बालकालको सौँराइ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बालकालको सौँराइ


गोकर्णप्रसाद उपाध्याय

११ जेष्ठ २०७५, शुक्रबार


एकाबिहानै घाम झुल्किदैनथ्यो हाम्रो घरमा । घाम हाम्रो आगँनीमा पोखिन उसले चैतेडाँडा नाघ्नुपथ्र्यो । घर चैतेडाँडाको फेदमा जो थियो । जेठको महिना थियो, सूर्य चैतेडाँडामाथि उक्लिदै गर्दा म जन्मिएँ । पछिसम्म पनि आमाले घरको छाँया देखाएर म जन्मिएको संकेत गर्नुहुन्थ्यो ।

म जन्मिएको दिन घरमा खुसी आउनु नौलो भएन । दुई सन्तान खेर गएको भोगेकी आमा सायद म बाँच्ने आशामा सबैभन्दा खुसी हुनुहुन्थ्यो होला ।

म बाँचे/बाँचिरहेको छु । आमाले आशिर्वाद दिनुभएको छ, चिरञ्जीवी हुनेछु ।

छोरो रूँदा आमा खुसी भएको एउटै मात्र क्षण हुनुपर्छ, त्यो । एउटी आमाले सन्तान रोओस् भन्ने चाहना राख्ने एउटै क्षण हो, प्रसूतिपश्चाद । त्यसपछि त आजसम्म बिर्सेर पनि सन्तान रोओस्, तिनका आँखाबाट आसु झरून् भन्ने आमाले कल्पनै गर्नुभएको छैन ।

जुन दिन म जन्मिएँ, ठूला बा गाउँ पञ्चायतका ‘प्रधानपञ्च’ चुनिनुभयो । यता म पहिलो पटक धर्तीमा कराएँ, उता ठूला बा जितको खुसीले कराउनुभयो ।

म जन्मँदा आमालाई घेरेर बसेका गाउँले महिलाहरू खुसीले चिच्याइ बधाइ दिइरहँदा मेरा ठूला बाका समर्थकहरू ‘हिप हिप हुर्रे’ भनेर जितको नारा लगाउँदै थिए, होलान् । अफिसको काममा निस्किनुभएका बा त झन् खुसीले उफ्रिनुभएको थियो होला । साँच्चै आमा सबैले जयजयकार गर्ने गरी तपाईँले मलाई जन्माउनुभएको ‘टाइमिङ’लाई माने ।

अहिलेजस्तो मोबाइल, फोन र प्रविधिको युग भइदिएको भए एकैछिनमा खबर पाउनुहुन्थ्यो होला, बा र ठूला बाले । स्काइपमा भिडियो हेनुहुन्थ्यो होला । दंग पर्दै फेसबुकमा ‘स्टाटस’ राख्नुहुन्थ्यो होला । तर, समय पुरानो थियो ।

गाउँलेमध्ये कोही म जन्मिएको खबर बा र ठूला बालाई दिन बतासिँदै दौडिएर पुग्दा उहाँहरू श्वासै नफेरी हस्याङफस्याङ गर्दै, ‘गोलाई जिउला’का कान्ला नाँघ्दै, गरा गरामा चिप्लिँदै, लड्दै र पछारिँदै मलाई हेर्न पुग्नुभयो होला । बेहोसीको दौडाइमा उहाँहरूका खुसीका आसुँ कति छचल्किए होलान् ? कति आँसुका थोपा पोखिए होलान् ?

मान्छेहरू भन्छन्, ‘छोरा मान्छे भएर रूनुहुन्न् ।’ तर, म दाबा गरेरै भन्न सक्छु, ‘म जन्मँदा त बा र ठूला बा दुवैजना रुनुभयो ।’ त्यतिबेला नवजातलाई समाउने र सुत्केरीलाई छुने चलन नभएकोले बाले मेरो रोदनमात्र सुन्नुभयो होला । अहिलेजस्तो आधुनिक जमाना थिएन त्यो ।

म जन्मिएसँगै ठूला बा ‘प्रधानपञ्च’ मा विजयी भएकोले मेरो नामै ‘विजय’ भएछ । उहाँको जित मैले नै ल्याइदिएजस्तो । जन्मनेबित्तिकै नाम राख्ने चलन नभए पनि समय सान्दर्भिक नाम थियो त्यो । विधिपूर्वक राखेको नाम हो, ‘गोकर्ण’ । अहिले बा–आमाले नै ‘विजय’ भन्न छाडिसक्नुभयो । तर, मलाई ‘विजय’ नै मनपर्छ ।

‘बीस हिट’ फिल्ममा बलिउड महानायक अमिताभ बच्चनको नाम ‘विजय’ छ । सायद, उनको प्रशंसक भएकाले पनि होला, मलाई यही नाम मनपर्ने ।

०००

आमाको त्याग, तपस्या र दुःखकै कारण आज म यहाँसम्म पुगेँ । उहाँले आजसम्म आफूलाई दुःख भएको कुरा मसँग भन्नुभएको छैन । दुःखलाई पनि खुसीसाथ संसारमा कसैले स्वीकार्छ भने त्यो आमामात्रै हुन सक्छ ।

गाउँको एकान्त घरमा मलाई छोडेर घाँस दाउरा गरेर वा पानी पधेरोबाट जब आमा फर्किएर आउनुहुन्थ्यो, घाँसको भारी या पानीको ‘घडा’ एकातिर मिल्काएर ‘मुजेला’मा पुगेर मेरो छातीमा हात राख्दै ढुकढुकी छाम्नुहुन्थ्यो अरे ! आफन्तहरू अझै भन्छन् । त्यही हतारोमा कैयौंपटक आमाले टाढाबाट बोकेर ल्याएको पानीको ‘घडा’ घोप्टिन्थ्यो । पधेरोबाट पानी बोकेर ल्याउँदा पानीका ‘घडा’ नभई हजुरका आसुँ छचल्किएका रहेछन् । बल्ल चाल पाउँदैछु ।

घरमा मेरो हेरचाह गर्ने अर्को मान्छे नहुँदा मलाई बूढी हजुरआमासँग छाडेर जानुपर्दा हजुरलाई दिउँसै अध्याँरो हुन्थ्यो अरे ! ‘बेहोसीमै काम गर्थी तेरी आमा,’ आफन्त र छिमेकीहरू भन्छन् ।

तर, पनि कहिल्यै कुनै काम बिगार्नुभएको सुनेको छैन । गाउँघरमा अहिलेसम्म हजुरले चित्त दुखाएको मान्छे भेटेको छैन । कसैले हजुरले आफ्नो काम नगरेकोमा दुखेसो गरेको पाएको छैन । कसैसँग नमिठो बोल्नुभयो, आफूलाई दुःख दिनुभयो कसैले भनेकै छैन । यत्रो विशाल हृदय कहाँबाट लिएर आउनुभयो आमा ?

बुबा जागिरको सिलसिलामा अधिकांश समय दुर्गम पहाड र उराठलाग्दा तराईमा रहँदा हजुरले मलगायत पाँच भाइलाई कसरी सम्हाल्न सक्नुभयो एक्लै ? कति दिन भोकै बस्नुभयो ? कति रात अनिँदै रहनुभयो ? कति चोटि प्यास लाग्दा पानी पाउनुभएन ? कतिपटक बिरामी पर्दा आराम गर्न पाउनु भएन ?

सोच्छु– ‘यी हरेक पलको सट्टा आमालाई के दिउँ ?’

जे दिए पनि हजुरजति गर्न सक्दिनँ । किनकि आजसम्म हजुरले जे गर्नुभएको छ, त्यो मेरै लागि हो । अनि, मैले जे गरेँ । त्यो पनि मेरै लागि हो ।

०००

आज मलाई राष्ट्रको जिम्मेवार पदमा पुग्न सबैभन्दा बढी कामना गर्ने आमाभन्दा अर्को कोही हुनै सक्दैन । कुलदेवता भाक्नुभएन कि दक्षिणकाली पुग्नुभएन ? कि गुहेश्वरी र पशुपतिनाथमा माथा टेक्नु भएन ? गंगा किनारमा पुगेर सन्तानकै लागि कामना गर्नुभएकै हो । साली नदी पुगेर यही वर माग्नुभयो ।

पढ्न राजधानी आएको मैले अरूको घरमा टेलिफोनमा कुरा गर्न डाकेका बेला हजुरको मन कति भक्कानिन्थ्यो, मैले महसुस गरेको छु । कतिपटक आँसुसँग हजुरको गास घाँटीमै अड्कियो । कतिचोटि छोराछोरीकै पिर मानिरहँदा गन्तव्य नै बिर्सिएर अर्कै ठाउँ पुग्नुभएको छ । यस्ता दुःखका पहाड कति छिचोल्नुभयो कति ? म हिसाबै राख्न सक्दिनँ ।

सुन्थेँ, बालकालमा म बासँग परदेशिएका बेला आँगनीको अग्लो ‘चुले आरू’को रूखको टुप्पोमा काग कराउँदा छोराको खबर ल्याएकोमा खुुसी हुनुहुन्थो अरे ! यो त्यही रूख हो आमा, म केटाकेटी हुँदा टुप्पोमा चढेर पर बग्ने सेतीको सुसाइसँगै बीचबीचमा टुङ्टुङ् गर्दै गाउँथे, डेनी डेन्जोङ्पाको गीत– ‘रातो रानी फूलेझैं साँझमा, तिमी फूल्यौं कलेजी माझमा, मनको रहर, टुङ्टुङ्, कान्छीलाई घुमाउने काठमाडौं सहर… ।’

यो त्यही रूख हो आमा, जहाँ उक्लिएर म सेतीपारीको एअरपोर्टमा ‘चिलगाडी’बाट ओर्लिएका एक एक यात्रुलाई नियाल्थे । त्यही भिडमा सबैभन्दा सेता र सफा लुगा लगाएका बालाई खोज्थे यी आँखा ।

मलाई विश्वास थियो, बाभन्दा सफा मान्छे गाउँमै कोही छैन । गाउँ त के बझाङमै छैन । बझाङ त के देशमै छैन । सारा संसारमै सुन्दर, साहसी र चिरिच्याट्ट मान्छे बा नै हुनुहुन्छ । अनि सोच्थे, यसपाली बा आउनुभए म पनि बासँगै ‘नेपाल’ जान्छु । वर्षमा सयौंचोटि ‘चिलगाडी’ आउँदा बा एकैचोटि मात्र आउनुहुन्थ्यो, दसैँताका । तैपनि प्रतीक्षा प्रत्येक हवाइजहाजको अवतरणमा हुन्थ्यो ।

मलाई थाहा छैन बा, दसैमा म के के गर्थे ? दसैंको कुनै उमङ्ग हुँदैनथ्यो । मलाई दसैभन्दा रमाइलो त बा घर आएपछि लाग्थ्यो । अब समय उल्टिएको छ आमा, बालाई छोरो घर आउँदा खुसी लाग्दो हो । बा–आमासँग पनि छोराको आगमन कुर्ने केही न केही बहाना पक्कै होला ।

यो त्यही रूख थियो, जसको टुप्पोमा चढेर मैले गीत गाउँदा फेदमा आँखा राम्ररी नदेख्ने र हिँड्डुल राम्ररी गर्न नसक्ने हजुरआमा दुई घुँडाको चेपमा टाउँको अड्याउँदै टुक्रुक्क बसेर सुर्ता गर्दै भन्नुहुन्थ्यो, ‘यो ‘बौलारी’ चढिग्यो रूखमी, कइतल लोट्न्या हो ।’ अनि मायाले रूखबाट ओर्लन फकाउनुहुन्थ्यो । म भने धित मरूञ्जेल गीत गाएर मात्रै झर्थे । त्यो एकान्त घरमा मसँग खेल्ने साथी हुँदैनथ्यो । त्यसैले आफैसँग रमाउँथे । एक्लै गुनगुनाउँथे ।

हजुरआमा मलाई कति माया गर्नुहुन्थ्यो, सम्झना छैन । तर, यति भन्न सक्छु असाध्यै माया गर्नुहुन्थ्यो । किनकि म मायालु थिएँ अरे केटाकेटीमा । त्यसमाथि बाँचेको पहिलो सन्तान । चकचके र चञ्चले पनि थिएँ अरे । मेरो चकचकेपना देखेर हजुरआमा कैयौं चोटि खुसीले रूनुभयो अरे । आजभोलि त आमा हजुरलाई पनि हजुरकी नातिनीको बालापन देखेर त्यस्तै भक्कानो छुट्दो हो । त्यसै भनेको होइन रहेछ, ‘साँवाभन्दा ब्याज प्यारो ।’

गाउँबाट टाढा थियो हाम्रो घर । त्यसैले खेल्ने साथी पाउँदैनथे । मेरो दाजु, (ठूलाबाको छोरा) र म मात्र थियौं, खेल्ने उमेरका । भाइहरू सानै थिए । अनि ठूलाबापट्टिका अरू बहिनी पनि सानै । गाउँघरमा खेल्न गए बा, ठूलाबाको गाली खानुपथ्र्यो, ‘फेरूवा’ कहलिन्थे । त्यही भएर होला आफै गीत गुनगुनाउने बानी बनेको थियो ।

‘चुले आरू’ को रूखमा चढेर होस् या आँगनीमा माटो खेल्दै, म गुनगुनाई रहन्थे । कहिले चोटाको झ्यालमा बसेर आमा घाँसपात लिएर आउने गड्खेतको बाटो हेर्दै गाउँथे । त्यो गीत गाएको होइन रहेछ, हजुरलाई कुरेको रहेछु आमा, अहिले चाल पाउँदैछु । हजुर पो हुनुहुँदो रहेछ, मेरो ‘बेस्ट फ्रेन्ड’ ।

हजुर मेलापातबाट पुग्नासाथ भारी फालेर मलाई सुम्मुम्याउँदै अँगालोमा बेर्नुहुन्थ्यो । त्यतिबेला सोध्न सक्दिनँ थिएँ हजुरले पटुकीमा पोको पारेर लगेका चामल र ओखर खाजा खानुभयो वा मलाई सम्झँदै रोएर खानै बिर्सिएर भोकभोकै फर्किनुभयो ? यति कुरा हजुरलाई सोध्ने अर्को मान्छे पनि थिएन घरमा । यी सबैको सौंराइ लागेर आउँछ । आज म सोध्नेसम्म त हुन सकेको छु । तर, टाढा छु । कहिले नजिक बोलाउँछु र सोध्छु । कहिले नजिक आउँछु र सोध्छु ।

Tags :
प्रतिक्रिया दिनुहोस