खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण


१६ जेष्ठ २०७५, बुधबार


काठमाडौं । पहिलो पटक खुलेको खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ ।

नयाँ विषय र घरमा बसी पढ्न सकिने विश्वविद्यालयमा आकर्षण बढेको विश्वविद्यालका उपकुलति डा लेखनाथ शर्माले जानकारी गराउनुभयो । ‘‘पैसा र समय भएर पनि नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्ने र वर्षौँदेखि पढाइ छुटेकाहरुले जुनसुकै स्थानबाट पढ्न सक्नेछन्’’, उनले भने ।

प्रविधिमा आधारित खुला एवं दूरशिक्षाको माध्यमबाट सो अध्यायन सिकाइ पद्धतिद्वारा जीवनपर्यन्त शिक्षा प्राप्तिको अवसर र पहुँच सबैमा पु¥याउने उद्देश्यले स्थापना गरिएको उक्त विश्वविद्यालयले आफ्नो कार्यक्रमको सञ्चालन नेपालभित्र र बाहिर पनि गर्नसक्ने छ । सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून, विज्ञान, स्वास्थ्य र प्रविधि सङ्कायमा पढाइ हुने विश्वविद्यालयमा अहिले पाँच विषयमा पठनपाठन शुरु गरिएको छ ।

विश्वविद्यालयले डेढवर्षीय पाठ्यक्रमअन्तर्गत सामाजिक विज्ञान र सूचना प्रविधिमा एमफिल, एकवर्षीय पाठ्यक्रमअन्तर्गत दूर तथा ‘इ–लर्निङ’मा पोष्ट ग्य्राजुयट तथा पुस्तकालय र सूचनामा डिप्लोमा एवं दुईवर्षीय स्नातकोत्तर तहको इ–गभर्नेन्स विषयमा पढाइ सञ्चालन गरिएको छ ।

आइतबारदेखि शुरु गरिएको पढाइमा ४०६ विद्यार्थी छन् । प्रवेश परीक्षाका लागि आठ सय विद्यार्थीले फाराम भरेका थिए । इन्टरनेटका माध्यमबाट अध्ययन गराइने विश्वविद्यालयमा डिप्लोमा, पोष्ट ग्य्राजुएट, स्नातकोत्तर, एमफिल र विद्यावारिधिसम्मको अध्ययनअध्यापन हुनेछ ।

व्यवस्थापन र कानून सङ्काय, सामाजिकशास्त्र तथा शिक्षा सङ«कायबाट साधारण विषयदेखि इञ्जिनीयरिङसम्मका विषय दूरशिक्षाबाट पढ्न पाइने र विज्ञान, स्वास्थ्य र प्रविधि सङ्कायबाट प्राविधिक तथा व्यावसायिक सीपदेखि विज्ञान विषयको अध्ययन हुनेछ ।

शिक्षकले अनलाइन भिडियोबाट बिहान र साँझ कक्षा लिनेछन् । ‘‘भिडियोमार्फत शिक्षक र विद्यार्थीबीच प्रत्यक्ष अन्तक्र्रिया भएको हुन्छ’’, उनले भने, ‘कक्षामा शिक्षकसँग विद्यार्थीले नबुझेको कुरा सोध्न सक्छन् ।’’

अध्ययनका लागि अध्ययन सामग्री सबै अनलाइनमा नै राखिएको हुन्छ । इ–लाइब्रेरीमा राखिएका अध्ययन सामग्रीलाई विद्यार्थीले पढ्नका लागि प्रयोग गर्न सक्ने उनले बताए ।

अनलाइनमा विद्यार्थीलाई १६ भागमा छुट्टाएर कक्षा शुरु गरिएको छ । ‘विद्यार्थीलाई बेला बेलामा हामीले प्रत्यक्ष शिक्षकबाट समेत कक्षा दिने छौँ’’, उनले भने, ‘त्यसले शिक्षक र विद्यार्थीबीच आत्मीयतासमेत बढाउनेछ ।’’

सरकारले सङ्घीय–संसद्बाट पारित भएको खुला विश्वविद्यालय विधेयक २०७३ असार ३० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । उपकुलपति डा शर्माले वर्षमा फागुन र साउनमा दुई पटक अध्ययनका लागि भर्ना खोलिने जानकारी दिए । उनले दोस्रो चरणको भर्नामा नयाँ विषय थप गरिने योजना रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस