाई पूर्णरूपमा नकारेको छ ।

संघीय शासन प्रणालीमा प्रभावकारी सार्वजनिक प्रशासन

स्वभावैले संघीय शासन प्रणाली बहु सरोकारवालाहरूको उपस्थिति हुने शासकीय प्रणाली हो । यसको अतिरिक्त राज्यको अधिकारको प्रयोग राज्यका बहुसरकारहरूबीच विनियोजन गरी शासकीय क्रियाकलापमा बढीभन्दा बढी जनतालाई संलग्न गराउने राजनीतिक प्रकिया हो । बहु सरोकारवालाहरूको उपस्थितिले संघीय शासन प्रणाली बढी प्रजातान्त्रिक, सहभागितामूलक र परिणाममुखी बन्न पुग्छ । संघीय शासन प्रणाली बहु सरकारहरूबीचको एउटा साझा प्रतिज्ञापत्र हो, जसमा राष्ट्रिय उद्देश्यका प्राप्ति र जनताको सर्वोपरी हितको लागि स्वशासन र साझा शासनको संयोजन गरिएको हुन्छ । यसै अवधारणा अनुरूप संघीयताले लोकतन्त्र र शासकीय अभ्यासमा सर्वसाधारणको सहभागिता र अवसरको सुनिश्चितता मात्र होइन, सामाजिक विविधतालाई पनि सम्बोधन गर्नुपर्छ । संघीयता बहु सरकारहरू र बहु सरोकारवालाहरूबीच साझा र स्वशासनमा आधारित एउटा आदर्श शासन प्रणाली समेत हो । परिवर्तित शासकीय परिवेशमा सिर्जनशील र सदाचारयुक्त प्रशासनले संघीय शासन प्रणालीलाई जनमैत्रीय बनाउन सक्छ । शासकीय सहकर्ताहरूको उपस्थिति र सह–सम्बन्धलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहमा रहेका सार्वजनिक प्रशासकहरूको भूमिका अझै थप प्रभावकारी हुनु आवश्यक हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस